-अम्बिका खड्का
खिरिलो ज्यान, साधारण टिसर्ट पाइन्ट, कुनै कस्मेटिक्स प्रयोग नगरिएको अनुहार, यसै बटारेर बाँधेको कपाल, देखावटी सुन्दरतामा अलिकति पनि लालची नदेखिएकी एक युवती काठमाडौंका सडकमा हजारौं पुरुषको भीडमा सँगसँगै नारा लगाउँदै थिइन्, ‘निर्माण व्यवसायीलाई भुक्तानी दे, भुक्तानी दे’ । गत असार–साउनमा निर्माण व्यवसायी महासंघले सरकारसँग विभिन्न माग राख्दै चरणबद्धरुपमा गरेको आन्दोलन तथा धर्ना कार्यक्रमको एक दृष्टान्त हो यो । कहिले नारा लगाउने, कहिले ब्यानर बोकेर त कहिले निधारमा कालो पट्टी बाँधेर महासंघको आन्दोलनभर निकै सक्रिय रहेकी उनी कुनै निर्माण व्यवसायीकी छोरी, श्रीमती वा आफन्त होइनन् । उनी हुन् एस.एल कन्स्ट्रक्सन प्रा.लि.की सञ्चालिका गीता शाही ।
निर्माण व्यवसायी भन्नासाथ प्रायः सुनका मोटामोटा सिक्री र ब्रासलेट टल्काउने, भुँडी ढल्काउने सुकिलामुकिला पुरुषको अनुहार झल्किन्छ । नेपालमा थोरै संख्यामामात्र महिला निर्माण व्यवसायी छन् । जसमा पनि धेरैजसो महिलाको कम्पनी मात्र आफ्नो नाममा छ, काम श्रीमान वा परिवारका अन्य पुरुष सदस्यले गर्छन् । निर्माण व्यवसाय (ठेक्का पट्टाको काम) पुरुषको हो भन्ने मानसिकता अझै व्याप्त छ । तर यी सबै कुराको अपवाद जस्तै हुन् जुम्लाकी गीता ।
विगत १२–१५ वर्षदेखि निर्माण क्षेत्रमा सक्रियरुपमा काम गरिरहेकी शाही निर्माणस्थलमै समय बिताउँछिन् । हालसम्म सडक निर्माणका काम मात्र गरिरहेकी उनी आफैं निर्माणस्थलमा बसेर काम गराउने, अह्राउने गर्छिन् भने आवश्यक परेमा निर्माण उपकरण समेत आफैं चलाउँछिन् । काम गर्न लाज, डर, घमण्ड गर्न नहुने मान्यता राख्ने शाही आफूलाई गिट्टी, बालुवा, रड, सिमेन्ट, स्काभेटर, टिपरसँगै रमाउने बानी परेको बताउँछिन् । उनी आफ्नो व्यावसायिक काममा मात्र होइन निर्माण व्यवसायीको हकहितका साथै महिला निर्माण व्यवसायीलाई अघि बढाउनका लागि आवाज उठाउने तथा पहलकदमी गर्ने कार्यमा सधैं अग्रसर भएर लागिरहेकी छन् ।
निर्माण व्यवसायमा सक्रिय शाही आफ्नो काममा पनि सन्तुष्ट छिन् । निकै संघर्ष गरेर यो स्थानसम्म आइपुगेकी शाहीको जीवनमा भने धेरै उतारचढावका कथाहरु छन् ।
विद्यालय नगएरै १२ कक्षासम्मको पढाइ
२०४५ साल साउन २५ गते जुम्लाको तातोपानी गाउँपालिकामा बुबा धनवीर शाही र आमा कौशीला शाहीको कोखबाट जन्मिएकी शाहीले कम उमेरमा धेरै उतारचढाव भोगेकी छन् । अन्नको नाममा वर्षको एकबाली गहुँ र जहु मात्र फल्ने ठाउँ, आर्थिक अवस्था कमजोर, ६ जना छोराछोरी खर्च चलाउनै मुस्किल थियो परिवारमा । त्यसैले दाइ सानैदेखि फुपूका घर बसेका थिए भने दिदीको सानैमा विवाह भयो । बुबाले राडीपाखी बेचेर जाजरकोटबाट बोकेर ल्याएको चामलको भात खान चाडपर्व नै कुर्नुपथ्र्यो । गीता जुम्लाकै श्री कालिका माविमा भर्ना भएर परीक्षा त दिन्थिन्, तर विद्यालय जान मुस्किलले पाउँथिन् । एक सिजन जाजरकोट र एक सिजन जुम्ला बस्नुपर्ने हुन्थ्यो । उनी कक्षा चार पढ्दा बुबालाई औलो लाग्यो । चार महिना बिरामी भएपछि बुबा बिते, घरको मुल खाँबो ढल्यो । उनको परिवारमा झनै ठूलो समस्या आइप¥यो । देशमा माओवादी जनयुद्ध चलिरहेको थियो । बुबा बितेको केही समयपछि शाहीलाई माओवादीले फकाइफुलाइ लगे । उनलाई त्यहाँ बस्न मन लागेन र भागेर घर आइन् । पछि आमालाई धम्क्याएर माओवादीले उनलाई फेरि लगे । तर उनी फेरि भागेर घर नगइ जाजरकोट आफन्तकोमा बस्न थालिन् । त्यसपछि उनी जाजरकोटबाट फुपूसँग कोहलपुर आइन् र एक जना आफन्त दाइकोमा बस्न थालिन् । उमेर धेरै भइसकेको थियो, ४ बाट एकै पटक ८ कक्षामा भर्ना भए पनि उनी उमेर धेरै भएकाले स्कुल जाँदिन थिइन् । उनले विद्यालय नगएरै एसएलसी परीक्षा दिइन् । त्यसपछि चन्दनाथ उच्च माविबाट क्याम्पस नगएरै १२ सम्मको पढाइ सकिन् । त्यसपछि भने शाहीले पढाइलाई अगाडि बढाउन सकिनन् ।
जुम्लाबाट काठमाडौंसम्मको यात्रा
माओवादीबाट भागेर जाजरकोट पुगेकी शाही फुपूसँग कोहलपुर आएपछि त्यहाँ उनले एउटा संस्थामार्फत गाडी सिक्ने अवसर पाइन् । गाडी सिकेपछि लाइसेन्सका लागि भने हजार रुपैयाँ चाहिने रहेछ । घरबाट भाग्ने बेला आमाले दिएको पैसा थियो, त्यही तिरेर उनले गाडीको लाइसेन्स बनाइन् । त्यो बेला उनी गाडीको लाइसेन्स प्राप्त जुम्लाकी पहिलो महिला नै थिइन् । त्यसपछि जुम्ला सरमुकाममा उनले टिकट काउण्टरमा काम गर्न थालिन् । जुम्लामा टिकट काउण्टरमा काम गर्ने महिला पनि उनी नै पहिलो थिइन् । २ वर्ष जति काम गरेपछि जम्मा भएको केही पैसा लिएर उनी काठमाडौं छिरिन् । काठमाडौंमा यसै अलमल परेकी शाहीले अन्ततः विदेश जाने निर्णय गरिन् । विदेश जान भनेर पासपोर्ट बनाउन फारम पनि भरिन्, जुन उनले दुःखको बेलाको भनेर अहिलेसम्म पनि सुरक्षित राखेकी छन् । उनले फारम त भरिन्, तर फारम बुझाउन चाहिने अन्य कागजात घरमै थिए । त्यसैले केही समय रोकिइन् । त्यहीबेला उनलाई माओवादीमा हुँदा चिनेका ठेक्कापट्टा गर्ने एक जना दाइले विदेशमा महिलालाई धेरै दुःख हुने भन्दै सम्झाए र यहीँ केही गर्न सुझाव दिए । साथै नेपाल निर्माण व्यवसायी संगठनमा कार्यालय सहयोगीको कामसमेत मिलाइदिए । यसरी जुम्लाबाट काठमाडौंसम्म पुगेकी उनी खाडी देशको यात्रा रोकेर काठमडौंमै बस्न थालिन् ।
कसरी बनिन् निर्माण व्यवसायी ?
मनमा केही गर्नैपर्छ भन्ने हुटहुटीले उनलाई यसै अल्झिएर बस्न दिएन । निर्माण व्यवसायी संगठनमा काम गर्न थालेपछि उनले त्यसबेला १० हजार खर्च गरेर आफ्नो पनि ठेक्कापट्टाको लाइसेन्स बनाइन् र केही समय त्यहीँ काम गरिन् । त्यसपछि उनी जुम्ला फर्किएर जुम्लाको नारी आवाज भन्ने रेडियोमा टेक्निसियनको काम गरिन् । रेडियोका सञ्चलकको प्लेन दुर्घटनामा मृत्यु भएपछि रेडियो चल्न समस्या हुन थाल्यो र उनी फेरि काठमाडौं आइन् । काठमाडौंमा उनले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा पनि कार्यालय सहयोगीको रुपमा काम गरिन् । केही समय त्यहाँ काम गरेपछि उनी पुनः निर्माण व्यवसायी संगठनको कार्यालयमै कार्यालय सहयोगीको रुपमा काम गर्न थालिन् । त्यसबेला भने उनलाई निर्माण क्षेत्रको काम सिक्ने चासो बढ्यो । उनी काम गर्ने ठाउँमा साथीलाई राखेर उनलाई विदेश जान रोकेर काममा लगाउने र लाइसेन्स बनाइदिने दाइको निर्माणस्थलमा जाने, निर्माणका काम हेर्ने र सिक्ने गर्न थालिन् । यसरी साइटमा जाँदा भने मानिसहरुले ठेकेदारको पछि लागेर आएकी को हो ? के हो ? भनेर सोध्ने, कुरा काट्ने गर्थे । उनी भन्छिन्, ‘मनमा केही गर्छु भन्ने लागेपछि कसैको केही कुराले फरक नपर्दो रहेछ । म काम सिक्न चाहन्थें, त्यसैले कसैको कुराको वास्ता नै गरिनँ ।’
त्यसपछि उनलाई यसरी अर्काको साइटमा हेरेर मात्र सिकिँदैन अब आफैं ठेक्का हाल्नुपर्छ भन्ने लाग्यो । त्यसबेला ललितपुर सडक डिभिजनले साना–साना २६ वटा ठेक्का खुलाएको थियो । सानो बजेटका ठेक्का भएकाले खर्च धेरै नलाग्ने हुँदा उनलाई सजिलै भयो । उनले त्यहीँबाट आफ्नो निर्माण व्यवसायको यात्रा प्रारम्भ गरिन् । साना साना ठेक्काबाट काम सिक्ने अवसर पाउँदै गइन् । त्यसपछि सहकारीमा सदस्य भएर ऋण लिने, जग्गा किन्ने, बैंक ग्यारेन्टी देखाउने गर्दै ठूला ठेक्कामा पनि हात हाल्न थालिन् । अहिले उनी करोडौंको ठेक्काको काम गर्छिन् । उनी निर्माण व्यवसायी महासंघकी केन्द्रीय सदस्य पनि हुन् भने महासंघकै छाता संगठन निर्माण व्यवसायी महिला समितिको सहसंयोजक पनि हुन् । हालैपनि उनी दैनिक ३५–४० जनासम्म मजदुर लगाएर काम गरिरहेकी छन् । यसरी २०६९ सालदेखि निरन्तर सक्रियरुपमा निर्माण व्यवसायमा संलग्न शाहीको अहिले ललितपुरमा आफ्नै घर छ । हिँड्डुल गर्न आफ्नै गाडी छ । कुनै बेला चामलको भात खान चाडपर्व कुर्नुपर्ने शाही अहिले मन लागेको बेला, मन लागेको ठाउँमा खान समस्या नभएको बताउँछिन् । उनी भन्छिन्, ‘हिजोको जस्तो खान लगाउनै दुःख छैन, म यसमै सन्तुष्ट छु । सामान्य जीवन चलिरहेकै छ निर्माण क्षेत्रमा अझ राम्रो काम गर्ने मन छ ।’
उनी निर्माण व्यवसायमा यसरी लागिन् कि विवाह गर्ने उपयुक्त समयसम्म पाएकी छैनन् । व्यावसायिक हिसाबले सन्तुष्ट र सफल भएपनि महासंघमा समेत आफू राम्रो स्थानमा पुग्ने र निर्माण क्षेत्रलाई पनि राम्रो बनाउने उद्देश्य रहेकाले अझै विवाहबारे नसोचेको उनी बताउँछिन् ।
महिला निर्माण व्यवसायी हुँदाका समस्या
महिला भएकै कारण शुरुवाती दिनमा निकै समस्या हुने गरेको उनका धेरै नमिठा अनुभवहरु छन् । साइटमा जाँदा कामदारले नै नपत्याउने, कुरा नसुन्ने, नटेर्ने गर्दा नै समस्या हुन्थ्यो । तर विस्तारै कुरा बुझाउँदै, सम्झाउँदै उनी अघि बढिन् । वरपरका मानिसहरुले ठाउँअनुसार आफ्नै भाषामा कुरा गर्ने, कोसँग आएकी, केटी पनि यस्तो काम गर्छन् ? भन्ने जस्तो कुरा गर्ने गर्दा आफूलाई नराम्रो अनुभूति हुने गरेको उनको भनाइ छ । साइटमा जाँदा अहिले पनि पुरुष कामदार मात्र हुने हुँदा साइटमा बस्न सुरक्षाको अनुभूति नहुने, छुट्टै बस्ने व्यवस्था गर्दा खर्च बढी हुने, प्रशासनिक काममा पनि महिला निर्माण व्यवसायी भनेपछि कुरा गर्न अप्ठ्यारो मान्ने र काममा धेरै अलमल गराउने गरेको उनको दुखेसो छ ।
जे कुरा पनि शुरु गर्दा धेरै गाह्रो भएपनि विस्तारै बानी पर्दै जाने र सहज हुँदै जाने उनको अनुभव छ । अनेक उतारचढावका बीच पनि निर्माण क्षेत्रमा नै टिक्न सफल भएकाले हिम्मत र गर्छु भन्ने अठोट नै ठूलो कुरा भएको उनको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies