काठमाडौं : सञ्चालनमा आएको तीन महिनामै समय टिभी सम्मानित भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स(एआई)मार्फत नेपाली भाषामा भिडियो समाचार नियमित प्रसारण गर्ने नेपालको पहिलो अनलाइन टिभीको रुपमा समय टिभीलाई सम्मान गरिएको हो ।
फेसबुकमार्फत सञ्चालन हुँदै आएको यस समय टिभीले नयाँ प्रविधिको प्रयोग गरी पत्रकारितालाई नयाँ आयाम दिने अभ्यास शुरु गरेको सम्मान पत्रमा लेखिएको छ । एआईबाट समाचार वाचन गराउने समय टिभीको अभ्यास आफैंमा उच्च प्रविधि र अति नविन प्रयोग भएकाले ‘राष्ट्रिय डिजिटल मिडिया अवार्ड २०८०’ अन्तर्गत डिजिटल मिडिया इन्नोभेटिभ अवार्ड समय टिभीलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।
आयोजक संस्था न्यूज एक्सप्रेस मिडिया प्रा.लि.का अध्यक्ष मिलनसिं परियार, प्रतिनिधि सभाकी उपसभामुख इन्दीरा राना, सांसद डा.चन्द्र भण्डारी, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी लगायतले समय टिभीका भिडियो सम्पादक दीपक श्रेष्ठलाई अवार्ड प्रदान गरेका थिए ।
सो अवसरमा ९६ वर्षका जेष्ठ पत्रकार भैरव रिसाललाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो भने खवरहवका प्रधान सम्पादक अरुण बराललाई डिजिटल मिडिया एडिटर अवार्ड, प्राइम टाइम टिभीका अध्यक्ष तथा जनता जान्न चाहन्छन कार्यक्रमका प्रस्तोता ऋषि धमलालाई डिजिटल मिडिया पोपुलर प्रोग्राम अवार्ड, सिधा कुरा जनतासँगका प्रस्तोता विरेन्द्र जैरुलाई जनआवाज डिजिटल मिडिया अवार्ड प्रदान गरिएको छ ।
यस्तै नागरिक दैनिकमा आर्थिक ब्यूरो प्रमुख दिलीप पौडेललाई सशक्त पत्रकारिता अवार्ड, उकालो अनलाइनकी दिपा दाहाललाई जोखिमपूर्ण पत्रकारिता अवार्ड, रजतपट टिभी कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीलाई बरिष्ठ रंग पत्रकारिता अवार्ड, चुरोकुरो अनलाइन टिभीका उमेश सुवेदीलाई डिजिटल मिडिया इथिकल अवार्ड, योहो टिभीका सन्तोष विके थापालाई डिजिटल मिडिया स्कृप्ट अवार्ड र अनलाइन टिभी नेपालका नवीन गिरीलाई उत्कृष्ट डिजिटल मिडिया अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा डिजिटल मिडियामा राम्रा काम गर्ने कुल २५ सञ्चारकर्मी र केही समाजसेवीहरुलाई पनि सम्मान गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies