–लेखराज रेग्मी
चैत्र २४ कै दिन दरबार बलिदान र सौर्यको कारणपछि हट्यो । सुधारिएको पञ्चायत पोतारोमा पनि काम नलाग्ने गलेको जडौरी जस्तै मिल्काइयो । अनि जनताको आवाज सुनिने वातावरण क्रमशः विकास हुँदै गयो । चैत्र १९ मा आलोपालोअनुसार संयुक्त राष्ट्रिय जनआन्दोलनले पहिलो पटक २०४६ को संयुक्त आन्दोलनको नेतृत्व ग¥यो । चैत्र २४ उसको तेस्रो पालो थियो । जुलुस नियोजित ढंगले दरबार स्क्वायरतिर लगियो । नेपाली कांग्रेस र बाममोर्चाका केही घटक अत्तालिए । निर्मल लामाले ठूलो आवाज आउने माइक स्पीकर लिएर जुलुसलाई सहमति भएकै रुटमा लैजान निर्देशन गरे । स्वयम् शेवकहरूको पहल कमजोर भयो । यत्तिकैमा दरबार स्क्वायरमा गोली चल्यो । युवाहरूको जुलुस देख्न लायक थियो । उनीहरू गोलीको प्रवाह नगरी तानाशाहको शालिक तोड्दै थिए ।
यसपछि दरबार नेपाली कांग्रेस र बाममोर्चाका बिच सहमति गराउनभित्र र बाहिरबाट पहल भए र दबाब आउन थाल्यो । चैत्र २५ र २६ आन्दोलनमा केही कमी महसुस भयो । वार्ता चलिरहे । निर्मल लामा आन्दोलन थप चर्काउने र दरबारमाथि दबाब बढाउने पक्षमा थिए तर, उनी वार्तामा प्रत्यक्ष संलग्न रहेनन् । चैत्र २७ फेरि संयुक्त राष्ट्रिय जनआन्दोलनले नेतृत्व गर्ने पालो आउँदै थियो, चैत्र २६को रातमा दरबारका प्रतिनिधि र नेपाली कांग्रेस– बाममोर्चा बिच सम्झौता भयो । यो सम्झौताको आधार पनि चैत्र २४ ले नै बनाइदियो । तेस्रो मोर्चाले जति तर्क गरेपनि २७/२८ गतेका प्रयत्न अगाडि बढ्न सकेनन् र भण्डाफोरसहित देशवयापी सभा प्रवचनका कार्यक्रम बनाउन तिर लाग्यो ।
चैत्र २४ का तीन वटा महत्वपूर्ण सन्देश छन् । अर्काको बुई चढेर होइन आफ्नो आन्तरिक शक्तिको भरमा मात्रै संयुक्त आन्दोलनको नेतृत्व गर्न सकिन्छ । एलाइन्सबारे संवेदनशील, समझदारी र भरोसा पैदा गर्ने क्षमता आवश्यक हुन्छ । शक्ति सन्तुलन र शक्ति बिन्यासमा देखिने अधकचरा पन, बुझदिली र बाह्य दबाब झेल्ने स्टेमिना बिनाको नेतृत्वबाट जनताले पाउने भनेको धोका नै हो ।
वास्तवमा २०४६ को आन्दोलन त एकेडमी घेरेर सबै पश्चगामी चाललाई असफल पार्दै सरकार, राष्ट्रिय पञ्चायत र पञ्चायती संविधानको खारेजी गर्ने प्रज्ञा प्रतिष्ठानको वार्तामा सहमति भएपछि मात्रै बिट मारिएको थियो । तर, त्यसबेला संयुक्त राष्ट्रिय जनआन्दोलन बाहिरिइसकेको थियो । चौथो महाधिवेशन समूहको “नेताहरू पछि पछि, जनता अघि अघि” भन्ने संश्लेषण त्यसपछिका आन्दोलनहरूमा पनि देखिएको थियो ।
०४६ देखि यताका तीन दशक बढीको राजनीतिक परिवेशमा भएका जनआन्दोलन तथा जनसंघर्षहरुलाई नियाल्दा विशेषगरी आन्दोलनको अन्त सम्झौतामा भएको देखिन्छ । बाह्य तथा भित्रि दबाबका बाबजुत भएका सम्झौता आन्दोलनको मर्मबाहिर पनि भएको पाइन्छ । जसको समीक्षा अनिवार्य देखिएको छ । पञ्चायत समाप्तिपछिका कालखण्डलाई हेर्दा, जनयुद्ध र २०६२/०६३ को आन्दोलन करिब सम्झौतामा टुंग्गिएको थियो । जसको प्रभाव अहिलेसम्म कायम छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies