-जीवन विष्ट/धनगढी
दयालु स्वभाव, सहयोगी भावना अव्वल नेतृत्व, साहसी क्षमता, कम बोल्ने र बोलेको पूरा गर्ने उनीभित्र एक संकल्प छ । नेपाली सञ्चार जगतमा सफल मिडिया व्यवसायीका रूपमा उनले आफ्नो जबरजस्त छवि बनाएका छन् । उनी अर्थात् डा. जनकराज पन्त । जो सञ्चार क्षेत्र र मिडिया उद्यमीका लागि एक प्रेरणाका पात्र हुन् । कोरोना महामारीपछि निर्मित आर्थिक मन्दीका कारण ठूला भनिएका मिडिया हाउस (टेलिभिजन) धमाधम बन्द भइरहेका बेला उनको रफ्तार भने तीव्र गतिमा छ । सञ्चार क्षेत्रमा धेरै कम व्यक्तिहरू छन् । जो सिक्दै गर्दै मालिक बनी यसै क्षेत्रमा रोजगारी सिर्जना गरिरहेका छन् । तीनै मध्येका एक हुन् पन्त । स्वभावकै कुरा गर्ने हो भने उनी यति सरल छन् की उनमा घमन्ड पटक्कै देखिँदैन । भूईँ मानिसदेखि उच्च ओहदाका व्यक्तिहरूसँग प्रस्तुत हुने उनको शैली एउटै छ ।
“मैले सत्कर्मले भाग्य झुकाएको हुँ । विकट जिल्ला दार्चुलाबाट काठमाडौं झरेर यहाँसम्मको यात्रा तय गर्न सजिलो थिएन । मभित्र दर्दनाक विगत छ । आरोह–अवरोह छन् । दुःख, पीडा, चोट, संघर्ष र खुसीका पल अनगन्ती छन् । कडा परिश्रम र अथाह मेहनतले मलाई यहाँसम्म पु¥याएको हो”, पन्तले भने ।
फुटपाथमा मसला बेच्थे...
विकट ठाउँ, दुर्गम बस्ती, दार्चुलाको वोहरी गाविस वडा नम्बर ३ (हालको शैल्यशिखर नगरपालिका)मा बाल्यकाल बिताउँदै गरेका पन्तलाई नेपाल आर्मी.असाध्यै मन पथ्र्यो । स्कुलमा कसैले भविष्यमा के बन्छस् भनेर सोध्दा उनको जवाफ आर्मी हुन्थ्यो । १० कक्षासम्म दार्चुलामै अध्ययन परेका पन्तलाई उच्च शिक्षा अध्ययनका लागि काठमाडौं जाने अवसर मिल्यो । नेपाल बैंकमा जागिरे उनकी आमा र दाइले अध्ययनका लागि देशको राजधानी पठाए । उनलाई पढ्न मात्र थिएन केही गर्नु पनि थियो ।
पारिवारिक पृष्ठभूमि राम्रै भएकाले पन्तलाई काठमाडौंमा बस्न र खान समस्या थिएन । बुवा गाउँको मुखिया, उनकी आमा र दाई नेपाल बैंकका जागिरे थिए । तर, जनकलाई भने आफैँ केही गरेर देखाउनु थियो । सुरुवात आफैँबाट गर्नुपर्छ भन्दै उनले काठमाडौंका फुटपाथ र गल्ली–गल्लीमा बेसारका प्याकेट, कपडा, चाउचाउ बिस्कुट बेच्न थाले । “मेरो कोठा भाडा र खाना खर्चका लागि मैले घरबाट माग्न नपरोस् भन्नका लागि होलसेलबाट सामाग्री खरिद गरेर फुटकरमा बेँच्थे, त्यहाँबाट मेरो खर्च चल्थ्यो”, विगत सम्झँदै पन्त भन्छन् ।
क्यामेरादेखि मालिकसम्म
व्यापारमा पैसा त थियो तर, इज्जत थिएन । फुटपाथको व्यापारबाट गुजारा चलाइरहेका जनकको दैनिकी अब त्यत्तिमै सीमित रहेन । कमान्डर दैनिकमा उनले रिपोर्टरको काम पाए । त्यही क्रममा पन्तकै नेतृत्वमा नेपाल पर्यटन तथा सांस्कृतिक पत्रकार संघ गठन भयो । पन्त संस्थापक रहेको संघले पर्यटन र संस्कृतिका सवालमा काम गर्न थाल्यो । झन्डै दुई वर्ष कमान्डर दैनिकमा बिताएका पन्तले २०५८ मा भिडियो पत्रकारिता तालिम लिए । “सानामा देखेको सपना त आर्मी बन्ने थियो तर, प्रयास नै गरिन समयसँगै सपना फेरिँदो रहेछ, मैले जानेर बुझेर मिडिया रोजेको हैन, साथीहरूको हौसलाले गर्दा मिडियामा आएको थिएँ”, मिडिया क्षेत्रमा प्रवेश गर्दाको अनुभव व्यक्त गर्दै पन्तले भनेका छन्, “त्यतिबेला मिडिया र मिडियामा काम गर्ने मान्छे निकै कम थिए । तालिमपछि मैले २०६१ मा स्टार मिडिया नेटवर्क प्रा.लि. दर्ता गरेर भिडियो कार्यक्रम र डकुमेन्ट्रीको काम गर्न थाले त्यहाँबाट आर्थिक कारोबार राम्रो हुन थाल्यो ।”
स्टार मिडिया नेटवर्कमार्फत इमेज टेलिभिजन र नेपाल टेलिभिजनका लागि कार्यक्रम उत्पादन गर्दै आएका पन्तलाई आफ्नै टेलिभिजन सञ्चालन गर्ने हुटहुटी जाग्यो । टेलिभिजन सञ्चालनका लागि क्रमिकरूपमै सामाग्रीहरूको जोहो गरिरहेका पन्तले २०६५ मा एनभेक्स माउन्टेन टेलिभिजन स्थापना गरे । “हामी टिममा काम गथ्र्याैँ, म आफैँ क्यामेरा मेनको रूपमा थिएँ, लामो समय कार्यक्रम उत्पादन गरेर प्रसारण गर्ने गरेका थियौँ, प्रसारण बापतको खर्च टेलिभिजनहरूलाई दिएर पनि केही रकम बच्नेगथ्यौँ”, टेलिभिजन सुरु गर्दाको अनुभव पोख्दै पन्तले भने, “आफ्नै टेलिभिजनको आवश्यकता महसुस गरेर मैले माउन्टेन टिभी स्थापना गरेँ ।”
टिभी डुबेपछि....
वृत्तचित्र र टेलिभिजन कार्यक्रम उत्पादनमा लामो समय बिताएका पन्तका लागि टेलिभिजन सञ्चालन नौलो विषय थियो । एकल स्वामित्व टेलिभिजन सञ्चालन गरिरहेका पन्त क्रमिकरूपमा घाटामा गए । अर्थात् टेलिभिजनबाट उनले राम्रो आर्थिक कारोबार गर्न सकेनन् । “मैले कम्पनी चलाइरहेको थिएँ । ठूलो ब्रोडकाष्ट मिडिया चलाउने अनुभव नभएर होला सायद मैले सञ्चालन गरेको टिभी बर्सेनी घाटामा जान थालेपछि २०६८ असारमा मैले टिभी बेच्ने निर्णय गरे”, उनले भने, “म अरूलाई दोष दिन्न । मसँग अनुभव भएन सायद क्षमता थिएन कि मसँग ? प्रश्न आफैलाई हो । मेरो व्यवस्थापन पक्ष नै कमजोर रह्यो त्यस कारण त्यो समयमा असफल देखिएँ ।”
टेलिभिजन बेचेपछि पन्त फेरी पुरानै दैनिकीमा फर्किए । लगत्तै अर्को टेलिभिजन सञ्चालन गर्ने तयारीका साथ कम्पनी दर्ता गरे । तर, लगत्तै टिभी भने सञ्चालन गरी हालेनन् । उनी पूर्णरूपमा अनुभव लिएर मात्रै टिभी सञ्चालन गर्ने रणनीतिमा थिए । त्यहीअनुसार क्रमिकरूपमा सामाग्री खरिदलगायतको आन्तरिक तयारीमा थिए । माउन्टेन टेलिभिजनबाट अनुभव लिएका उनले आफ्नै भवन बनाएर मात्रै टिभी सञ्चालन गर्ने निर्णय लिए । नयाँ टिभी सञ्चालनका लागि पन्तले पुख्र्यौली सम्पत्ति (तराइमा भएको जग्गा) समेत बेचेका थिए ।
“कम्प्युटर, ज्यानेरेटर, क्यामेरालगायत टिभी सञ्चालनका सबै सामाग्री जुटाएँ । पेप्सीकोलामा आफ्नै पाँच तलाको भवन बनाएँ, किनकि भाडा घट्यो भने पनि टेलिभिजन सञ्चालन गर्न सहज हुन्छ भन्ने मलाई लागेको थियो, म सँग १५ जनाको कोर टिम थियो”, पुनः टेलिभिजन सुरु गर्दाको अनुभव बताउँदै उनले भने, “२०७२ मा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाबाट टिभी टुडे टेलिभिजनको उद्घाटन गरियो ।”
उनले दोस्रो प्रयासमा सञ्चालनमा ल्याएको टिभी टुडेको व्यवस्थापन पक्ष अहिले सक्षम छ । देशभरीमा १ सय २० जना कर्मचारीलाई रोजगारी दिएका छन् । “माउन्टेनको अनुभवले अहिले सफलता मिलेको छ, समस्याको समयमा पनि अहिले हाम्रो टेलिभिजनलाई त्यति असर गरेको छैन”, उनले भने ।
पन्तको नेतृत्वमा टिभिवान टेलिभिजन, रेडियो टुडे, दृष्टि प्रोडक्सन र स्टार मिडियालगायतका आधा दर्जन बढी कम्पनी सञ्चालनमा छन् । “मिडिया फापेको हो, मलाई जति सोचेको थिएँ त्योभन्दा १० गुणा बढी सफलता पाएको छु । मेरो मुख्य पेशा नै मिडिया व्यवसाय हो, यहीँबाट मैले काठमाडौमा घरजग्गा जोडेको छु । एक सयभन्दा बढी कर्मचारीलाई रोजगारी दिएको छु, सुदूरपश्चिम पनि आफ्नै भवनबाट प्रदेश प्रसारण स्टेसन चलाइरहेको छु, सुदूरपश्चिमको माटोले मलाई धेरै दिएको छ अव सुदूरपश्चिमका लागि केही गर्ने हुटहुटी मभित्र छ”, पन्तले भने ।
सञ्चारमा पिएचडी, स्कुलमा लगानी
पन्तले मिडिया व्यवसायसँगै अध्ययनलाई पनि निरन्तरता दिए । फलस्वरूप सफलता पनि पाए । अर्थात् प्रसारण पत्रकारिताबाट उनले पिएचडी गरेका छन् । मिडिया कर्मबाटै उनले नामका अघि डाक्टर लगाउने धोको पनि पूरा गरिरहेका छन् । “भारतको दिल्लीस्थित एसएसआर यूनिभर्सिटीबाट चार वर्षको अवधिमा सञ्चारमा पिएचडी गर्न सफल भएँ म, आजका दिनसम्म मैले जति सफलता पाएको छु, त्यो सबै मिडिया व्यवसायबाटै हो, अब समाजसेवामा सक्रिय हुन्छु, सानो ठूलो सक्दो सहयोग त गर्दै आएको छु तर, अझ बढी समाजसेवामा केन्द्रित बन्ने मन छ”, उनले भने ।
मिडियामा सफल व्यवसायीको छवि बनाएका पन्तले शिक्षा क्षेत्रमा पनि लगानी गरेका छन् । कञ्चनपुरको कृष्णपुर ७ कलुवापुरमा ८ कक्षासम्मको अध्ययन हुने दृष्टी पाठशाला सञ्चालनमा ल्याएका छन् ।
“शिक्षा र सञ्चार लगभग उस्तै क्षेत्र हुन्, दुवै सामाजिकरूपमा जोडिन्छन् । मैले गुणस्तरीय शिक्षा दिने संकल्पका साथ शिक्षा क्षेत्रमा पनि लगानी गरेको हुँ, आशा छ म त्यसमा पनि सफल हुन्छु, अहिलेको युग सुहाउँदो शिक्षा प्रदान र दक्ष जनशक्ति उत्पादन हाम्रो विद्यालयको मुख्य लक्ष्य हो”, पन्तले भने ।
यात्राकी सहयात्री नविता, असल साथी संज्ञा
सफलताको श्रेय डा. पन्त आफैँ लिँदैनन् । हरेक आरोह अवरोहमा आड र साहस दिने धर्मपत्नी कुमारी नविता फुयाँललाई दिन्छन् । सिङ्गो टिमको साथ बिना उपलब्धि हासिल गर्न कठिन हुने बुझाई पन्तको छ । ११ कक्षामा अध्ययन गर्नेक्रममा पन्तले सहपाठी फुयाँललाई मन पराए । “पढ्ने क्रममा मैले उनलाई चिनेको हो । सानोठिमी भक्तपुरमा उनको घर थियो । आनीबानी हरेक कुराले उनले मेरो मन जितेकी थिइन् । मैले मनमनै मन पराएको थिएँ, उनले पनि मन पराएकी थिइन् । त्यसको केही समयमै मेरो मामु र दाइ बिहेको प्रस्ताव लिएर उनको घर जानुभयो । सकारात्मक वार्ताभएपछि हाम्रो सम्बन्ध बिहेका परिणत भयो”, सम्बन्धको अनुभवबारे पन्त भन्छन् ।
पन्त र फुयाँल वैवाहिक सम्बन्धमा वाधिँएको करिब तीन दशक पुग्दै छ । पन्त दम्पतीका दुई सन्तान छन् । छोरा साजनलाई कम्प्युटर इन्जिनियर बनाइसकेका छन् भने छोरी दृष्टी सिए अध्ययन गरिरहेकी छन् ।
“मेरो जीवनमा छोरीको आगमन भएको दिन म असाध्यै खुसी भएको थिएँ । मलाई छोरी असाध्यै मन पर्छ । छोरीकै नामबाट दृष्ट्री प्रोडक्सन हाउस र दृष्ट्री पाठशाला सञ्चालन गरिरहेको छु”, उनले भने ।
भूल्नै नसक्ने क्षण सम्झिँदा पन्तका आँखा रसाए । “एकै वर्षको अवधिमै आमा र दाइले प्राण त्याग्नु भयो । आमालाई क्यान्सरले लग्यो दाइ लाई हर्टहट्याक भयो । त्यो बाहेक त्यो वर्ष अर्को पीडा पनि थपियो जुन शब्दमा व्यक्त गर्न सकिरहेको छैन । त्यो चोट मनमै छ”, पन्तले भने ।
मिडिया व्यवसायकी सहकर्मी संज्ञा अधिकारीको योगदानको पनि उनी खुलेरै प्रशंसा गर्छन् । “अहिले यो सफलताका पछाडि संज्ञाजीको ठूलो हात छ, १७ वर्षदेखि उहाँ टिममा हुनुहुन्छ । उहाँको क्रियटिभ कार्यशैलीका कारण अथाह सफलता मिलेको छ । संज्ञाजीको साथ नभएको भए सायद यो स्थानमा पुग्न सक्दैन थिए होला”, पन्तले भने ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies