प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका ६ वटा स्थानीय तहमा पालिका इन्चार्जहरुको हेरफेर भएको छ । केही साताअघि पार्टीको कर्णाली प्रदेश समितिको विस्तारित बैठकले जिल्लाका पालिका समितिका इन्चार्जहरु हेरफेर गर्ने निर्णय गरेको हो । जसअनुसार केही पालिकामा नयाँलाई इन्चार्जको जीम्मेवारी दिइएको छ भने केही पालिकामा पुरानैलाई निरन्तरता दिइएको माओवादी केन्द्र कर्णाली प्रदेशले बताएको छ ।
मुसिकोट नगरपालिकामा देवीलाल गौतम, आठविसकोट नगरपालिकामा गोर्खबहादुर केसी र चौरजहारी नगरपालिकामा रिखीप्रसाद शर्मालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै सानीभेरी गाउँपालिकामा धनवीर ओली, बाँफिकोट गाउँपालिकामा धर्मबहादुर केसी र त्रिवेणी गाउँपालिकामा झक्कुप्रसाद घर्तीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । गौतम पार्टीको केन्द्रीय निर्वाचन आयोगका सदस्य हुन् भने अन्य केन्द्रीय समितिका सदस्य हुन् । यसअघि मुसिकोट नगरपालिकामा जयबहादुर पाण्डे र चौरजहारी नगरपालिकामा वीरेन्द्र बुढा पालिका इन्चार्जको जिम्मेवारीमा थिए ।
यसअघि केही पालिका इन्चार्जहरुको जिम्मेवारी पार्टीको प्रदेश समितिका सदस्यहरुलाई दिइएकोमा यसपटक सबै पालिकाहरुमा केन्द्रीय समिति तथा केन्द्रीय निकायका सदस्यहरुलाई नै इन्चार्जको रुपमा जिम्मेवारी दिइएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक सचिन रोकाले जानकारी दिए । उनका अनुसार प्रदेश समितिले गरेको निर्णय सबै तहमा सर्कुलरसमेत भइसकेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies