–खिमराज गिरी
नेपाली राजनीतिमा बेला–बेलामा व्यवस्था हस्तान्तरण त भयो तर, प्रतिक्रियावादी, सत्ता स्वार्थी, लम्पसारवादी, प्राकृतिक प्रकोप आदिले जनताको जीवन रूपान्तरण हुन सकेन । गरिबको घरमा चुला त बले तर, खाना पाकेन । किसानका पाखाबारीमा सिँचाइ गर्ने सम्बन्धमा कुरा र कुला त गए तर, पानी गएन । प्रजातन्त्रवादी त भए तर, उदारवादी भएनन् । म्यानेजरको भरमा सरकारी उद्योगहरू चलाउन त खोजियो तर, सबै कौडीको भाउमा दौडिए । गण्डकी, कोशी, कर्णालीको आत्माले कति सरापेको छ थाहा छैन ।
कुनै कुनै कम्युनिष्टहरू क्रान्तिकारी त भए तर, दिल्लीको मामलामा आज्ञाकारी नै भइरहे । २००७ सालमा राणा गए, राजासहितको प्रजातन्त्र आयो, पुरानो अवशेष र मालिकमा बिन्ती चढाउँदैमा २०१७ सालमा पञ्चायती व्यवस्था आयो अनि राजा महेन्द्रको शासन काल शुरु भयो । २०३६ सालको जनमत र ०४२ सालको बम काण्डले नेपालको राजनीतिमा केही हलचल मच्चायो र ०४६ सालको आन्दोलनलाई टेवा पुग्यो । तत्पश्चात राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको सुरुवात भयो ।
तत्काल बालुवाटारको करिब ११६ रोपनी जग्गा सुवर्ण शमशेरको परिवारलाई हस्तान्तरण गरियो र प्रजातन्त्रको धज्जी पनि त्यतिखेरदेखि नै उडाउन शुरु गरियो । प्रायः दलका केही नेताहरू एकातिर आधुनिक राज्य प्रणालीको कथा सुनाउँथे भने अर्कोतिर कुर्चीको लागि दरबार धाउने प्रचलन पनि कायमै राखे । ०५२ साल पछिको त्यो एक दशकले नेपालमा गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन टेवा पुग्यो र २०६२÷०६३ को आन्दोलनपश्चात राजा सत्ताच्युत हुन पुगे र दलहरू करिब आठ वर्षसम्म जम्बो सांसद लिएर संविधानसभाबाट संविधान बनाउने गृहकार्यमा जुटेपश्चात २०७२ सालमा नयाँ संविधान ल्याइयो र नेपाल गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गर्ने मुलुक बन्यो ।
देशमा तीन तहको चुनाव भयो र तीनै तहमा नेकपाको बहुमतको सरकार पनि बन्यो र देशले पहिलाभन्दा हरेक क्षेत्रमा काँचुली पनि फेर्न खोज्यो तर, केही व्यक्तिहरूको सत्तास्वार्थको कारण राजनीतिक अस्थिरताको सौदाबाजीमा मुलुक फेरि पनि फस्यो । र, अरु कयौं क्षेत्रमा परिवर्तन हुने अवस्था हुँदा हुँदै पनि कहिले प्राकृतिक विपत्ति त कहिले सरकार चलाउने पात्रहरूको प्रवृत्ति, त कहिले नेकपाभित्रको आन्तरिक द्वन्द्व, कहिले विपक्षी दलहरूको विरोधी स्वभावको कारण देशमा विकासको गति अगाडि बढ्न केही असहज भइरहँदा फेरि अर्को विपत्ति लाग्यो कोरोनाको । विश्वव्यापीरूपमा फैलिएको यो कोरोनाको कारणले ठूलै धनजनको क्षति भयो र आर्थिक क्षेत्र पनि जर्जर हुने अवस्थामा पुग्यो । नेपाललाई पनि आर्थिकरूपमा केही पछाडि धकेल्यो र त्यसको परिणामस्वरूप आजसम्म देशमा न त स्थायी सरकार बन्यो न त भ्रष्टाचारको अन्त्य नै भयो ।
झुपडीलाई देखाउँदै चप्पल लगाएर नेतृत्वमा पुगेकाको व्यक्तिगत जीवनमा ठूलो परिवर्तन त भयो तर, जनताको जीवनमा परिवर्तन आएन । हिजोका चप्पलधारी नै आज सुटेटबुटेट हुँदै राजनीतिको नेतृत्वमा छन् । उनीहरूलाई नै जनताले पटक–पटक नेतृत्वमा जिताउँदै आएका छन् । तर, अवस्था उस्तै रहिरहँदा पनि विकल्प नखोज्ने जनतालाई दोषी मान्ने कि नमान्ने भन्ने प्रश्न उब्जिएको छ । निष्कर्षमा भन्दा जबसम्म जनताले पनि आफ्नो मतको समीक्षा गर्दैनन् तबसम्म मुलुकले सही दिशा समात्न सक्दैन । सही नेतृत्व भेटाउन सक्दैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies