तनहुँ : भ्रमण (भिजिट) भिसामा गएर रुसी सेनामा भर्ना भएका तनहुँका आठ जना सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ युवा सम्पर्कविहीन भएका हुन् ।
भिजिट भिसामार्फत रुसी सेनामा गएका तनहुँका आठ युवा सम्पर्कविहीन भएपछि खोजी दिन पीडितका परिवारले माग गरेका छन् । खोजीका लागि परिवारले निवेदन दिएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवा सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएको जानकारी दिइन् ।
उनले भनिन्, ‘व्यास, देवघाट, भानु, शुक्लागण्डकीका सात जना रुसी सेनामा भर्ना हुन जाँदा बेपत्ता भएको र म्यादेका एक जना युक्रेनी सेनामा भर्ना हुन जाँदा सम्पर्कविहीन भएको भन्दै खोजी दिन उहाँहरुको परिवारजनले निवेदन दिनुभएको छ । उहाँहरुको खोजीका लागि प्रयास गर्ने हो ।’
परिवारसँग नै सम्पर्कविहीन भएका व्यक्तिका परिवारजनले खोजी तथा उद्धारको मागसहित यहाँ निवेदन दिएको उनले बताइन् । उनले भनिन्, ‘रुसमा दूतावास भएको भए सहजरुपमा खोजी तथा उद्धारका लागि कागजात पठाउने थियौं । तर प्रत्यक्ष काम गर्न नपाउँदा सहज चाहिँ छैन । दूतावास नभएकाले खोजीका लागि कन्सुलर विभागलाई पठाएका छौँ । खोजतलासीमै छौँ प्रक्रियामा नै रहेका छौँ भन्ने जवाफ आउने गरेको छ ।’ गैरकानुनी रुपमा गएकाले पूर्णरुपमा काम गर्न सहज नभएको उनले बताइन् ।
आप्रवास स्रोत केन्द्रकी परामर्शदाता गोमा तिवारीले सम्पर्कविहीन भएका व्यक्तिलाई छिटोभन्दा छिटो नेपाल झिकाइ पाउँ भनेर निवेदन दिएको जानकारी दिइन् । सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको कागजातसहितका सम्पूर्ण कागजात पठाइसकिएको तिवारीले बताइन् ।
रुसमा बेपत्ता भएका व्यक्तिको खोजीका निम्ति पहल भइरहेको उनले जानकारी दिइन् । युक्रेनमा सम्पर्कविहीन भएका व्यक्तिको त्यहीँ दूतावास नभएकाले रुसी कन्सुलर विभागमार्फत नै खोजी कार्य भइरहेको आप्रवासी स्रोत केन्द्रले जनाएको छ । दुई/तीन महनिायतादेखि परिवारसँग नै उनीहरु सम्पर्कमा नभएकाले खोजीको पहल भइरहेको सामीले जनाएको छ ।
भिजिट भिसामा अवैधानिक बाटोमार्फत् गएका व्यक्ति परिवारसँग नै सम्पर्कविहीन भएपछि खोजीका निम्ति निवेदन दिएका हुन् । अवैधानिक बाटो हुँदै रुसी सेनामा भर्ना हुन गएका व्यक्ति त्यहीँ भर्ना भए पनि त्यहाँबाट फर्केर आउन सहज भने नभएको बताइएको छ । रासस
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies