तेज बन/मध्यान्ह
इटहरी : सम्बन्धित सरोकारवालाहरुले नियमित अनुगमन र चासो नराख्दा इटहरीमा अवैध म्यानपावरहरु खुल्ने र उनीहरुको बोलवाला चल्ने क्रम बढ्दो छ । वैदेशिक रोजगार संघ सुनसरीका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा इटहरीमा ७३ वटा म्यानपावरका शाखाहरु सञ्चालनमा रहेकोमा हाल उक्त संख्या २ सय १५ भन्दा बढी पुगेको छ ।
सञ्चालनमा रहेका अधिकांश शाखाहरु वैदेशिक रोजगार ऐन र नियमावलीको व्यवस्थाअनुसार चलेका छैनन् । इटहरीको धरान रोडमा मात्रै म्यानपावर कम्पनीका ४२ वटा शाखा सञ्चालनमा छन् । गत वैशाख दोस्रो साता वैदेशिक रोजगार विभाग, श्रम कार्यालय विराटनगर, जिल्ला प्रसाशन कार्यालय सुनसरीलगायतले संयुक्त अनुगमन गर्दा इटहरीमा अधिकांश म्यानपावर अवैध ठहरिएका थिए । ९ वटा म्यानपावरमा अनुगमन गर्दा ५ वटा अवैध भेटिएको थियो भने ३ वटामा शिल नै गरिएको थियो ।
वैदेशिक रोजगार विभागका तत्कालीन निर्देशक कृष्णप्रसाद भुसालको नेतृत्वमा इटहरीको धरान रोड, विराटनगर लाइन, टेंग्रा पारी, गोरखा गल्लीलगायतका स्थानमा सञ्चालित म्यानपावरका शाखाहरुमा अनुगमन गरिएको थियो । अनुगमनकै क्रममा महेश थापाद्वारा सञ्चालित एड्भान्स म्यानपावर, विदुर गुरुङको वल्र्ड एण्ड वल्र्ड म्यानपावर, टिकाराम घिमिरेले सञ्चालन गरेको डिलक्स परी म्यानपावर, मोभिरा एचआर ओभरसिज र ब्रिज स्काइ इन्टरनेशनलमा ताला लगाइएको थियो । जसमा मोभिरा एचआर र ब्रिज स्काइ इन्टरनेश्नलमा शिल नै गरिएको थियो ।
त्यस्तै २०७८ असारमा अनुगमन हुँदा पनि मोभिरामा ताला लगाएर विभाग बोलाइएको थियो । एक वर्षअघि शिल भएका ती म्यानपावर कम्पनीका शाखाहरु अहिले पनि निर्वाधरुपमा सञ्चालन भइरहेका छन् । अनुगमन आउँदा साइनबोर्ड हटाउने र कार्यालयमा ताला लगाउने, तर विभागको टोली गएलगत्तै पहिलेजस्तै अवैधानिक शाखाहरु वैधानिक सरह सञ्चालन गर्ने गरिएको एक म्यानपावर कम्पनीका शाखा सञ्चालक बताउँछन् ।
वैदेशिक रोजगार संघ सुनसरीका अध्यक्ष दुर्गा थापाले इटहरीमा अवैध म्यानपावरका कारण आफूहरुजस्ता वैधानिकलाई काम गर्न अप्ठ्यारो भइरहेको बताए । संघका अध्यक्ष भक्त लामा इटहरी वडा नं ४ को वडाध्यक्षमा निर्वाचित भएपछि थापालाई संघको जिम्मेवार दिइएको थियो । थापाले पटक–पटक अनुगमन गर्दा पनि नसुध्रिने अवैधानिकरुपमा व्यवसाय गर्नेहरुलाई कानूनसम्मत सजाय दिनुपर्ने माग गरे । उनले अवैधानिकरुपमा सञ्चालनमा रहेकाहरुका कारण वैधानिक शाखाहरु बदनाम हुने गरेको बताउँदै त्यस्ता गैरकानूनी व्यवसाय गर्नेहरुलाई राज्यले कानूनको दायरामा ल्याउनुपर्ने बताए ।
यता वैदेशिक रोजगार विभागका अनुगमन अधिकृत चक्रबहादुर श्रेष्ठले इटहरी मात्र नभइ कोशी प्रदेशमै अवैधानिक शाखा सञ्चालनको गुनासो आइरहेको बताए । उनले नियमितरुपमा अनुगमन गर्ने बताउँदै कोशी प्रदेशमा मात्र गत आर्थिक वर्षमा २ सय ६३ भन्दा बढी अवैधानिकरुपमा रहेका म्यानपावर कम्पनीका शाखाहरुलाई कारबाही गरिएको जानकारी दिए । अधिकृत श्रेष्ठले इटहरीको हकमा शिल गरिसकेको म्यानपावरका शाखा सञ्चालन भएको पाइए कानूनबामजोमि कारबाही गरिने बताए ।
ठगिँदै सर्वसाधारण
इटहरीमा बाहिर एउटा बोर्ड राखेर भित्र अर्कै नाममा सञ्चालन हुने म्यानपावरका शाखाहरु पनि थुप्रै रहेको देखिएको छ । यस्ता म्यानपावरहरुका कारण युवायुवती ठगिने क्रम बढेको श्रम कार्यालय इटहरीले बताएको छ ।
अघिल्लो वर्ष २६ हजार युवायुवतीहरु ठगिएको उक्त कार्यालयको भनाइ छ । इटहरी चारैतिरको संगम स्थल भएकै कारण विशेषगरी पहाडी जिल्लाबाट आएका युवा युवतीहरु बढी ठगिने गरेको उक्त कार्यालयले बताएको छ । अनुगमनकै क्रममा अधिकांश शाखाहरुले हुँदै नभएको अरु विदेशी कम्पनीको डिमाण्ड देखाएर सूचना निकाल्दै सर्वसाधारणलाई ठग्ने गरेको भेटिएको बताइएको छ ।
वैदेशिक रोजगार संघ सुनसरीका पूर्वअध्यक्ष तथा इटहरी ४ का वडाध्यक्ष भक्त लामाका अनुसार राज्यबाटै वैदेशिक रोजगार व्यवसायहरुका लागि ठोस कानून नहुँदा ठगीको समस्या देखिएको बताए । उनले अवैध शाखाहरुलाई उचित कारबाही नभएका कारण ठगी बढेको बताए ।
इटहरीमा सञ्चालित म्यानपावर शाखाहरुबाट फ्रि भिसा र टिकटको सहुलियत नपाएको कतिपयको गुनासो छ । सरकारले खाडी मुलुकहरु साउदी, कतार, मलेसियालगायतमा फ्रि भिसा, फ्रि टिकटको घोषणा गरेपनि सो निर्णय कार्यान्वयन नगर्दा चर्को मूल्य तिर्नु परिरहेको सर्वसाधारणले गुनासो गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies