काठमाडौं : नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तेई–योङले ई–७ भिसा प्रणालीबाट नेपाली कामदार दक्षिण कोरिया पठाउने सम्बन्धमा मन्त्रालयबाट भएका निर्णय एवम् सञ्चारमाध्यममा आएका विषयहरूप्रति चासो व्यक्त गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र राजदूत योङबीच मंगलबार भएको शिष्टाचार भेटमा ईपीएस प्रणालीलाई थप व्यवस्थित बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री अर्यालले ईपीएस प्रणालीमा ई–७ भिसा प्रणालीलाई पनि आबद्ध गराउने विषयमा जिज्ञासा राखेका थिए । जवाफमा राजदूतले ईपीएसमा ई–७ लाई आबद्ध गराउन समय लाग्ने बताउँदै जुनसुकै प्रणालीबाट आफ्नो देशमा कामदार पठाउँदा पनि नेपाली श्रमिकलाई अनावश्यक आर्थिक भार नपरोस् भन्नेमा आफूहरू सचेत रहेको बताए । उनले दुवै प्रणालीलाई एउटा प्रणालीमा विकास गरेर कामदार लैजान नसकिने बताए ।
ईपीएस प्रणालीअन्तर्गत भाषा परीक्षा पास गरी जाने कामदारले ई–९ र मेकानिकल इन्जिनियरिङ, हार्डवेयर, सफ्टवेयर, इलेक्ट्रिकल, इलेक्ट्रोनिक, विकासलगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका कामदारहरूले ई–७ भिसा पाउने गरेका छन् ।
ईपीएसमार्फत जाने श्रमिकहरूले न्यूनतम मासिक दुई लाख रूपैयाँ कमाउने गरेका छन् भने ई–७ भिसामा जानेको मासिक तलब तीन हजार अमेरिकी डलर अर्थात चार लाख नेपाली रूपैयाँ हाराहारी हुने गरेको छ । उनीहरूले साथमा परिवार पनि लैजान पाउने बताइएको छ । राजदूतले ई–७ लाई ईपीएस प्रणालीलाई आबद्ध गराउन समय लाग्ने बताएर अप्रत्यक्षरूपमा दक्ष र अदक्ष कामदार फरक–फरक वर्गमा नै राखेर लैजाने स्पष्ट पारे ।
मन्त्री अर्याल भने ई–७ लाई ईपीएस प्रणालीमा आबद्ध गरेर सरकारले नै कामदार पठाउनुपर्ने मान्यतामा देखिएका छन् । यसअघि मन्त्रालयले सार्वजनिक गरेको कार्यविधिमा निजी क्षेत्रका म्यानपावर कम्पनीले ई–७ भिसामा निःशुल्क पठाउने व्यवस्था थियो । मन्त्री अर्यालले उक्त व्यवस्था निराधार रहेको बताइसकेका छन् ।
मन्त्रालयका प्रवक्ता गोविन्द प्रसाद रिजालले जारी गरेको विज्ञप्तिमा नेपाल र दक्षिण कोरियाबीच विद्यमान श्रमिक आदानप्रदानलाई अझ बढी व्यवस्थित, छरितो र पारदर्शी बनाइ थप सुधार गर्ने विषयमा छलफल भएको उल्लेख छ ।
विज्ञप्तिमा मन्त्री अर्यालले कोरियाबाट फर्किएर पुनः परीक्षामा सहभागी भइ रोस्टरमा रहेकालाई प्राथमिकतामा राखी रोजगारीमा लैजाने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
कोरियामा नेपाली कामदार लैजाने प्रणाली सबै मुलुकको हकमा समान रहेको, मागको तुलनामा आपूर्ति पक्ष धेरै हुँदा व्यवस्थापनमा केही कठिनाइ परेको राजदूत योङले बताएका थिए । मन्त्री अर्यालले दक्षिण कोरिया भ्रमणमा जाने नेपालीहरूको भिसा प्रक्रिया सरलीकरण गरिदिन समेत अनुरोध गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies