ओबराज शाही/मध्यान्ह
हुम्ला : दुई दिनदेखि उडान नभर्दा हुम्लाको सिमकोट विमानस्थल सुनसान बनेको छ । निजी हवाई जहाज काठमाडौं केन्द्रित हुन थालेपछि सिमकोट विमानस्थल दुई दिनदेखि सुनसान बनेको हो । निजी एयरलाइन्स सिता, तारा काठमाडौं केन्द्रित भएका छन् भने समिट एयरलाइन्स धनगढीमा टेक्निकल समस्या भएपछि सिमकोट उडान हुन नसकेको हो ।
हवाई सेवा सुचारु नहुँदा जिल्ला बाहिर पाँच दिनदेखि सिमकोट विमानस्थल नजिकै होटलमा बस्दै आएका प्रेम शाहीले भने, ‘हवाई जहाज आउँदैनन् । पाँच दिनसम्म होटलमा बस्दा धेरै खर्च भो ।’ सय जना भन्दा बढी यात्रु आफू जस्तै समस्यामा परेको उनले बताए ।
अस्पतालबाट रिफर गरेका बिरामी पनि जहाजले नियमित उडान नगर्दा उपचार बिनै बस्नु परेको देखिन्छ । जिल्लामा विभिन्न सरकारी कार्यालयमा भर्खरै लोक सेवा आयोगबाट नाम निकालेका कर्मचारीहरु पनि जिल्लामा हवाई सेवा सुचारु नहुँदा नेपालगञ्ज र सुर्खेतमै रोकिएका छन् ।
त्यस्तै दैनिक उपभोग हुने माछा मासु, तरकारी, फलफूल लगायतका बस्तुको बजारमा अभाव भएको छ । निर्माण सामग्री पनि हवाई सुचारु नहुँदा रोकिएको देखिन्छ । अहिले सम्म पनि राष्ट्रिय सडक सञ्जालले छुन नसकेको एक मात्र सदरमुकाम सिमकोटमा यातायातको साधन हवाई जहाज भएपछि नियमित उडान नहुँदा यात्रु मर्कामा पर्दै आएका छन् । जिल्लामा केही दिन अगाडिसम्म थोरै मात्रामा उडान भएको भएपनि अहिले विमानस्थल सुनसान भएको देखिन्छ ।
जिल्लाको तल्लो क्षेत्रमा सडक सञ्जालले छोएको भएपनि माथिल्लो क्षेत्रमा सडकले नछुनु र हवाई उडान नहुँदा यात्रा गर्न यात्रु सिमकोट विमानस्थल, सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका छन् । सिमकोट विमानस्थलका लागि सीता ,तारा , समिट र नेपाल एयरलाइन्सले उडान भर्दै आएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies