काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायलको कृषि क्षेत्रका लागि निजी क्षेत्र अर्थात म्यानपावर कम्पनीबाट कामदार लैजाने प्रलोभनमा ठगी हुन सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । इजरायलमा नेपालबाट कृषि कामदार लैजाने भन्दै नेपालका केही पक्षले प्रलोभनमा पारी रकम उठाउने गरेको सूचना आएको उल्लेख गर्दै विभागले निजी क्षेत्र अर्थात बीटुबी प्रणालीबाट कृषि तथा अन्य क्षेत्रमा कामदार पठाउने निर्णय नभएको बताएको छ ।
विभागका प्रवक्ता एवम् सूचना अधिकारी कविराज उप्रेतीले बुधबार एक विज्ञप्ति जारी गर्दै ठगी सम्बन्धमा विभागले सूक्ष्म अध्ययन गरिरहेको उल्लेख गरेका छन् । नेपाल सरकार र इजरायलबीचको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदार अर्थात केयर गिभर पठाउने गरिएको छ । विभागले त्यसबाहेक इजरायलसँग कुनैपनि प्रकारको सम्झौता नभएको बताएको छ ।
यसअघि काठमाडौं इन्टरनेशनल इन्कर्पोरेट प्रा.लि.ले इजरायलको ब्लु शिर्ट इन्टरप्राइजेज कम्पनीका लागि २ सय कृषि कामदारको माग ल्याएपछि वैदेशिक रोजगार क्षेत्रमा हलचल पैदा भएको थियो । तर उक्त म्यानपावर कम्पनीले ल्याएको २ सय पुरूष कृषि कामदारको भिसा हालसम्म नआएको बताइएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले पूर्व स्वीकृति दिने कर्मचारीलाई अनुसन्धानको घेरामा ल्याउने बताएका थिए । मन्त्रालयले उक्त प्रा.लि.का सञ्चालकको पृष्ठभूमि र कारोबारबारे अनौपचारिकरूपमा समेत अध्ययन गरिरहेको समाचार स्रोतले बताएको छ ।
२ वर्षे करार अवधिका लागि नेपालबाट जाने कृषि कामदारले मासिक न्यूनतम २ लाख ८ सय ९० रूपैयाँ तलब पाउने उक्त कम्पनीले वैदेशिक रोजगार कार्यालय ताहाचलबाट पाएको पूर्व स्वीकृतिमा उल्लेख थियो। सोही पूर्व स्वीकृतिको डिमाण्ड देखाएर ठगी नहोस् भनि मन्त्रालय सचेत रहेको पनि उक्त समाचार स्रोतको भनाइ छ ।
नेपालले कृषि कामदार पठाउने विषयमा विभिन्न तर्क गरेर आलटाल गरिरहेको भएपनि भारतसहित विभिन्न मुलुकबाट कामदार इजरायल गइरहेका छन् । इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्र गाजामा लडाइँ चलिरहेका बेला पनि ठूलो संख्यामा भारतीयहरू रोजगारीका लागि इजरायल पुगेका थिए । भारतले गत वर्ष ४२ हजार भारतीय कामदारलाई इजरायलको निर्माण र नर्सिङ क्षेत्रमा पठाउने सहमति गरेको थियो ।
विगतमा लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत नेपाली विद्यार्थी पनि इजरायल गएका थिए । हाल युद्धको अवस्था नभएको भएपनि नेपालले कामदार पठाउने विषयमा अलमल गर्नु मन्त्रालय नेतृत्वको अयोग्यता र अस्पष्टता पनि जिम्मेवार रहेको कतिपयको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies