काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नाडा सदस्यबीच नेपालमै चार पांग्रे सवारी साधनको एसेम्बलिङ गर्ने सम्बन्धमा छलफल भएको छ । बिहीबार नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मन्त्री भण्डारीसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको हो ।
उक्त भेटघाट तथा छलफलमा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा दुई पांग्रे सवारी साधनहरुको एसेम्बलिङ उद्योगहरु खुल्दै गएको र चार पांग्रे एसेम्बलिङ उद्योगहरु पनि खुल्ने क्रममा रहेको तर सरकारको अस्थिर नीतिका कारण अधिकांश अटोमोबाइल उद्यमी र व्यवसायीहरु ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए ।
यसकारण अटोमोबाइल उद्योगलाई अघि बढाउनका लागि सरकारले स्थायी नीति ल्याउन आवश्यक रहेको उनले बताए । सरकारले गत फागुन २५ गतेको राजपत्रमार्फत् एजेन्सी, संशोधन र एकीकरण सम्बन्धी पहिलो संशोधन जारी गरेको सन्दर्भमा त्यसका केही बुदाँहरुमा द्विविधा उत्पन्न भएकाले आवश्यक प्रष्टताका लागि समेत वरिष्ठ उपाध्यक्ष गोल्छाले मन्त्रीलाई अनुरोध गरेका थिए ।
छलफलको अन्त्यमा मन्त्री भण्डारीले सरकारले उद्योग व्यवसायको उत्थानको लागि सक्दो सहयोग र साथ दिने बताए । यसबाहेक उनले नेपालीहरुको विदेशिने क्रमलाई रोक्न व्यवसायीहरुले रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै रोजगारी सिर्जना गर्न आग्रह गरे । मन्त्री भण्डारीले व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारले नीतिगत न्यूनतम कार्यक्रम बनाउन लागेको र त्यसले वर्तमान निराशालाई चिर्दै आशा जगाउने विश्वास व्यक्त गरे ।
उक्त छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठ, नाडाका सह–कोषाध्यक्ष पंकज अग्रवाल, नाडाका केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल, नाडाको सदस्य कम्पनी हंसराज हुलासचन्द एण्ड कम्पनीबाट अभिमन्यू गोल्छा र एमए डब्लु इन्टरप्राइजेजबाट धर्वेन्द श्रेष्ठको उपस्थिति थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies