–अनन्तप्रसाद घिमिरे
‘दर्शन’ शब्द संस्कृत तत्सम शब्द हो । यसको व्युत्पत्ति पाणिनीय व्याकरण अनुसार दृश्य धातुबाट भएको पाइन्छ । “दृश्यते अनेन इति दर्शन” भन्ने संस्कृत व्युत्पत्तिअनुसार दर्शनको अर्थ दृष्टिको माध्यम वा साधन भन्ने हुन्छ । यसलाई अङ्ग्रेजीमा ‘फिलोसोपी’ भनिन्छ । यस शब्दको व्युत्पत्तिअनुसार दर्शन शब्दको अर्थ ‘ज्ञानप्रतिको अनुराग’ भन्ने हुन्छ । दर्शनले संसारका सम्पूर्ण चिज वा वस्तुका बारेमा अध्ययन र मनन गर्दछ दर्शन हरेक विचार वा विषयको व्यवस्थित दृष्टिकोण वा सोचाइ हो ।
रहस्यमय मानव जीवनसँग दर्शन शास्त्रको अटुट सम्बन्ध अनादिकालदेखि गाँसिएको छ । हाम्रा धर्म शास्त्र र दर्शन शास्त्रहरूको एकमात्र उद्देश्य परम् पुरुष परमात्मासँग मानव जातिको सम्बन्ध गाँसी, ईश्वर र मानवबिचको सम्बन्ध र तारतम्यको अन्वेषण गर्नु हो । यस अर्थमा त्यस्तो अन्वेषणको व्यवहारिक पक्ष हाम्रो जीवन पद्धति हो भने त्यसैको सैद्धान्तिक पक्षलाई ‘दर्शन’ भनिएको छ । मानव जीवनको मीमांसा गर्नु अर्थात् त्यसप्रति जिज्ञासा राख्नु, हाम्रा दर्शन शास्त्रहरूको उद्देश्य हो । हामी को हौँ ? के हौँ ? कहाँबाट आयौं ? किन आयौं ? जस्ता यावत् सन्दर्भमा टेकेर दर्शन शास्त्रको उत्पत्ति भएको हो । दार्शनिक चिन्तकका चिन्तनहरू, दृष्टिकोणहरू समयको प्रवाहको कारण बेग्ला–बेग्लै हुन पुगेको कारणले गर्दा हाम्रा विचारहरूलाई विश्लेषण गर्ने थुप्रै पद्धतिहरू जन्मिन पुगे । जसले गर्दा सनातनी संसारमा थुप्रै दार्शनिक सिद्धान्तहरू र सोअनुरूपका सम्प्रदायहरूपनि जन्मिन पुगे । आजको दिनमा, सनातन हिन्दु परम्परामा दार्शनिक चिन्तन मनन गर्ने परम्पराको सुरुवात कहिलेदेखि, कसले र किन सुरु ग¥यो ? भन्न सकिने अवस्था नभए पनि यसको प्रचलन एवम् सुरुवात प्राग ऐतिहासिक कालदेखि भएको हो भन्ने कुरामा शंका गर्ने ठाउँ छैन । वैदिक संहिताहरूबाट निस्किएका दर्शनहरूको प्रमुख एवम् मूल तत्वहरू– ईश्वर, जीव, प्रकृति, सृष्टि,उत्पत्ति, जन्म, मृत्यु, मोक्ष, स्वर्ग, नर्क आदि हुन् । यिनै कुराहरूको चिन्तन अनि जिज्ञासा क्रमशः बढ्दै जाँदा पूर्वीय दर्शनको उत्पत्ति भएको मानिन्छ ।
पूर्वीय दर्शनको खास परम्परा हिन्दु धर्मसँग जोडिएको छ । संस्कृत भाषामा सनातन धर्म भनेर चिनिएको हिन्दू धर्मका अनुयायीहरूले ‘वैदिक सनातन वर्णाश्रम धर्म’ पनि भन्ने गरेको पाइन्छ । यसो भन्नुको पछाडिको तर्क यसको सुरुवात मानव उत्पत्तिभन्दा पहिलेदेखि भएको हो भन्ने अर्थमा हो । त्यसैले हिन्दू धर्मलाई हाम्रा समस्त वैदिक, पौराणिक परम्परा र संस्कृतिहरूको सम्मिश्रण मानिएको हो । अन्य धर्म, जस्तो हिन्दु धर्मभित्र कोही संस्थापक रहेका छैनन् । यो वेदमा आधारित धर्म भएको हुँदा यसभित्र थुप्रै परम्परा, उपासना पद्धति, मत, सम्प्रदाय, दर्शनहरू हुर्किएको पाइन्छ । यो वहुदेवको अस्तित्व स्वीकार्दै एकेश्वरवादमा पृष्ठपोषण गर्ने धर्मभएकोले यसलाई विभिन्नकाल खण्डमा सनातन धर्म, हिन्दु धर्म, वैदिक धर्म, हिन्दु आगम आदिजस्ता अनेकौँ नामले चिनाउँदै आइएको छ। यसै सन्दर्भमा पूर्वीय दर्शनभित्र सांख्य, योग, न्याय, मीमांसा, वैशेषिक र वेदान्त गरी छवटा दर्शनहरूको विकास एवं सम्बन्ध रहेको छ ।
पूर्वीय दर्शन आर्य सभ्यतासँग सम्बन्धित छ । पूर्वमा जीवन जगत, ईश्वर, जीव, प्रकृति आदि विषयहरूमा गरिएका गहिरो चिन्तन र विचारहरूको सामूहिकरूपमा नै पूर्वीय दर्शनले प्रकृति, जीवन र जगत विषयमा वैदिक कालदेखि सुक्ष्म अध्ययन हुँदै आएको पाइन्छ । अन्तर तत्वको साक्षात्कार गर्नका लागि अलौकिक तत्वको आवश्यकता पर्दछ । पूर्वीय दर्शनको महत्वपूर्ण प्राप्ति भनेकै आस्तिक दर्शन हो । आस्तिक दर्शनको उचाइका आधारमा विश्वमा नै पूर्वीय दर्शनको स्थान उच्च हुन पुगेको छ । यसलाई वैदिक दर्शन पनि भनिन्छ । सम्पूर्ण धर्मको मूलभूत रूपमा रहेको वेदको केन्द्रीयतामा नै आस्तिक दर्शनले विचार विमर्श गर्ने भएकाले आस्तिक दर्शनलाई वैदिक दर्शन पनि मानिएको छ । आस्तिक दर्शनको आधारस्तम्भ नै वेद हो । यस दर्शनलाई सनातन दर्शन, नैतिक दर्शन वा आर्य दर्शन पनि भनिन्छ । पूर्वमा दर्शनको प्रारम्भ वैदिक वाङ्मयदेखि सुरु भई पुराण तथा विभिन्न दार्शनिक ग्रन्थहरूमा समेत यसको व्याप्ति देखिएको छ । पूर्वीय मान्यताअनुसार दर्शन भनेको आन्तरिक तत्वबोध अर्थात् आत्मबोध हो ।
पूर्वीय आस्तिक दर्शनका अनुसार जगतको कोही एउटा मूल अर्थात् नियामक तत्व रहेको र त्यसकै माध्यमले जगत् चलिरहेको छ । जगतको मूल तत्व एउटै हो भन्ने कुरामा षड्दर्शनमा विवाद नदेखिए तापनि जगतका समवायीकारण र निमित्त कारणमा भने विवाद देखिन्छ । दर्शनले हामीलाई यथार्थको द्वारसम्ममात्र पु¥याउँछ तर, प्रवेश भने गराउँदैन । भित्र प्रवेश गर्नका लागि अन्तरदृष्टि वा आत्मज्ञान चाहिन्छ । पूर्वीय दर्शन यही अन्तर्दृष्टि वा आत्म ज्ञान प्राप्तिका लागि साधनहरूको खोजी गर्दछ र आन्तरिक ज्ञान प्राप्तिको लागि मानवलाई प्रेरणा दिने काम गर्दछ । साथसाथै मानव जीवनलाई पुनर्जन्मको चक्रबाट जोगाई तिनलाई मोक्ष दिलाउनु पूर्वीय दर्शनको मुख्य उद्देश्य हो ।
नैतिक शिक्षाले हामीलाई यथार्थको द्वारसम्म पुर्याउँछ । नैतिक शिक्षाले यही अन्तर्दृष्टि वा आत्म ज्ञान प्राप्तिका लागि साधनहरूको खोजी गर्दछ र आन्तरिक ज्ञान प्राप्तिको लागि मानवलाई प्रेरणा दिने काम गर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies