पिन्टु यादव/मध्यान्ह
सप्तरी : समाज अहिलेसम्म अन्धविश्वासबाट मुक्त हुन सकेको छैन । धामीझाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक र बोक्सा बोक्सीजस्ता अन्धविश्वासले अमानवीय क्रियाकलाप भइरहेका घटनाहरु सार्वजनिक भइरहेका छन् । यसैबीच सप्तरीमा एक परिवार अन्धविश्वासको शिकार भएका छन् ।
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका–७ मंसापुर बस्ने ६० वर्षीया श्यामादेवी मण्डललाई बोक्सीको लाञ्छना लागउँदै अपमानजनक व्यवहारका साथै कुटपिट भएको छ । सोही ठाउँ बस्ने जिबछ मण्डलका छोरा सन्तोष मण्डललगायत उनका पारिवारका सदस्यहरुले श्यामादेवीमाथि बोक्सीको लाञ्छना लगाउँदै उनीसहित उनका ३० वर्षीय छोरा डम्बरराज मण्डलमाथि हातपात र गाली बेइज्जती गरेका हुन् ।
हातपात गर्नेहरुको मुक्का प्रहारबाट घाइते आमा र छोराको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । मिथिला क्षेत्रमा मनाइने जितीया पर्वको बेला मेला घुम्न गएकी आरोपित जिबछकी बुहारीलाई बोक्सी लगाइदिएको आरोप लगाउँदै शनिबार बिहान आफूहरुमाथि मुक्कामुक्की र गाली बेइज्जती भएको पीडित श्यामादेवीले बताइन् ।
जितिया पर्वदेखि नै बोक्सी लगाएको आरोप लगाएर आमालाई राखी पटक–पटक प्रताडित र अपमानित गरिरहेको भएता पनि शनिबार उनीहरुले भौतिकरुपमै आक्रमण गरेको डम्बरराजले बताए । किराना समान खरिद गर्न पसल जाँदै गरेको बेलामा आरोपितहरुले घेरा हाली आमाको बारेमा अपमानजनक शब्दहरु प्रयोग गरेपछि प्रतिवाद गर्दा उनीहरुमाथि हातपात भएको बताइएको छ ।
करिब दश वर्षदेखि आमा श्यामादेवीमाथि बोक्सी भनि छिमेकीहरुले आरोप लगाउँदै आएको डम्बरराजले गुनासो गरेका छन् । यस घटनाबारे स्थानीयहरुसँग बुझ्दा हातपात र गाली बेइज्जतीमात्रै भएको बताएका छन् । स्थानीयहरुले बोक्सीको आरोप लगाइएको भन्ने आरोपमा सत्यता नरहेको बताएका छन् । तर डम्बरराजले बोक्सीको आरोपमा आमासहित आफूलाई हातपात र अपमानजनक व्यवहार गर्दै मुक्का प्रहार गरेको भिडियो सुरक्षित राखेको बताएका छन् ।
उक्त घटनालगत्तै प्रहरी चौकी बर्साइनमा मौखिक जानकारी दिएको उनले बताए । त्यस्तै शनिबार जिल्ला प्रहरी कार्यालय राजविराजमा घाउँ जाँच फारमका लागि निवेदन दिएको पनि उनले बताए । उक्त निवेदनमा भने बोक्सीको आरोप लगाइएको उल्लेख गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालय राजविराजका प्रहरी निरीक्षक प्रमोद खड्काका अनुसार प्रहरीमा बोक्सी आरोपमा हातपात भनेर सूचना नआएको बताएका छन् । उनले दुई पक्षबीच हातपात र झैझगडा भनेर पीडितको निवेदन आएको बताए ।
नेपालमा बोक्सीको आरोपसम्बन्धी कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा कुनै व्यक्तिलाई बोक्सा वा बोक्सीको आरोप लगाउने, आरोपित व्यक्तिलाई क्रुर, अमानवीय वा अपमानजनक व्यवहार गर्ने वा कुनै किसिमले यातना दिनेजस्ता अमानवीय कार्यलाई दण्डनीय मानेको छ । त्यस्तो आरोपमा कसुर ठहरिएका व्यक्तिलाई कसुरको मात्रा हेरी ६ महिनादेखी पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ भने पाँच हजारदेखि एक लाखसम्म जरिवाना तिराउने व्यवस्था रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies