सरु भुसाल/मध्यान्ह
सन्धिखर्क : सन्धिखर्क नगरपालिका वडा नं.१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएसँगै यहाँका किसानहरु व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।
सन्धिखर्क नगरपालिकाको कुडूले फाँट, वृति फाँटर, सुक्मी फाँटका किसान अहिले परम्परागत कृषि खेती छाडेर मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख बुद्धि राज घिमिरेले बताए ।
सन्धिखर्कमा आयोजित तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले लुम्बिनी प्रदेश सरकारले स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेपछि यस क्षेत्रका किसान पनि आधुनिक तथा प्रविधिमैत्री तरिकाले तरकारी खेतीमा लागेको घिमिरेले बताए ।
आर्थिक वर्ष २०७७/७८ देखि लागू भएको स्मार्ट कृषि गाउँ कार्यक्रमबाट यस क्षेत्रका झण्डै ६० जना किसान तरकारी खेतीमा लागेको सन्धिखर्क स्मार्ट कृषि गाउँ कार्यसमितिका अध्यक्ष प्रेमनारायण भुसालले बताए ।
६० जनामध्ये झण्डै ५० जना किसान व्यावसायिक कृषि पेसामा लागेको अध्यक्ष भुसालले बताए किसानको मागका आधारमा किसानलाई बीउ, मल तथा अत्याधुनिक उपकरणसमेत प्रदान गरेको सन्धिखर्कमा आयोजित तालिम उद्घाटन समारोहमा अध्यक्ष भुसालले बताए ।
तरकारी खेतीलाई आधुनिकीकरण र व्यावसायिक बनाउन स्मार्ट कृषि गाउँ कार्यक्रमले आफूहरुलाई सहयोग गरेको भएपनि किसानहरु व्यवसायिक बन्न नसकेको तालिमले मात्रै किसानलाई नपुग्ने तालिममा सहभागी किसान गोपालप्रसाद खनालले बताए ।
तालिममा सहभागी अर्का किसान गगन भुसालले किसानको मागका आधारमा मिनिटिलर, डिजिटल काटा, पानी तान्ने मोटर पम्प, स्केयर, प्लास्टिक टनेल जस्ता सामग्रीका साथै उन्नत जातका मौसमी तथा बेमौसमी तरकारीका बीउ मलसमेत किसानले समयमा प्राप्त गरेको भएपनि अझै प्रभावकारी बनाउन अनुरोध गरे ।
किसानले उत्पादन गरेको तरकारी बिक्रीका लागि पनि कुनै समस्या नभएको बजार नजिक भएकाले पनि उत्पादन भएको तरकारी सन्धिखर्क र चुत्राबेंसीमा बिक्री वितरण हुने गरेको किसान सीता अर्याल पन्थीले बताइन् ।
आधुनिक प्रविधिको प्रयोग गरी तरकारी खेती गर्दा उत्पादनमा वृद्धि भएको र समयको पनि बचत भएको किसान अम्बर श्रेष्ठले बताए । उत्पादित वस्तु स्थानीय बजारमानै खपत भएको र बढी भएमा छिमेकी आसपासका जिल्लामा बिक्री वितरण भएको किसान बन्दु नेपालीले बताए ।
आधुनिक प्रविधिबाट किसानलाई व्यावसायिक बनाउन र कम लागतमा बढी उत्पादन गरी आयआर्जन वृद्धि गर्ने उद्देश्यले स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्रका प्रमुख उपसचिव बुद्धिराज घिमिरेले दाबी गरे । कृषकहरु व्यावसायिक बनेर राम्रो उत्पादन गरेको बताउँदै किसानको आयआर्जनमा समेत वृद्धि भएकाले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न घिमिरेले अनुरोध गरे । कार्यक्रम स्मार्ट कृषि गाउँसमितिका अध्यक्ष प्रेम नारायण भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृषि अधिकृत टिकाराम न्यौपानेले गरेका थिए । तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies