लालबाबु बानिया/मध्यान्ह
पर्सा : पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ३ ठूलो गुलरियामा सोमबार राति आगलागी हुँदा चार वटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगालगीले स्थानीय राजेन्द्र कुर्मी, फरिन्द्र कुर्मी, रविन्द्र पटेल र मनिफ मियाँको घर पूर्णरुपमा जलेर नष्ट हुँदा लाखौंको क्षति भएको इलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायव निरीक्षक ताेजेन्द्र बिसीले जानकारी दिए ।
विद्युतको तार सट भएर आगलगी भएको हो । आगलागीमा मानवीय क्षति भने नभएको स्थानीय केदार पाण्डेले बताए । आगलगीबाट चार वटा फुसको घरसहित घरमा रहेका फर्निचर, लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न, नगद, गरगहना, घरका कागजपत्र, साइकल जलेर नष्ट हुनुका साथै ३ वटा बाख्रा पनि मरेको प्रहरीले बताएको छ । आगलागीबाट करिब २५ लाख रुपैयाँ मूल्य बराबरकाे क्षति भएकाे प्रहरीले जनाएको छ ।
आगलागी हुँदा चार वटै घरमा भएका ग्यास सिलिण्डर विस्फोट भएपछि स्थानीयहरुको भगाभाग भएको थियो । पाेखरिया नगरपालिका, वीरगञ्ज महानगरपालिका र श्रीपुरबाट पुगेकाे ३ वटा दमकलसहित स्थानीयको सहयोगमा आगाे नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरसहित सबै सामान जलेर नष्ट भएपछि पीडितहरुले सहयोगको अपिल पनि गरेका छन् ।
इदका लागि किनेका सबै सामग्री नष्ट
यस्तै पीडित मनिफ मियाँले आगलागीबाट मुस्लिमहरुको महान पर्व इदका लागि खरिद गरिएको सामानहरु जलेर नष्ट भएको बताएका छन् । इद पर्वका लागि आफू र आफ्नो श्रीमानसहित दुई छोरी, दुई छोरा तथा सासु ससुराका लागि खरिद गरेको सबै लत्ता कपडा र सुन चाँदीका गरगहना जलेर नष्ट भएको मनिफकी श्रीमती फुलगेनिया खातुनले बताइन् । आगलागीले आफ्नो परिवारको बिचल्ली भएको बताउँदै उनले इद मनाउन पनि आफूहरुसँग अब केही नभएको दुखेसो गरिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies