–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
देशमा नयाँ गठबन्धन बनेको छ । यद्यपि, यो पुरानै पुनरावृत्ति हो । मौकामा चौका हान्न यहाँ दलहरू रातरात गठबन्धन परिवर्तन गर्छन् । यहाँ सबैले सबैको जुठो खाइसकेका छन् तर, हेर्दा भिन्न देखिए पनि हाम्रा नेताहरूको मिलिभगत छ । आलोपालो सिंहदरबार र बालुवाटार, जनता सडकमा लम्पसार अब त लोकतन्त्रमा सडकमा लम्पसार पनि गर्न नपाइने भएको छ । भएभरका ठाउँ निषेधित छन्, पञ्चायतले टुँडिखेल खुला राख्यो, लोकतन्त्रले भोटे ताल्चा लगाएको छ । देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लो समय बजेट होलिडे पनि देखिएकै हो, अहिले बजेट मिलाउन धौधौ परेको छ, ढुकुटी खाली छ । दायित्व धेरै छ भुक्तानी भएको छैन । विकासका काम लगभग ठप्प छन् । भोलिदेखि खर्च गर्ने कानुन छैन, भन्दै १५ अर्ब एकैदिन खर्चिएकै हो । संविधानतः बनेका अङ्गहरूका बीच हुन नसकेको तालमेल र समन्वयको अभावमा यस्तो भएको हो । अहिले गठजोड गरेकाहरूबाटै कोमामा गएको संसद् दुई पल्ट फिर्ता हुँदा पनि राम्ररी चल्न नसकेको हो, अतीत धेरै सुदूर छैन हाम्रो, गठबन्धन सजातीय भनिए पनि अहिले । सधैँ नाराबाजीमा रहिरहेको हो, संवैधानिक जटिलता मात्रै होइन राजनैतिक खेलाडीहरूको अपरिपक्वता पनि देखिएकै हो ।
विकसित देशमा विकासमा प्रशासन हुन्छ, प्रशासनमा विकास हुन्छ । राजनीतिभित्र राजनीति घुसिरहन्न सधैँ ! तर, हामीकहाँ खोपमा राजनीति हुन्छ, शिक्षामा राजनीति हुन्छ, स्वास्थ्यमा सधैँ भएको हो, आवासमा पनि राजनीति, कृषिमा राजनीति, रोजगारीमा राजनीति, प्रशासनमा राजनीति, संस्थानमा राजनीति, राहत र उद्धारमा राजनीति, व्यापार र उद्योगमा राजनीति, विदेश सम्बन्धमा राजनीति सबैतिर राजनीति छ । ६० वर्ष अघिदेखि देशमा पुनर्बास र सुकुम्बासीको समस्या समाधान गर्ने भनिएको तर यसैमा राजनीति छ, भोट बैँक छ । गरीब, असहाय, जग्गा जमिन नभएकाहरूको तीन पुस्ते तथ्यांक संकलन नभई हचुवामा जग्गा वितरण गरियो । सरकार परिवर्तनसँगै ती विषय ओझेल पनि परेका हुन्, तिनलाई जग्गाभन्दा सीप र शिक्षा अनि रोजगारी दिनुपर्ने थियो । मानौँ स्वदेश, विदेश सबैमा राजनीति, साँच्चै अन्य व्यवसाय सुके पनि देशको राजनैतिक व्यवसाय फुकेको छ ।
नियुक्ति, सरुवा, बढुवामा राजनीति हुँदा पनि संघीयताको कार्यान्वयन गर्ने स्थानीय तहमा ५० हजार कर्मचारीको दरबन्दी पूर्ति नभएको देख्दा उदेक लाग्छ । निजामती सेवा विधेयक संसदमा पुगेको छ । फेरि उही टालटुले अवस्थामा, प्रशासनिक संघीयता आउने छाँट छैन अझै देशमा । साँच्चै शेक्सपियरले उहिल्यै भनेका थिए– राजनीति त्यस्तो विषय हो जसले ईश्वरलाई समेत धोका दिन्छ । अहिले देउवालाई त्यही भएको छ, जनतालाई त जो आए पनि के फरक छ र !
भारतमा पनि सरकार परिवर्तन हुन्छ, तर स्थायी सरकार भनिएको प्रशासनयन्त्र बलियो छ । अमेरिकामा पनि हायर एण्ड फायर प्रणाली छ र पनि संरचना पूरै ध्वस्त हुने गरी फेरबदल हुँदैन । तर यहाँ सरकार परिवर्तन हुनासाथ प्रशासनयन्त्र गिजोलिन्छ । गृह सचिव बदलिइसकेका छन्, पंक्ति तार गर्दा । यसअघि पनि सरकारले पूर्णता नपाउँदै दुई महिना अवधिमा सरकारले धेरै पटक सचिव एवम् अन्य कर्मचारीहरूको सरुवा गरिसकेको हो । संस्थागत सुधार गर्ने क्रममा कोही राम्रा मान्छे आउलान् तर, अधिकांशतः आउने भनेका दलका कोटाबाटै हुन् । योग्यता, विज्ञता र क्षमतामा आइहाले भने ती टिक्न, बस्न सक्दैनन् ।
संयुक्त सरकारले प्रशासनमा नयाँ तलबमान पास गरेको थियो पहिले । कर्मचारीको मासिक तलबमा दुई हजार वृद्धि भयो पहिले । महँगीले आकाश छोयो । यसपालि कर्मचारीको तलब बढाउनै पर्ने हुन्छ । बजेटले नेता पाल्न पुगेको छैन, जब महँगीको तुलनामा तलबमानमा वृद्धि गर्दै जाने नीति रहेको हो तर, यो नीतिले काम गरेको छैन । तलब त्यो पनि अति न्यून वृद्धि हुन नपाई बजार भाउले दिन दिनै आकाश छोएकै छ ।
सरकारको मूल्य नियन्त्रण नीतिले काम गरेको छैन । बरु अधिकांश वस्तुहरू विदेशबाट आयात गर्नुपर्छ र भन्सार राजस्व असुल्नै पर्ने हुँदा बजार भाउ टिकीसक्नु छैन । सरकारले आन्तरिक स्रोत जुटाउने माध्यम नै यही देखिएको हो । राजनीति हावी भएकैले गर्दा देशमा उद्योगधन्दा चौपट भए, कौडीको मोलमा कलकारखानाहरू बेचिए, निजीकरणको नाममा लापरबाही हुँदा सार्वजनिक संस्थानहरू ध्वस्त भए । सरकारले छ खर्ब ५४ अर्ब लगानी गरेको सार्वजनिक संस्थानहरू मध्ये डेढ दर्जन संस्थान घाटामा छन् । महँगो इन्धन बेच्ने आयल निगम, महँगै बिजुली बेच्ने विद्युत् प्राधिकरण नाफामा छ । बाँकी सबैजसो घाटामा छन्, महँगै टिकटको व्यापार गर्ने वायु सेवा निगम पनि । उत्पादनलाई बढाउने, व्यापारघाटा कम गर्ने भन्दै सरकारले अनेकौँ बुँदासहितको साझा नीति तथा कार्यक्रम ल्याउँदा पनि त्यसका लागि स्रोत जुटाउने विषयमा मौन देखिएको थियो ।
सीमा विवादलाई छलफलबाट समाधान गरिने भनियो, लिपुलेक, लिम्पियाधुरा, कालापानी तत्काल फिर्ता हुने अवस्था देखिएन, जसले गर्दा यहाँ पनि राजनीति छ भन्न गाह्रो परेन ।
सार्वजनिक ओहोदाका पदहरू पूर्ति गर्दा दलभक्तिभन्दा देशभक्ति हुनु पर्ने हो । चुनाव मात्र लक्षित विचार हुनु भनेको केवल नेता हुनु हो र देशको भविष्यसम्मको दिगो आकलन गर्नु भनेको राजनेताको गुण हो भन्ने यथार्थलाई हाम्रा नेताजीहरूले बिर्सेका छन् । यसका लागि त मलेसिया, सिँगापुर, चीनका विगतका नेताहरूलाई हेर्नुपर्ने हो, टाढा नै किन जाने, नजिकका गान्धी नै उदाहरण थिए । सुराही र छाता लिएर कुर्सीमा पुग्ने फर्कँदा त्यसैमा फर्कने हामीकहाँ पनि नभएका होइनन् । सवारी सुविधा नलिने, आवास सुविधा, उपचार खर्च नलिने पनि हामीकहाँ नै थिए र छन् पनि ! तर अधिकांशले बहानाबाजीमा देशको ढुकुटीमा हालिमुहाली गर्न नछोडेका कैयन उदाहरण छन् यहाँ ।
देश गरीब भए बाह्य ऋण आइहाल्छ भन्दै विलासी जीवन र अनावश्यक संयन्त्र थोपर्दै संस्थाहरू खडा गर्ने, दलीय भागवण्डामा पूर्ति गदै जाने, ढुकुटी रित्याउने हाम्रो चलन नयाँ होइन र त देशले तीन÷चार वर्ष नपुग्दै ऋणको मात्रा तेब्बर व्यहोर्नु परेको छ भने महामारी जस्ता विषयमा आफूले खरिद गर्न नसकेर अरुले दिएको उपकरण, खोपमा भर पर्नुपरेको छ ।
दाताले दिएमा जति पनि लिने, जे जुन विषयमा लिन इच्छा गर्नाले नै एमसीसी आएको हो । लामो समयदेखि देश हाँक्ने स्थायी सरकार प्रशासनयन्त्र निष्क्रिय छ, मन्त्रालय हाँक्ने सचिव मन्त्री र संघ संगठनको आशय नबुझी कुनै निर्णय गर्न सक्दैनन् । संघ संगठनको कोपभाजनमा परी छ महिनामा तीन पल्ट सरुवा गरिने चलन यहीँ छ । गणतन्त्रको उपहार नै भन्नुपर्छ, मन्त्रालय वा विभागीय प्रमुखहरू निरीह छन् । कार्यालय सहयोगी, सुब्बा वा यस्तै तहका व्यक्तिहरू मञ्चमा बसेर भाषण गर्छन्, विशिष्ट श्रेणीका ओहदावालहरू तलको स्रोता दीर्घामा बस्छन्, सुन्छन् । न यहाँ प्रशासनका गुरु लुथर गुलिकको पोष्टकर्बले काम गरेको छ न त मास्लोको हाइरार्किकल सिष्टमले नै ! यहाँ काम भनसुनले चलेको छ जसरी खेतीपाती मनसुनले !
जनता कँगाल हुने, नेता आलिसान बँगला र विलासी गाडीमा हुइँकिने, जनप्रतिनिधि भनिएकाहरू पनि दर्जनौँ सुरक्षाकर्मी अघि पछि लगाउनु पर्ने कहीँ नभएको सिष्टम छ यहाँ । डेनमार्ककी प्रधानमन्त्री आफ्नो कार्यालय जाँदा आउँदा साइकल चढे पनि हुने, दुई पल्ट राष्ट्रपति कार्यकाल बिताएका अमेरिकी राष्ट्रपतिले छोरी पढाउने खर्च जुटाउन होटलमा काम गर्नुपर्ने तर, यहाँ नेताजीहरूले ज्वरो आउँदा विदेश जानुपर्ने, जीवनभरि सुबिधा लिनुपर्ने, मरेपछि संस्था खोलेर सरकारी ढुकुटी त्यतै संस्थातिर हालिदिनुपर्ने, विगतदेखिको सावाँ ब्याजसमेतको पूर्ति गर्नुपर्ने कस्तो टिठलाग्दो, असह्य र पीडादायी विषय छ हामीकहाँ !
अब त शहीदका नमबाट पनि लिन थालिएको छ, यसको संख्या वृद्धि हुँदैछ । संघीयतामै हरेक विषयमा मुद्दा पर्ने, हर विषयमा सम्झौता हुनुपर्ने, योग्यता, क्षमता र विज्ञताको कदर नहुने यस्तै चलन छ यहाँ ! वर्षौँसम्म एउटाले पेट भर्ने अर्कोले त्यही प्रथा कायम राख्ने संस्कृति हुर्केको छ । करोडौं लागतको ट्रली बस, साझा बस, रोप वे, रेलवेको घाँटी निमोठियो । पानीजहाजको सपना देखाइयो । करोडौँको महँगो गाडी त्यसैका लागि किनियो । पहाडतिर डोजरे असारे विकासलाई प्रश्रय दिएर प्रकृति दोहन गरियो । बस्ती उजाड भयो, किसानहरू भाग्नुपर्ने अवस्था सिर्जना भयो । खेतबारी बेचेर युवाहरू परदेश भासिए । करोडौं खर्च गरेर चम्किलो भएको रेललाई खिया लागुन्जेल दुलहीलाई पछ्यौराले छोपेझैँ छोपेर राखियो । पूर्व–पश्चिम रेल कुदाउने, रसुवादेखि वीरगञ्जसम्म रेल गुड्ने सपना देखाइयो । राजधानीको बाटोमा पानी पर्दा पाँच मिनेटमै बाटो हराउने तर, अन्य देशमा पानी पर्दा पाँच मिनेटमै बाटामा पानी हराउने सिस्टम यहाँ फलो गरिएन ।
दुर्भाग्य नै भन्नुपर्छ, साँढे आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिँदा ठीक उल्टो ऋणात्मक आर्थिक वृद्धि यहीँ पनि भयो । यहाँ कार्यक्रमको उद्घाटनमा भीड हुन्छ, जन्ती र मलामीमा भीड हुन्छ, भाषणबाजीमा भीड हुन्छ, आदर्शका सपना बाँड्ने काममा भीड हुन्छ तर व्यवहार र यथार्थमा देश कस्तो छ, देशवासी कहाँ कुन स्तरमा पुगेका छन्, विकासको सपना के भयो, जनता करको र महामारीको डरको भुँमरीमा कति छन् सोचिँदैन । शोक र सन्तापमै रहनका लागि देशमा यत्राविधि परिवर्तन भएका हुन त ?
हालको राजनीति भनौँ गठबन्धन एकता पनि सुविधाकै लागि भएको एकता होला । स्वार्थकै एकता होला, स्वार्थ पूर्ति वा तल–माथि हुना साथ फेरि हालत खराब हुने हो । अतीतको अनुभव यही हो । २०४६ पछि यहाँ सत्ता दिगो नभएझैँ, प्रशासन यन्त्र दिगो र भरपर्दो भएन, दलको टिको नलाई केही नहुने परिवेश छ, बाह्य हस्तक्षेप बढेको छ, आन्तरिक किचलो र सत्ताको हानाथाप कायमै छ, एकले अर्कोलाई औँला ठड्याउन छोडिएको अवस्था छैन । यो रडाको जनताले कहिलेसम्म हेरिरहनु पर्ने हो ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies