लेखनाथ सिकारु/मध्यान्ह
पाँचथर : लिम्बू जातिहरुको सर्वाेच्च संस्था किरात याक्थुङ चुम्लुङ पाँचथरले विद्यालय, नवनिर्मित सडक, सामुदायिक वन, संघसंस्था आदिको नाम रैथाने भाषा, संस्कृति र स्थानीय युगपुरुषहरुको नामबाट नामाकरण गराउन अभियान सञ्चालन गर्ने भएको छ । १३ बुँदे फिदिम घोषणापत्र जारी गर्दै चुम्लुङले भाबी योजनाका बारेमा जानकारी गराएको हो ।
चैत २३ र २४ गते फिदिममा सम्पन्न ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिले फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले गर्ने आगामी कार्यक्रम तथा प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा ताप्लेजुङ जिल्लामा अवस्थित याक्थुङ आदिवासीहरुको परम्परागत सांस्कृतिक आध्यात्मिक पवित्रस्थल सेमुक्तु मुक्तुबुङ, मुक्कुमलुङ अतिक्रमण गरी पाथिभरा बनाइएको र हाम्रो सांस्कृतिक धरोहरलाई दलाल पूँजीपतिहरुको व्यापारिक केन्द्र बनाइ निजी बनाउने नियतका साथ केबलकार निर्माण गरी धार्मिक स्थलमाथि हस्तक्षेप गर्ने कुचेष्टा गरिएकोमा घोर भत्र्सना गर्दै त्यसविरुद्धको आन्दोलनमा ऐक्यबद्धतासहित जस्तोसुकै कदम उठाउन पान्थर जिल्ला तत्पर रहेको भनिएको छ ।
यस्तै याक्थुम (लिम्बू) भाषालाई प्रदेश लगायत पान्थरका सबै स्थानीय तहमा सरकारी कामकाजको भाषा मान्यता दिन सशक्त पहल गर्ने, मातृभाषा शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन शिक्षक दरबन्दी सृजना गरी पदपूर्ती गर्ने, अन्य सेवा सुविधाको व्यवस्था गर्न सबै पालिकामा दबाबमूलक अभियान संचालन गर्ने उल्लेख गरिएको छ ।
यस्तै विधि, प्रकृया र लोकतान्त्रिक पद्दती मिचेर २०७९ फागनु १७ गते गैरसरकारी विधेयक पेश गरी चोरी दाउमा पास गरिएको कोशी प्रदेश नाम खारेज गरी ऐतिहासिक पहिचानजनित भौगोलिक नामका आधारमा लिम्बुवान किरात प्रदेश पुनः नामांकन गर्न, गराउन आन्दोलनमा सशक्त सहभागिता जनाउने प्रतिबद्धता जाहेर समेत गरिएको छ ।
जिल्लाका सबै अतिक्रमित रैथाने स्थाननाम, ऐतिहासिक, धार्मिक, साँस्कृतिक स्थलका नामहरुलाई सच्याई पुनःस्थापना गर्न र उपनिवेशिकरण हुनबाट संरक्षण गर्न अभियान संचालन गरिने, समुदायमा निहीत रैथाने मौलिक ज्ञान, सीप र प्रविधिको संरक्षण र प्रवर्द्धनका लागि विशेष कार्यहरु गरिने घोषणा पत्रमा उल्लेख छ ।
विद्यालय, नवनिर्मित सडक, सामुदायिक वन, संघ संस्था आदिको नाम रैथाने भाषा, सँस्कृति र स्थानीय युगपुरुषहरुको नामबाट नामाकरण गर्ने गराउने अभियान संचालन गरिने, युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्दै उद्यमशील बन्न, उद्यम गर्न र आत्मनिर्भर तथा स्वावलम्बी हुन अभिप्रेरित गर्न कार्यक्रमहरु सञ्चालन गरिने, उद्यमशीलताको माध्यमबाट समृद्धिको यात्रा तर्फ लम्किन अभिप्रेरित गरिने उल्लेख गरिएको छ ।
बालबालिका, बृद्ध तथा भिन्न क्षमताका व्यक्तिहरु लक्षित कार्यक्रमहरु सञ्चालन गरिने, विभिन्न पेशागत संघ संगठनहरु गठन गरी समुदायको हितमा उपयोग गर्न र अरुलाई अभिप्रेरित गर्न गराउन कार्यक्रमहरु सञ्चालन गरिने र यी संगठनको माध्यमबाट मुलुक र मुलुकबासीको हित र राष्ट्रनिर्माणको लागि योगदान दिन अभिप्रेरित गरिने उल्लेख गरिएको छ । याक्थुङ प्राज्ञिक संघ गठन गरी ज्ञान निर्माण तथा विस्तार गर्न विशेष कार्यक्रमहरु सञ्चालन गरिने, याक्थुम शिक्षक संघ, याक्थुङ व्यवसायी संघ जस्ता संस्थाहरूको स्थापना गरिने र याक्थुङ समुदायमा बढ्दो भड्किलो संस्कृतिलाई न्यूनिकरण गराई मौलिक परम्परा अनुसार निरन्तरता दिने घोषणापत्रमा उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies