-सुवास शर्मा
हुमकला पाण्डे । पछिल्ला केही वर्षयता विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी भएपछि यो नाम चर्चामा छ । सामान्य जिवनशैली र बोल्ड डिसिजन गर्न सक्ने क्षमताकी हुमकलाको जिवन बाहिरबाट हेर्दा निकै सजिलो देखिन्छ । तर, शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकी हुमकलाले यहाँसम्म आइपुग्न गरेका संघर्षको फेहरिस्त लामो छ ।
निजामती सेवामै झण्डै दुइ दशक पुग्न लागेकी हुमकला ४० को दशक मध्यतिर अर्घाखाँचीको छत्रदेव साविक भगवती गाउँमा जन्मिइन् । परिवारमै पहिलो छोरी र तीन दाजुभाइकी पहिलो बहिनीको आगमनले पाण्डे परिवारमा खुशी छायो । बुवाको सानोतिनो ब्यापार र आमाको खेती किसानीसँगै हुर्किइन् हुमकला । खान लाउन त्यति दुःख थिएन । परिवारमा शिक्षाको चेतना थियो । गाउँमा पनि छोरीहरू पनि पढ्नुपर्छ भन्ने लहर चलकै थियो । हुमकला गाउँकै विद्यालयमा भर्ना भइन् ।
आफुले पढ्न नपाए पनि छोरीको पढाइ बिग्रएला कि भन्नेमा हुमकलाकी आमा निकै सचेत थिइन् । कहिले स्कूल छुट्न दिन्थिनन् । आमाको त्यही मिहेनेतले हुमकला प्रथम हुँदै चर्चा पाउन थालिन् । आमाको त्यो योगदानप्रति हुमकला नतमस्तक छिन् । उनी भन्छिन्, ‘आमाले आफूले पढ्न नपाए पनि छोरा छोरी पढाउनु पर्छ भन्नेमा सचेत हुनुहुन्थ्यो । मेरो पढाइबारे पनि सधैं ख्याल गर्नुहुन्थ्यो । आमाको त्यो हौसला बर्णन गर्ने शब्द मसँग छैन ।’
छोरीहरू बिद्यालय पढाउने चलन बढ्दै गए पनि त्यो बेला पढाइ पुरा नहुँदै बिहे गर्ने चलन पनि गाउँघरमा उस्तै थियो । एसएलसी सकेपछि ५० दशक मध्यतिर पुग्दा हुमकलाका दौतरीहरूको पनि धमाधम बिहे हुन थाल्यो । एकाँधबाहेक अधिकांशको बिवाह भयो ।
२०५१ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेकी हुमकलालाई भने परिवारले ढेड घण्टा पैद हिड्नुपर्ने टाढाको गुल्मीको क्याम्पसमा आइए पढ्न पठायो । हुमकलाले त्यो समय यसरी सम्झिइन्, ‘परिवारले मेरा लागि धेरै सोचे । गुल्मीको सिमाना भएकाले आइए पढ्न चाहिँ गुल्मीमा आउन सजिलो हुन्थ्यो । मलाई पढ्न पठाए । मैले पनि कलेज टप गरेँ ।’
सधैं प्रथम हुन थालेपनि हुमकला र परिवार हौसिदै गए । काठमाडौंमा भएका उनका दाइले बिए पढ्न काठमाडौं नै ल्याए । काठमाडौं आएपछि निजी बिद्यालयमा पढाउँदै महेन्द्ररत्न क्याम्पस ताहाचलमा ब्याचलर गरेकी हुमकला त्यहाँ पनि अब्बल देखिइन् ।
मास्टर्स पढ्न त्रिचन्द्र क्याम्पस भर्ना भएपछि हुमकलाले २०५८ सालमा परिवारको सल्लाहमा गुल्मी मदानेका यमलाल भुषालसँग मागी विवाह गरिन् । विवाहसँगै हुमकलाका लागि निजामती सेवा प्रवेशको ढोका खुल्ला भयो । उनका श्रीमान पहिलेदेखि नै निजामती सेवा थिए । श्रीमान मात्रै होइन उनको बिवाह भएको गाउँ नै निजामती सेवामा थियो । अर्थात् गाउँ अधिकांश मानिस निजामती सेवामा थिए ।
उनका ससुराले पनि बुहारी निजामती सेवामै होस् भन्ने चाहना राखे । श्रीमान त आफै निजामतीमै थिए सँगै नहोस् भनेर सोच्ने कुरै भएन । क्याम्पस पढाउदै गरेकी हुमकलाका लागि त्यो अवस्था हौसला र दबाब दुइटै भयो । उनी भन्छिन्, ‘मास्टर्स सक्नेवित्तिकै २०६० सालमा मेरो छोरा जन्मियो । परिवारले निजामतीमै जाओस् भन्ने चाहना राखेपछि छोरो हुर्काउँदै मैले निजामती पढे । दुःख पनि भयो । पारिवारिक सहयोगले सजिलै पनि भयो । २०६३ मा शाखा अधिकृतमा नाम निकालेँ ।’
हुमकलाले निजामती सेवाको दुइ वर्षपछि २०६५ मा छोरी जन्माइन् । त्यसपछिका केही वर्ष बच्चा हुर्काउनुपर्दा उनलाई सकस त भयो तर, परिवारको सहयोगले पेशा र परिवार सँगै अघि बढाउन उनलाई सजिलो भयो ।
श्रीमान र परिवारको उच्च साथले आन्तरिक बढुका लागि पनि भिड्दै अघि बढेकी हुमकला २०७५ साल जेठमा सहसचिव भइन् । सहसचिवमा बढुवा भएको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगालमा थिइन् हुमकला । लगत्तै नेपाल सरकारले अख्तियारको बाग्मति प्रदेशमा कार्यालय हेटौडाको कार्यालय प्रमुख जिम्मेवारी हुमकलाले पाइन् । नेपाली निजामती सेवामा नेतृत्वको अनुभव उनले त्यही जिम्मेवारीबाट बटुलिन् ।
करियरको टर्निङ पोइन्टका रुपमा आएको त्यो अवस्थालाई हुमकला यसरी ब्याख्या गर्छिन्, ‘त्यो पहिलो जिम्मेवारीले कार्यालय प्रमुख हुँदामा अनुभव बटुल्ने मौका पाएँ । त्यसपछि नेपाल सरकारले विश्वास गर्दै मलाई भक्तपूर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दियो । कोरोना महामारीको समय त्यो समयमा प्रशासन प्रमुख हुँदा धेरै जिम्मेवारी निभाउनुप¥यो । त्यतिबेला क्वारेन्टाइनको सुरुवात नै हामीले गरेका थियौं । कोरोना महामारीले मृत्यु भएकाहरूको रेस्क्युको सरुवात पनि हामीले गरेका हौं । त्यो कार्यकाल निकै सफल भएको महशुस मैले गरेँ ।’
भक्तपूरको सफल कार्यकालले हुमकलालाई काभ्रेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिलायो । पछिल्लो स्थानीय तहको निर्वाचन २०७९ ताका काभ्रेको सिडिओ भएकी हुमकलाले निार्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलिन् । दुइ जिल्लाको सिडिओ हुँदाको काम प्रभावकारी भएपछि सरकारले हुमकलालाई झन विश्वास गर्दै सुरक्षा चुनौती बढी भएको जिल्ला सुनसरीमा खटायो । गत भदौमा धरानमा भएको धार्मिक द्वन्द्व ब्यवस्थापन गर्न पनि सफल भएपछि हुमकलाको चर्चा निकै बढ्यो ।
यतिबेला हुमकला बाग्मति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सचिवको जिम्मेवारीमा छिन् ।
पढाइ, करियर र घरपरिवारलाई एकसाथ अघि बढाइरहेकी हुमकलालाई हिम्मत भयो भने कयौं चुनौतीहरू सामना गर्न सकिने बताउँछिन् । नेपालको समाजको चरित्रले महिलकलाई पटपटक परीक्षा भने दिरहनुपर्ने अवस्था रहेको उनको बुझाइ छ ।
‘हाम्रो स्कूलिङ नै पित्रिसत्तात्मक छ । महिला नेतृत्वलाई स्वीकार्न असजिलो हुन्छ । किनभने ५० वर्ष पुरुष मात्रै भएको ठाउँ नयाँ महिला देख्दा मानिसलाई असहज हुन्छ नै । यसको परिणम महिलासँग क्षमता हुँदाहुँदै पनि यो समयमा हामी महिलाहरू परीक्षणको क्रममा छौं । तर कतिपयले महिलाहरूले गरेका कामको प्रशंसा गर्नेहरू पनि प्रसश्त छन् ।’ उनी भन्छिन्, ‘महिलाले घरपरिवार छोराछोरीलाई सम्हाल्दै अघि बढ्दा अवसर पाए पनि म गर्न सक्छु है भनेर पटक पटक पुष्टि गरिरहनुपर्ने बाध्यता छ । एक पटक महिला असफल हुँदा समग्र महिलाप्रतिको अविश्वास पैदा हुन्छ ।’
महिलालाई विश्वास गर्न सक्दा गुणात्मक सफलता हुने हुमकलाको बुझाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies