–कृष्ण पौडेल
नेपालको राजनीतिमा पारिवारिक विरासत नयाँ होइन । चाहे त्यो कृष्णप्रसाद कोइरालाका परिवारको प्रभुत्व होस्, चाहे त्यो प्रकाशमान सिंह । सीमित राजनीतिज्ञहरूले मात्र आफ्नो पारिवारिक विरासतको विस्थापन गरिरहेका छन् । बाँकीले आफ्नै सन्तति नेपालको राजनीतिमा माथिल्लो तहमा रहिरहुन र नियन्त्रण गरिरहुन् भन्ने चाहन्थे ।
कुनै एक जना राजनीतिक विश्लेषकले भन्ने गर्थे, “यदि अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहाल बाँचिरहेका हुन्थे भने अहिलेको व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र होइन, प्रकाश दाहाल गणतन्त्र भइसक्ने थियो ।”
अहिले प्रचण्डका छोराले होइन, छोरी गङ्गा दाहालले देश हाँकिरहेकी छन् भन्दा फरक नपर्ला । देशका व्यापारी, उद्योगीसँग उनको सबैभन्दा राम्रो सम्बन्ध छ । देशको ७० प्रतिशत अर्थतन्त्र हाँक्ने निजी क्षेत्रसँग त्यति राम्रो सम्बन्ध भएपछि गङ्गा दाहालले अर्थतन्त्रमा योगदान पुर्याएकै होलिन् भन्न मिल्छ ।
यतिबेला बैंकमा पैसा थुप्रिएको छ । ऋण लिने कोही भेटिन्नन् । व्यवसायीको मनोबल खस्केको छ । काठमाडौंको गल्ली गल्लीमा भाडामा सटर भेटिन्छन् । पोखरा, विराटनगर जस्ता अन्य ठूला शहरमा पनि काठमाडौंकै हालत छ ।
सरकारी तथ्यांकले भन्छ– गत वर्ष मात्र दुई लाख जनाले देश नफर्किने गरी भिसा लिए । फर्कने गरी भिसा लिएर विदेश गएकाले पनि उतैबाट नफर्कने गरी प्रक्रिया शुरू गरिरहेका छन् । जस्तै दुबई गएकाहरूले उतैबाट क्यानडाको लागि प्रोसेस गर्छन् । समग्रमा आजको राजनीतिको कुरा गरिरहँदा न्यायालयको विवाद, सत्ताधारी र प्रतिपक्षबीचमा हुने मनमुटाव अनि जुहारीबीच लोकतन्त्र र संघीय पद्धति पश्चातको राजनीतिमा पनि निष्ठा र न्यायको खडेरी कायमै छ । यही खडेरीका कारण अर्थतन्त्र तंग्रिन सकेको छैन । युवाको विदेश पलायनको तथ्यांक भयावह छ ।
सबै पार्टीको नेतृत्व तहमा गुलामी सोच र चाकडी पद्धति लठिबज्र छ । परिवर्तनको नाम जप्नेहरू नै पनि स्खलित छन् । नयाँ पार्टी जन्माएका पनि आलोचना र तुच्छ गालीमा लिप्त छन् । समालोचना गरेर आफूलाई सुधार्ने नीति र व्यवहार दुवै कुरा पटक्कै देखिन्न । निष्ठाको अभावमा वर्तमान राजनीति साँच्चै विसंगत छ । यस कुरामा आममानिसले मिहीन ढंगले विश्लेषण गर्नु अत्यावश्यक छ । अबको चुनावमा असल नेताको पहिचान नगरेमा हामी उही उल्टो दिशामा प्रताडित भइरहनेछौं । यो पनि निश्चित छ ।
अब प्रश्न उठ्छ, राजतन्त्र किन चाहियो त ? राजा ज्ञानेन्द्रले शासन सत्ता सुरु गर्ने बित्तिकै राजतन्त्रै फाल्ने कुरा चलेको थिएन । तर जब उनले शक्ति र सत्ता आफूमा केन्द्रित गर्दै गए तब मात्र राजतन्त्र विवादमा आएको थियो, गणतन्त्रको नारा लाग्न थालेको थियो ।
आज त्यही इतिहास दोहोरिन थालेको देखिन्छ । गणतन्त्र आएपछि जति पनि राष्ट्रपति बनेका छन्, उनीहरूको कार्यशैली जनतालाई पटक्कै मन परेको छैन । दलबाट जति पनि प्रधानमन्त्री बनेका छन्, उनीहरूको कार्यशैलीबाट जनताले सोचेजति मात्र होइन, कत्ति पनि प्राप्त गरेका छैनन् । भ्रष्टाचार धरहराभन्दा अग्लो स्वरूपमा ठडिएको छ । सत्ता र शक्ति सदुपयोग गर्न सकियो भने समस्या बन्दैन तर जब यसको दुरुपयोग हुन थाल्छ तब यो चुनौती बन्न थाल्छ । आजको स्थिति यस्तै देखिएको छ ।
२०४६ सालमा पञ्चायत व्यवस्था फाल्ने आन्दोलन भएको थियो । त्यस बेला राजतन्त्रलाई नै आघात पुर्याउने आन्दोलनको लक्ष्य थिएन । पञ्चायती व्यवस्था गयो अर्थात् राजाको सोझो नेतृत्व समाप्त भयो तर, राजतन्त्र कायमै रह्यो । २०६३ सालको जनआन्दोलनले भने राजतन्त्रलाई नै आघात पुर्यायो । त्यस बेला राजनीतिक व्यवस्था नै राजासित गाँसिन गयो । आज पुनः त्यही अवस्था देखिएको छ । आज नेताहरूलाई हटाउ भनेर कसैले भन्न सक्दैन किनभने गणतन्त्रका हाँगाबिँगाहरू यिनै नेताहरूसँग जोडिएको छ । त्यसैले व्यवस्था हटाएर भ्रष्ट नेताहरूलाई कारवाहीको दायरामा ल्याउनु उत्तम उपाय देखिएको छ ।
गणतन्त्रवादी दलहरूका कारण देशको अस्तित्व नै खतरामा पर्न लाग्नु नै राजा आउनुपर्ने एउटा सुनौलो कारण हो । हुन त यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वयम् राष्ट्रिय एकता खलबलिन लागेको भन्दै चिन्ता व्यक्त गरेकी थिइन् । नेपाली सेना राष्ट्रिय अखण्डतालाई लिएर सचेत र सतर्क भइरहन्छ । जान्नेसुन्ने मानिस पनि नेपालको अस्मिता मात्र होइन, अस्तित्व नै समाप्त हुन लाग्यो भन्दै खबरदारी गरिरहेका छन् । यसैबाट त्राण पाउन सकिन्छ कि भनेर राजसंस्था र हिन्दु राज्यको पुनःस्थापनाको आह्वान भइरहेको हो ।
राजसंस्थाका केही यस्ता गुण छन्, जुन नेपालजस्तो सानो र ठूला छिमेकी मुलुकहरूले घेरिएको देशलाई काम लाग्छन् । राजसंस्था राष्ट्रिय एकताको प्रतीक हुन्छ । नेपाललाई एक स्वतन्त्र मुलुकका रूपमा व्यवहार नगर्ने चेष्टा भएको देखिएकै हो । यस्तो खेल खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पाइन्छ । राजतन्त्रले छिमेकी र विदेशीहरूको निर्देशन लागू र मनोमानी हुन दिएन भनेर राजा वीरेन्द्रको परिवारै हत्या गरिएको तथा मदन भण्डारीजस्ता नेताको अन्त्य गराइएको आदि शंका र विश्वास गरिन्छ ।
यसबाट के स्पष्ट हुन्छ भने नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व बचाउन एउटा राष्ट्रिय प्रतीक आवश्यक छ र ९० प्रतिशतको हाराहारीमा रहेको हिन्दु जनसंख्यालाई अपनत्व दिने धार्मिक स्वतन्त्रतासहितको हिन्दु राज्यलाई स्थापनाको तर्कमा बल पुगेको छ । कतिपयले नेपालमा हिन्दु राज्य र राजतन्त्रात्मक व्यवस्था ल्याउन भारतको साथ समर्थन चाहिने तर्क गर्ने गरेका छन् । निश्चय नै व्यवस्था परिवर्तनको सन्दर्भमा छिमेकी देशको साथ र सहयोग आवश्यक पर्छ नै । तर, जसरी जालझेल पूर्ण तरिकाले नेपालमा गणतन्त्र र धर्मनिरपेक्षता स्थापना गरियो, त्यो जालझेल चिर्न नेपाली जनता नै काफी छन् ।
भारतमा आगामी चुनावमा भारतीय जनता पार्टीकै दबदबा हुने सुनिश्चित जस्तै देखिन्छ । भारतमा बढ्दो हिन्दूवादी रुझानसँग सन्तुलन गर्न पनि नेपालले धर्मका सन्दर्भमा कुनै न कुनै कदम चाल्नुपर्ने नै देखिन्छ । जसरी राजावादी र हिन्दुवादीलाई भारतीय इसारामा चलेको भनी आरोप लाग्ने गर्छ, आरोप लगाउनेहरू अहिलेको हस्तक्षेपका मतियार रहेको स्पष्ट देख्न सकिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies