शिव विक/मध्यान्ह
काठमाडौं : कोशी प्रदेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गत २७ असोजमा केदार कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा एमाले १८ कात्तिकमा सरकारबाट बाहिरिएको थियो । तर समर्थन फिर्ता लिएको थिएन ।
सोमबार माओवादी केन्द्रसँगै एमालेले पनि कोशी प्रदेश सरकारलाई समर्थन फिर्ता लिएको छ । यो सँगै मुख्यमन्त्री कार्की अल्पमतमा परेका छन् ।
अन्तिम विकल्पमा सरकार बनाएका मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेसँगै कोशी प्रदेशमा मध्यावधि कि नयाँ सरकार ? भन्ने प्रश्न छ । यही बेला बहुमत सदस्यले नयाँ सरकारका लागि दाबी प्रस्तुत गरेका छन् । एमाले र माओवादीका ५३ जना सांसदले हस्ताक्षर सहित नयाँ सरकारका लागि दाबी पेश गरेका छन् । उनीहरुले नयाँ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई अघि सारेका छन् ।
मुख्यमन्त्री कार्की भने आफू सरकार बन्ने संविधानको प्रावधान अनुसार अन्तिम विकल्पबाट मुख्यमन्त्री बनेको बताउँदै राजीनामा पनि नदिने, विश्वासको मत पनि नलिने अडानमा छन् । सरकार छाड्नु परे प्रदेशसभा विघटन गरिदिने उनको चेतावनी छ ।
कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका हुन् ।
एमाले र माओवादीले अल्पमतमा परेका मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् । मुख्यमन्त्री कार्की कुनै हालतमा विश्वासको मत नलिने बताइरहेका छन् ।
मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिइसकेपछि माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने मुख्यमन्त्री कार्कीले राजीनामा दिने विश्वास व्यक्त गरे ।
‘उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ भन्ने विश्वास छ । कांग्रेस जस्तो लोकतन्त्र, प्रजातन्त्र र संसदीय व्यवस्थाको मूल्य मान्यता बोकेको पार्टीको मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नु नै उपयुक्त बाटो हो’ उनले पत्रकारहरुसित भनेका छन् ।
आङ्बोले मुख्यमन्त्रीले राजीनामा नदिएको खण्डमा त्यसपछि नै कदम चाल्ने बताए । उनी प्रश्न गर्छन, ‘त्यति गर्दा पनि उहाँले राजीनामा दिनुभएन भने हामी देशलाई, प्रदेशलाई, विदेशलाई देखाउँछौँ । अदालतलाई भन्छौँ, विपक्षमा बहुमत रहेको देखिँदादेखिँदै उहाँले के जवाफ दिनुहोला ?’
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies