काठमाडौं : धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको टोखामा चैत मसान्तदेखि सुरु भएको विस्का नखः (जात्रा) सम्पन्न भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म पाँच दिन चल्ने विस्का नखः (जात्रा) आज सम्पन्न भएको हो । वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले बताए ।
वैशाख २ गते बिहान टोखा नगरपालिकाको वडा नं २ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ । वैशाख ३ गते बिहान ६ बजे माथिल्लो लाछिमा सिन्दूर जात्रा गरेर उठाइएको रथ दिउँसो १ बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ ।
बिहान ६ बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठीयारको घरमा लगेर बाली उठाउने गरिन्छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ । सोही दिन साँझ ३ बजे उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षिमा लगेर बिसाइन्छ ।
सोही दिन रातभर गुठीयार र विभिन्न खलःहरू बसेर रातभर भजनकीर्तन गर्ने तथा जाग्राम बस्ने चलन रहेको मूल नाइके हेमराज श्रेष्ठले बताए । वैशाख ४ गतेअर्थात् जात्राको अन्तिम दिन आज बिहान ६ बजे सानोलाक्षीबाट सिन्दूर जात्रा गरी दिउँसो १ बजे वडा नं २ मा रहेको गछेटोलमा लगेर रथ बिसाइन्छ । उक्त स्थानमा बिसाएको रथलाई विधिवत्रुपमा सरकारी पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन छ । टोखा नगरपालिकाको ऐतिहासिक विस्का जात्राका अवसरमा आज टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । हिजो सोमबार वडा नं २ र ३ लाई बिदा दिइएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies