कृष्णानन्द भट्ट/मध्यान्ह
काठमाडौं : नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँगको भेटघाट गर्दै नेपालमा वैदैशिक लगानी भित्र्याउन पहल गर्ने बताएका छन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा अर्थमन्त्री पुनसँग भेटको क्रममा उनले सो आश्वासन दिएका हुन् । भेटमा क्रममा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरियन सरकारलाई धन्यवाद दिएका छन् ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार गरी हाल निर्माणाधीन ११ विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिए । मन्त्री पुनले आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरेका छन् ।
ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा आफूहरु स्पष्ट भएकाले त्यसका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन लागिएको जानकारी दिए । मन्त्री पुनले नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको बताए । राजदूत थेयङले यस अघिको विकास साझेदारी र रोगजारी प्रणाली (ईपीएस) लाई निरन्तरता दिदै जाने बताए । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औं वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा लगानी गर्न चाहेको उनले बताएका छन् ।
कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा ईपीएस सम्झौता भएको १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको उनले जानकारी दिएका छन् । नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको उनले बताए । उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न केन्द्र स्थापना गरिएको उल्लेख गरे ।
गण्डकीमा सञ्चालित कोरियन भोकेसनल सेन्टरलाई सातवटै प्रदेशमा विस्तार गर्ने नीति रहेको । नेपालले आगामी सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएकाले त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयात बढाउन चाहेको समेत उनले जानकारी दिए ।
आगामी मे महिनाबाट नेपालमै हुन्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको बताउँदै उनले वार्षिक चार हजार पाँच सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन उनले अर्थमन्त्री पुनलाई आग्रह गरेका छन् । कोरियाले नेपालमा धेरैधन्दा धेरै विदेशी लगानी भित्र्याएर रोजगारीका अवसर सिर्जना होस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
‘धेरै देशले नेपालमा लगानी गर्न चाहनुको साथै अन्य मुलुकबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान रहोस्’, राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं ।’ नेपालले दोहोरो कर र लगानी संरक्षण ग्यारेन्टी गर्नु पर्नेमा भने उनको चासो थियो । राजदूत थेयङले रोजगार प्रणाली अन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको समेत जानकारी दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies