शहबाज खान/मध्यान्ह
काठमाडौं : नेपाली कामदारहरुको प्रमुख श्रम गन्तव्य मुलुकहरुमा इस्लाम धर्मावलम्बीको पवित्र रमजान महिना शुरु भएको छ । चन्द्रमा आकाशमा देखिएसँगै १० मार्च अर्थात आइतबार साँझदेखि रमजान महिनाको शुरुवात भएको छ ।
मानिसहरु नियमित रमजान परम्पराको उत्सव मनाउने र खुसी साट्ने गर्दा साउदी अरेबिया, कतार, यूएई, मलेसिया, कुवेतलगायत खाडी मुलुकमा रोजगारको गतिविधिमा मन्दीको अवस्था हुने वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् । मुस्लिम धर्मावलम्बीका लागि पवित्र महिना मानिने रमजान एक महिनासम्म मनाइने गरिन्छ । यो चाडमा सात वर्षदेखिका सबै व्यक्ति अनिवार्य रोजा बस्ने गर्दछन् ।
मुसलमानहरुको पाँच महत्वपूर्ण कार्य रोजा, नमाज, हज, जकात र फित्तरा नियामानुसार गर्नुपर्ने तथा तिर्नुपर्ने भए पनि हजबाहेक सबै कार्य रमजान महिनामा प्राप्त गर्ने अवसर पाउने भएकाले पनि यो महिनालाई मुसलमानहरुले महत्वपूर्ण महिनाका रुपमा लिने गरेका छन् । घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सेहरी (खानेकुरा) खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ ।
दिनभर केही पनि खान नहुने रोजाको समयमा कुनै पनि खानेकुरा मुखमा हाल्नु हुँदैन, जानेर थुक पनि निल्नु हुँदैन भने दिउँसो सबै मानिसले निमको दतुईन ( गरी मुख धुनुपर्ने र दिनभर केही पनि खान नहुने भएकाले रमजान अवधिभर खाडी मुलुकमा भ्रमणमा जान पनि कष्टकर हुने अनुभवीहरुको भनाइ छ ।
यूएईले रमजानको समयमा सार्वजनिक क्षेत्रका कर्मचारीहरुका लागि काम गर्ने समय घटाएको बताएको छ । यता मलेसियाका मुस्लिमहरुले मंगलबार (मार्च १२) बाट रमजानको उपवास शुरु गर्ने भएका छन् । मलेसियाका राजा सुल्तान इब्राहिमको उपवाससम्बन्धी आदेश आइतबार राति मलेसियाका रेडियो र टेलिभिजनबाट जारी गरिएको छ । यस्तै साउदीमा सोमबारबाट रमजान शुरु हुँदैछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies