टिकाराम खड्का
समाचारका शीर्षकदेखि विस्तृतमा समाचार भनेर पाठक दर्शकलाई सु–सूचित पार्नु पत्रकारको पहिलो दायित्व हो । सूचनाको हक पत्रकार, सर्वसाधारण र सबैको भएपनि सूचना दिने र सही सूचना प्रदान गर्ने जिम्मेवारी सञ्चार माध्यम र सञ्चारकर्मी अर्थात् पत्रकारको हो ।
यसरी एउटा समाचार तयार पार्दा थुप्रै जनशक्तिको प्रयोग हुन्छ । सञ्चारको प्रकृतिअनुसार समाचार संकलन, त्यसको भाषा सम्पादनदेखि पाठक दर्शकसम्म पु¥याउँदा धेरै चरण पार गरेको हुनुपर्छ । तर, यो अभ्यास कति मात्रामा र कुन अवस्थामा हुन्छ भन्ने विषय भने सञ्चार माध्यम र पत्रकारको पेशागत मर्यादा र संस्थाले बहन गर्ने जिम्मेवारीमा पनि भर पर्छ । यसरी नै सूचना प्रदान गर्ने पत्रकारमध्ये यहाँ चर्चा गर्न खोजिएको छ, टीभी न्यूज एंकर अर्थात् समाचार वाचकको ।
न्यूज एंकर अर्थात् समाचार वाचक काँचको पर्दा (टेलिभिजन)मा मुख्य भूमिका निर्वाह गर्ने पात्र हो । यस्तो भूमिका निर्वाह गर्ने पत्रकार ग्ल्यामरस वा हेर्दा आकर्षक हुनुपर्छ भन्ने आम बुझाई छ । औपचारिक पोशाक अनि झकिझकाउ मेकअपमा सजिनु पर्छ भन्ने धारणा पनि छ । उमेरले डाँडो काट्न थालेपनि कोही काँचको पर्दामा आएर समाचार दिँदैछन् भने त्यसले पार गर्नैपर्ने चरण यस्तै हुनेहुन् ।
हामी टेलिभिजन सेट खोलेर हेर्यौं भने पहिलो दृष्टीमै समाचार भनिरहेको पत्रकारको हाउभाउ, सुन्दरता, व्यक्तित्व, भाषा, शब्द उच्चारण शैली र उसले गरिरहेको कर्मलाई मूल्यांकन गर्न थालिहाल्छौ । यस्तो मूल्यांकन मानव दिमागमा स्वचालित हुन्छ भन्दा पनि फरक पर्दैन् । समाचार हेरिसकेपछि समाचार वाचन गरिरहेकै अवस्थामा हाम्रो दिमागमा एकखाले धारणा समेत बनिसक्छ । कसरी पेश भइरहेको छ ? कस्तो विषयवस्तुमाथिको समाचार सम्प्रेषण गरिरहेको छ ? यस्ता तमाम विषयमा दर्शकले धारणा निर्माण गर्न थालिहाल्छन् । अझ् भनौं समाचार भनिरहेको व्यक्तिले आफूलाई मन पर्ने वा नपर्ने के विषयमा समाचार सम्प्रेषण गरिरहेको छ, त्यसको आधारमा न्यूज एंकरको सामाजिक चरित्रसमेत निर्माण गरिसकेका हु्न्छौं । तर, यो कति सही हो ? सर्वसाधारण दर्शकलाई यो विषयमा धेरै गहिरो ज्ञान नहुन पनि सक्छ र आवश्यक पनि नहुन सक्छ । समाचारको विषयवस्तु र त्यसलाई समग्रतामाबाहेक सामान्य दर्शकले बुझोस् पनि किन ? त्यो बुझेर पाउने के ? यसकारण न्यूज एंकरबारेका भ्रम र उनीहरूबारे बन्ने सकारात्मक नकारात्मक टिप्पणीबारे यहाँ केही प्रष्ट पार्न खोजिएको हो ।
समाचार वाचन एक प्रकारको कला हो । समाचार वाचन कला आम मानिसको मनमा सहजै प्रवेश पाउने अस्त्र पनि हो । समाचार वाचनका आ–आफ्नै शैली र तरिका हुन्छन् । समाचार वाचनका लागि पत्रकारले मिडियाको शैली र विषयवस्तुको गम्भीर्यता बुझेर पेश हुने एकखाले अभिनय पनि हो । यस कारण समाचार वाचन एक प्रकारको अभिनय होभन्दा पनि फरक पर्दैन भन्ने लाग्छ ।
समाचार वाचकले कस्तो अवस्थाको समाचार सम्प्रेषण गर्छ ? समाचार तयार कसरी हुन्छ ? कस्ता प्रक्रिया पार गरिसकेपछि समाचार सामाग्री तयार हुन्छ अनि समाचार वाचकले त्यसलाई सम्प्रेषण गर्छ ? यस्ता विषयमा सर्वसाधारणलाई पनि भन्न आवश्यक छ । कुनैपनि सञ्चार माध्यममा समाचार वाचनको काम अन्तिम चरणको काम हो । समाचार तयार हुनलाई विभिन्न चरण पार हुनुपर्छ । समाचार कक्षमा संकलित सूचनालाई एकीकृत गर्ने, त्यसलाई एंगलिङ्ग दिने, समाचार स्क्रिप्ट तयार पार्ने, भाषा सम्पादन गर्ने र भाषा सम्पादनपछि त्यसलाई स्वरांकन गर्ने, भिडियो सम्पादन गर्ने, सम्पादित भिडियोलाई सम्पादन कक्षले अन्तिम तथ्य जाँच गरेपछि प्रशारणका लागि तयार भएको सन्देश दिने काम समाचार वाचन हो ।
यति चरण पार गरेपछि बल्ल समाचार टेलिभिजनको पर्दामा आउने हो । यसरी समाचार तयार पार्दा त्यहाँ धेरै किसिमको जनशक्तिको प्रयोग हुन्छ । रिपोर्टर, क्यामेरा, न्यूजरुम, सम्पादन कक्ष, भिडियो सम्पादन कक्ष, पु्रफ हेर्नेदेखि विभिन्न चरण पार गरुन्जेल त्यो समाचारले एक किसिमको आकार लिन्छ । त्यसपछि बल्ल समाचार वाचकले कलात्मक शैलीमा पेश गर्ने हो ।
यसरी उत्पादन भएको समाचार सामाग्री कहिलेकाँही सकारात्मक त कहिलेकाँही नकारात्मक प्रतिक्रियाको शिकार बनिदिन्छ । यस्तो बेला त्यसको शिकार हुने पनि न्यूज एंकर नै हुने गर्छन् । यता, सकारात्मक प्रतिक्रिया आयो भने पनि त्यसको हकदार न्यूज एंकर नै हुने अवस्था रहन्छ ।
समाचार कक्षले सामान्यतयाः समाचार उत्पादन गर्दा जनशक्तिको अवस्थितिलाई हेरेर काम गर्ने गरेको पाइन्छ । रिपोर्टरहरूले समाचार सामाग्री उत्पादनमा जस्तो भूमिका खेलेपनि त्यसलाई जोड्न एंकरले प्रमुख भूमिका खेल्ने भएकाले दर्शकले त्यसको जस÷अपजस समाचार तयार पार्नेलाई भन्दा पनि एंकरलाई नै दिने गरेको देखिन्छ । यसमा मिडिया लिटरेसीको कमी वा अन्य विषयलाई जोड्न त सकिन्छ । तर, यो पर्याप्त आधार भने होइन् ।
समाचार कक्षमा उत्पादन हुने समाचार सामाग्री सधैँ जनपक्षीय हुन्छन् भन्ने कदापी हुन्न् । सम्पादकीय स्वतन्त्रता वा स्वायत्तताको विषय पत्रकारितामा खुब चर्चामा आउने विषय हो । तर, व्यवहारतः सबै क्षेत्रमा यो लागू हुन्न र गर्न सम्भव पनि बनाइन्न । सञ्चार माध्यम चल्नलाई विज्ञापन अनिवार्य सर्त हो ।
पछिल्लो समय सामाजिक सञ्जाल पनि आम्दानीको स्रोत बनिरहेकाले केही हदसम्म विज्ञापनलाई मात्रै आधार मान्न नसकिएपनि मूलतः विज्ञापनबिना सञ्चार माध्यमको सञ्चालन सम्भव देखिन्न । विज्ञापन बजार जसरी साँघुरिदै गएको छ, त्यसरी नै सञ्चार माध्यममा पनि संकट देखा परिरहेको तीतो सत्य हामीसामू छ । यसलाई हेर्दा के निष्कर्षमा पुग्न सकिन्छ भने, विज्ञापन बजार र मिडिया मालिकको स्वार्थ बाझिदा त्यसको शिकार न्यूज एंकर बन्न पुग्छन् ।
समाचार कसरी उत्पादन भयो ? यसमा कसको स्वार्थ जोडिएको थियो ? न्यूज रुममा परेको प्रभाव कस्तो थियो ? वा न्यूज रुम कति सन्तुलित हुन सक्यो भन्ने विषय आम दर्शकलाई थाहा हुने विषय पनि भएन् । तर, यसरी प्रभावित भएका विषयवस्तुमाथिका समाचार सामाग्रीलाई पेश गर्ने जिम्मेवारी त न्यूज एंकरको नै हो । न्यूज एंकरलाई सम्बन्धित समाचार सामाग्री मन नपरेपनि म यसलाई सम्प्रेषण गर्दैन भन्न मिल्ने अवस्था लगभग रहन्न । यसकारण पनि अरु कसैको स्वार्थको शिकार उनीहरू बन्न पुग्छन् ।
न्यूज एंकरका आफ्नै दुःख र प्रतिष्ठा पनि छन् । समाजमा उनीहरूलाई धेरैले चिनिरहेका हुन्छन् । समाचार सम्प्रेषण गरेकै भरमा उनीहरूलाई धेरैले आदर्श पात्रको रूपमा समेत लिन्छन् । तर, स्वार्थको चपेटोमा परे भने उनीहरूले आर्जन गरेको व्यक्तित्वको सम्पत्ति क्षणभरमै टुंगिन्छ । यसकारण पनि न्यूज एंकरका दुःख उनीहरू स्वयम्ले हटाउन सक्दैनन् । तर, यस्तो विषयमा उनीहरूले पनि ज्ञान छर्ने काममा ध्यान दिन आवश्यक छ ।
न्यूज एंकर बन्न कला कौशल र ग्ल्यामर हुन आवश्यक ठानिन्छ । सुन्दर, आकर्षक र टिपटप देखिनुपर्नेदेखि आवाजसमेत कमाण्ड गर्न सक्ने खोजिन्छ । यसको एउटै कारण हो, समाचार सम्प्रेषण तुलनात्मक रूपमा ग्ल्यामर देखियोस् । अब प्रश्न उठ्छ, के समाचार सम्प्रेषण ग्ल्यामरस क्षेत्र मात्रै हो ? यसका परम्परागत मान्यतालाई अहिले पनि पछ्याई रहन आवश्यक छ ? न्यूज एंकर सुन्दर र आकर्षक नभए हुन्न ? उनीहरूमा ज्ञानभन्दा पनि सुन्दरता मात्रै भए पुग्छ ? पक्कैपनि यो सोचनीय विषय हो ।
मुलुकको सञ्चार क्षेत्रमा कार्यरत कतिपय न्यूज एंकरहरू सुन्दरताले भरिपूर्ण छन् । ग्ल्यामरस पनि छन् । टेलिभिजन सेटमा उनीहरू चित्ताकर्षक नै देखिन्छन् । तर, उनीहरूमा ज्ञान र अध्ययनको अभावका कारण मिडियाप्रतिको धारणा नै बदलिने डर पैदा हुने खतरा छ । विषयवस्तुमाथिको गहिराईको पनि कमी देखिन्छ । समाचार सम्प्रेषणको बेला उनीहरूले कुनै–कुनै समाचारको त मर्म नै मारिदिन्छन् । तर पनि उनीहरू सञ्चार क्षेत्रमा जमेकै छन् । टेलिभिजनको पर्दामा देखिएकै छन् । यसकारण पनि सञ्चार क्षेत्र दिग्भ्रमितताको पर्याय बन्ने खतरा रहन्छ ।
न्यूज एंकरिङ्गमा अब प्रविधिको विकाससँगै चुनौति पनि बढेको छ । विश्व टेलिभिजन जगतमा आर्टिफिसिएन इन्टेलिजेन्स (एआई)को प्रयोगबाट कतै जनशक्ति कटौति त हुने होइन भन्ने आशंका बढेको देखिन्छ । विश्वका केही टेलिभिजनहरूले एआईमार्फत समाचार सम्प्रेषण गरेका दृश्यमात्रै नभएर दोहोरो संवादको भिडियो समेत सार्वजनिक गरिरहेका छन् । छिमेकी भारतमा समेत यस्तो प्रयोग परीक्षण गरिएको छ । यसले अबको विश्वलाई एआई केन्द्रित त बनाउदैन ? ग्ल्यामरस क्षेत्र भनिएको एंकरिङ्गलाई ज्ञान, सुन्दरता, चित्ताकर्षकदेखि एंकरमा हुनुपर्ने सबै विषयको प्याकेज त बन्दैन ? चिन्ता यहाँ हो ।
न्यूज एंकरिङ्गमा देखिएका चुनौति झट्ट सामान्य लागेपनि यी विषय गम्भीर छन् । घट्दो विज्ञापन बजार, आर्थिक मन्दीले ल्याएको व्यापार संकुचन, ठूलो मात्रामा जनशक्तिको खाँचो र एंकरिङ्गका लागि आवश्यक प्याकेजदेखि धेरै विषय समेटिएको एआईले थपेको चुनौति सामना गर्न अब एंकरिङ्गमा चासो भएकाहरूले आफूलाई अपडेट गर्नुपर्ने आवश्यकता छ । धेरै विषयको प्याकेज आफैलाई बनाउन आवश्यक छ ।
मल्टिटास्किङ्ग बन्न जरुरी छ । टीभीको पर्दामा देखिएकै छु भनेर निर्धक्क हुनेभन्दा पनि ज्ञानको दायरा फराकिलो पार्दै थप सिर्जनशिल बन्न जरुरी छ । चुनौतिसँग अवसर पनि हुन्छ । एआई मान्छेको कन्ट्रोलमा हुन्छ । सीमित सूचनाको पहुँच र इन्टरनेटमा उपलब्ध तथ्यांकलाई विश्लेषण गर्नेबाहेक थप सिर्जनशिल र गतिशिल बन्न कठिन हुन्छ नै । हुन त, जापानमा एआईको प्रयोगबाट सिर्जित उपन्यासले पुरस्कार जितेको घटना सार्वजनिक भएको धेरै भएको छैन् । तर, हरेक चुनौतिसँगै आउने अवसरलाई सम्पत्तिको रूपमा अघि बढाउन सके, न्यूज एंकरिङ्ग अब मल्टिटास्किङ्ग र थप प्रभावकारी बन्नेमा आशंका छैन् ।
प्रविधिको विकाससँगै सञ्चार माध्यममै देखिएको संकटलाई पार लगाउन पनि अब न्यूज एंकरले आफूलाई परिस्कृत र नयाँ युगमा परिभाषित बनाउन आवश्यक छ । विश्वसनीयता, सन्तुलन, तथ्य र वस्तुनिष्ठतालाई मानव आकांक्षासँग जोड्ने र आम मानिसको जीवन परिवर्तनका लागि पत्रकारिता गर्ने अठोट बोकेर यो क्षेत्रमा आउने वा आएकाले पनि आफूलाई यही ढर्रामा फेर्ने काम नगरे पत्रकारितामा लामो समय स्थान बनाउने स्थिति कम्तिमा अब नरहन सक्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies