आबिद हुसेन/मध्यान्ह
वीरगञ्ज : वीरगञ्जमा लागुऔषध चरेसको खरिदबिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालको पहाडी जिल्लाबाट चरेस ल्याएर वीरगन्ज आइ भारतीयलाई बिक्री गर्ने क्रममा त्यसमा संलग्न एक नेपालीसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट चरेस १२ किलो २४० ग्राम र नेपाली नगद २ लाख ५० हजार रुपैयाँ पनि बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ का २९ वर्षीय सुरेश तामाङ, भारतको बिहार राज्यको सिवानका २४ वर्षीय महमद आलम र सिवानकै २२ वर्षीय आरिफ राज रहेका छन् ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार, वीरगन्ज भन्सार नाका क्षेत्रमा पर्ने रजतयन्ती चोकमा इनर्वा प्रहरी चौकीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट पैदल आउँदै गरेका आलमलाई स्रोत खुल्न नसकेको नेपाली नगद २ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । अनुसन्धान क्रममा आलमले उक्त रकम चरेस खरिदका लागि लिएर आएको बयान प्रहरीलाई दिएका छन् । त्यसपछि प्रहरी वीरगन्जको घण्टाघर चोकस्थित नाारायणी गेष्ट हाउसमा पुगेको थियो । गेष्ट हाउसको १०९ नम्बर कोठामा प्रहरी पुग्दा कोठाभित्र रहेका राजको साथबाट ३ वटा पोकामा रहेको १२ किलो २४० ग्राम चरेश प्रहरीले बरामद गरेको थियो ।
प्रहरीले राजलाई चरेससहित नियन्त्रणमा लिएलगत्तै गेष्ट हाउसको अर्को कोठामा रहेका तामाङ झ्यालबाट भाग्न खोज्दा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । तीन तल्ला माथिबाट हाम फालेका तामाङको खुट्टा भाँच्चिएको र प्रहरीको निगरानीमा नारायणी अस्पतालमा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा आलम चरेस खरिद गर्न आएको र थप अनुसन्धान गर्ने क्रममा वीरगञ्ज महानगरपालिका– ८ स्थित नारायणी गेष्ट हाउसबाट सुरेश र आरिफलाई चरेससहित पक्राउ गरिएको र तीन जनालाई नियन्त्रणमा लिइ लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको थापाले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies