–डा. दिबाकर वशिष्ठ
लक्षित उद्देश्य प्राप्त गर्ने बाटामा आइपर्ने बाधालाई सामान्य अर्थमा जोखिम भन्ने गरिन्छ । बैंकिङ क्षेत्रले जोखिमभित्र रहेर अवसरको खोजी गर्नुपर्ने हुन्छ । बैंकिङ क्षेत्रमा आइपर्ने जोखिमहरूमा कर्जा, बजार, कार्यसञ्चालन, तरलता, ब्याजदर र राजनीतिक स्वार्थसिद्ध सम्बन्धी जोखिमहरू प्रमुख छन् । हाल केही राजनीतिसँग जोडिएर अराजक व्यक्तिले लघुवित्त र बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको सावा ब्याज तिर्नु हुँदैन, बैंक डुब्दै छ निक्षेपकर्ताले आफ्नो निक्षेप फिर्ता लैजानु होला भन्ने निराधार हल्ला फैलाएको कारण वित्तीय संस्थालाई अस्थिर बनाउने प्रयास गरेका छन् । यस्ता अफवाहपूूर्ण भ्रम छर्ने कार्य भविष्यमा नहोस् भन्नाको लागि पनि ग्रीन बैंकिङ जरुरी छ । जोखिमको सबैभन्दा ठूलो बाहक कर्मचारी हुन् । निरन्तर अनुगमन एवम् सुपरीवेक्षणको अभाव र आन्तरिक नियन्त्रणको कार्यान्वयन पक्षमा चुस्त र दुरुस्तताको अभावले हिजोसम्म राम्रो मानिएको मानिस भोलि एकाएक अपराधी बन्न सक्छ साथै, हिजोसम्म राम्रो मानिएको बैंक एकाएक कमजोर हुन सक्छ । हालका दिनहरूमा बैंक तथा वित्तीय संस्थाहरूमा सञ्चालन जोखिमसमेत बढेको हुँदा साइबर क्राइमलगायतका आपराधिक प्रवृत्तिले प्रश्रय पाएको छ । तथापि, यसको स्तर यति नै छ भनेर निर्क्यौल गर्न कठिन छ ।
बैंकिङ क्षेत्रले नैतिकता र सामाजिक सुरक्षा, हित एवम् वातावरणीय संरक्षणलाई मध्यनजर राखेर कारोबार गर्नु नै ग्रीन बैंकिङ हो । ग्रीन प्रोडक्टको विकास, कार्य दक्षताको आधारमा पुरस्कार र दण्डसजायको व्यवस्था एवम् नातावाद र कृपावाद हटाउनु, प्रदुषण नियन्त्रण हुने उद्योग, मेसिनरी, वस्तु तथा सेवाको उत्पादन प्रक्रिया र विद्युतीय सवारी साधनमा कर्जा लगानी बढाउनु, प्रविधिको प्रयोग र बैंकिङ कारोबारबारे जनचेतना जगाउनु, ग्राहकको गुनासोलाई समयमा नै समाधान गर्नु, कर्मचारीलाई यस सम्बन्धमा तालिम दिनुलगायत ग्रीन बैंकिङका प्रमुख आधार हो । सामान्यतः यो सुन्दा साधारण बैंकिङसँग नै मेल खान्छ तथापि, यसमा वातावरणीय पक्षलाई बढी ध्यान दिइन्छ । चाहे त्यो प्रदुषण नियन्त्रणसँग सम्बन्धित होस् वा बदलिँदो परिवेशअनुरूप प्रविधिको प्रयोग गर्दै ग्राहक संरक्षण र हित नै किन नहोस् । कुनै पनि संघ संस्था वा बैंकिङ क्षेत्रका सामाजिक उत्तरदायित्वहरू छन् । तसर्थ, उनीहरू कर्मचारी, समाज, सरकार र ग्राहक एवम् लगानीकर्ताप्रति बढी जिम्मेवार भइ बैंकिङ सेवा प्रवाह गर्नु पर्दछ, जसलाई ग्रीन बैंकिङ भनिन्छ । जिम्मेवारपूर्ण बैंकिङको अभाव र जनचेतनाको अभावको फाइदा उठाएर हालका दिनहरूमा बैंकिङ क्षेत्रप्रति अफवाह फैलाउनेको जमघट बाक्लिँदै छ । यस्तो अवस्थामा ग्रीन बैंकिङ अवधारणालाई जोडतोडका साथ अगाडि लैजानु पर्दछ, तब मात्र दिगो बैंकिङको कल्पना गर्न सकिन्छ ।
प्राकृतिक स्रोत र साधन एवम् मुलुकलाई वातावरणमैत्री र हरियाली बनाउनको लागि बैंकिङ क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिन्छ । दैवि प्रकोप नियन्त्रण र भूकम्पको दृष्टिकोणले सुरक्षित भवन निर्माणमा लगानी, बाढी पहिरो नियन्त्रण गतिविधिमा लगानी, गरिबी निवारण र रोजगारीमूलक साना तथा मझौला उद्योगको विकासलगायतले मात्र ग्रीन बैंकिङको अवधारणा सफल हुन सक्दछ ।
बैंकिङ जोखिम नियन्त्रणको लागि विश्वले नै ग्रीन बैंकिङको अवधारणालाई आत्मसाथ गरेको देखिन्छ । यसलाई नैतिक, दिगो र वातावरणमैत्री बैंकिङ भन्ने गरिन्छ । बैंकिङ क्षेत्रको दिगो विकास र वातावरणमैत्री लगानी एवम् सामाजिक उत्तरदायित्वसमेत यसमा समाविष्ट भएको देखिन्छ । जलवायु परिवर्तनले वातावरणीय जोखिम निम्तने हुँदा बैंकले कर्जा लगानीपूर्व यस्ता क्षेत्रहरू पहिचान गरी रणनीतिहरू तयार गर्नुपर्दछ । वातावरणीय र समाजका समस्याहरूलाई लक्षित गरेर बैंकिङ क्षेत्रले कर्जा नीति बनाउनु पर्दछ । ग्रीन बैंकिङ पद्धतिको विकासको निश्चित मिति यकिन गर्न त कठिन देखिन्छ, तथापि यसको विकास सन् १९७० मा सामाजिक उत्तरदायित्वसँग जोडिएर सुरु गरिएको देखिन्छ भने अमेरिकाको फ्लोरिडा राज्यमा सन् २००९ मा पहिलो ग्रीन बैंकको स्थापना भएको देखिन्छ ।
नेपालमा यसको विकासलाई हेर्दा सन् २०११ मा नेपाल बंगलादेश बैंकले यो अवधारणको आरम्भ गरेको देखिन्छ । तत्पश्चात निजी क्षेत्रका बैंकहरूले यसको प्रयोग बढाउँदै लगे र पछि सरकारको स्वामित्वका बैंकलगायतमा पनि यो अवधारणाले प्रवेश पाइसकेको देखिन्छ । समाजमा वातावरणीय चेतना जगाउनको लागि यो अवधारणा अगाडि सारिएको देखिन्छ । बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग जस्तै अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, एटिएम कार्डको प्रयोग, क्यूआर कोडको प्रयोग, सफा नोट नीति र यिनीहरूको विकास, कागजको प्रयोग बिनाका बैंकिङ कारोबार, समय सुहाउँदो भौतिक सुविधा, हाँसेर सेवा दिनु, अनावश्यक कागजात, मेसिनरी, फर्निचरलगायतलाई अन्यत्र व्यवस्थापन गरी कार्यालयलाई प्रविधि र वातावरणमैत्री बनाउनु नै ग्रीन बैंकिङ हो । यसबाट ग्राहक सन्तुष्टि एकातर्फ बढ्दछ भने अर्कोतर्फ ग्राहकले छिटो छरितो सेवा पाउने सम्भावना हुने हुँदा सर्वसाधारणमा बैंकिङ विश्वसनीयता पनि बढ्ने देखिन्छ । कर्जा लगानी गर्दा, ग्राहकसेवा दिँदा, निक्षेप संकलन गर्दा ग्राहकलाई वित्तीय साक्षरताको साथै, वित्तीय चेतनाको जरुरी छ जुन ग्रीन बैंकिङभित्र पर्दछ ।
जोखिम नियन्त्रणको लागि आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउनु पनि उत्तिकै जरुरी छ । कुनै पनि संस्थाको उद्देश्यहरू प्राप्त गर्न उक्त संस्थाका सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीहरूले बनाइएको नीति तथा कार्य विधिहरूलाई आन्तरिक नियन्त्रण प्रणाली भनिन्छ । यसले संस्थाको सञ्चालनमा प्रभावकारिता र कुशलता, वित्तीय प्रतिवेदनको भरपर्दो र नियमहरूको पालना र अनुसरण गराउँदछ । जोखिम न्यूनीकरण सम्बन्धी नीतिगत व्यवस्थालाई हेर्दा आन्तरिक नियन्त्रणलाई सुदृढ बनाउनको लागि आन्तरिक, बाह्य, कर र व्यवस्थापन लेखा परीक्षणका साथै इ.प्रा.निर्देशन नं. ७/०८० मा नेपाल राष्ट्र बैकले सुपरिवेक्षकीय निर्देशन लागू गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गको इजाजतपत्र प्राप्त संस्थाको निरीक्षण तथा सुपरीवेक्षणको सन्दर्भमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको छ, जसमा निरीक्षण प्रतिवेदन उपरको प्रक्रियागत स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त भएको मितिले बढीमा ३० दिनभित्र इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिले उक्त प्रतिवेदनमा उल्लेखित कैफियतहरूको सुधार तथा दिएका निर्देशनहरूको पालना गरी सो निरीक्षण प्रतिवेदनमा उठाइएका बुँदाहरूको सुधारको स्थितिसहितको प्रतिक्रिया राष्ट्र बैंकको सम्बन्धित सुपरीवेक्षण विभागमा पठाउनु पर्नेछ भनी उल्लेख गरिएको छ एकातर्फ भने अर्कोतर्फ सुरक्षित कारोबार ऐन, २०६३ र जोखिम व्यवस्थापन गाइडलाइन, २०१० समेत कार्यान्वयनमा आइसकेको छ ।
ग्रीन बैंकिङको अवधारणको पालनासमेत नगर्दा बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुने गर्दछन् र सामाजिक साखसमेत क्षय हुनजान्छ । जसको प्रमुख कारणहरूमा कर्जा प्रवाह र निक्षेप संकलनमा हुने बदमासी, सुशासनको पालनाको अभाव, निर्देशनको पालना सम्बन्धी समस्या एवम् वातावरणीय पक्षसमेतको राम्रो अध्ययनको अभाव हो । कुनै पनि संस्थाको लेखापरीक्षणले उक्त संस्थामा भइरहेका विभिन्न प्रकारका त्रुटि पत्ता लगाउने, लेखा अद्यावधिक भए/नभएको यकिन गर्ने, संस्थामा भ्रष्टाचार भए/नभएको पहिचान गर्ने र यदि भएको रहेछ भने दोषीलाई कारबाही गर्न सिफारिस गर्ने, आर्थिक नियन्त्रण गर्ने, आर्थिक ऐन नियमको पालना गराउन प्रोत्साहन गर्ने, संस्थाको सम्पत्तिको भौतिक अवस्थाको दुरुपयोग भएको नभएको अध्ययन गर्ने आदि काम गर्दछ । यसका साथै, परीक्षणको माध्यमबाट संस्थाले अवलम्बन गरेका नीति, नियम, विनियम र निर्देशिका बमोजिम भए/नभएको, कार्यालयमा रहेका विभाग तथा शाखाहरूको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी रहे/नरहेको परीक्षण गरी नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन मद्दत गर्ने र संस्थाले उल्लेख गरेका जोखिम र जोखिम न्यूनीकरणका लागि अवलम्बन गरिने उपायहरूको पर्याप्तता परीक्षण गर्ने आदि काम गर्दछ ।
नेपालमा ग्रीन बैंकको अभ्यास भएको छ तर, ग्राहक र सर्वसाधारण एवम् कर्मचारीमा समेत यसबारेमा अपेक्षित ज्ञान नभएको हुँदा पहिला यसबारेमा कर्मचारीलाई तालिम दिने र वित्तीय साक्षरतामार्फत जनसाधारणमा यसको चेतना पु¥याउनु जरुरी छ । ग्रीन बैंकिङले दिगो बैंकिङलाई पनि आत्मसाथ गरेको हुँदा अल्पकालीनभन्दा दीर्घकालीन उत्पादनमूलक क्षेत्रमा कर्जा लगानीको नीति बनाउनु पर्दछ । वातावरणीय परिवेशलाई विचार गरी जोखिमपूर्ण क्षेत्रमा हुने लगानीलाई निरूत्साहित गर्नु पर्दछ । बैंकिङ क्षेत्रले ग्रीन बैंकिङलाई प्रोत्साहन हुने वस्तुको उत्पादन गर्नुपर्दछ जसले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्नुको साथै, वातावरणीय संरक्षणको विश्वव्यापी प्रयासलाई सहयोगसमेत गर्दछ । यसले बैंकिङ क्षेत्रमा बाह्य र आन्तरिक जोखिमलगायत समग्र वित्तीय जोखिमलाई न्यूनीकरण गर्नेमा कसैको दुई मत नहोला । ग्रीन बैंकिङको विकासको लागि कृषि, पर्यटन, जलस्रोत, उर्जा, गरिबी निवारण, गोबर ग्यास प्लाण्ट, प्रदुषणरहित सवारी साधन र सोसँग सम्बन्धित परियोजनामा कर्जा लगानी बढाउनु पर्दछ । विशेषगरी बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीमा दक्षता, प्रभावकारिता, मितव्ययिता र नैतिक आचरणको विकास भएमा एकातर्फ ग्रीन बैंकिङको अवधारणालाई सफल बनाउन र विस्तार गर्न सकिने देखिन्छ भने अर्कोतर्फ संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत सफल बनाउन सकिन्छ । जसबाट हाल बैङ्किङ क्षेत्रप्रति देखिएको अफवाह र अविश्वासको वातावरणलाई समेत नियन्त्रण गरी दिगो बैंकिङको अवधारणा अगाडि बढाउन सकिने कुरामा कसैको बिमति नरहला ।
(लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।)
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies