–रसुवाली कवि
नेकपा (एमाले)का प्रभावशाली नेता हुन् विष्णु रिमाल । मजदुर आन्दोलनमा छुटाउनै नहुने एउटा नाम पनि हो– विष्णु रिमाल । संसारभरका मजदुर एक होऔं र एकजुट होऔं भन्ने माक्र्सवादी मान्यताकै आलोकमा ट्रेड युनियन आन्दोलनमा रिमाल अग्र भूूमिकामा रहे । उनीसँग संगत गरेका नेता र लेखकहरू उनलाई वैचारिक, व्यवहारिक र साहित्यिक चेत भएका नेताको रूपमा बुझ्छन् । रिमालले थुप्रै पुस्तक लेखन, प्रकाशन, सम्पादन, अनुवादसमेत गरेका छन् । पंक्तिकार व्यक्तिगतरूपमा निकट नभए पनि उनका रचनाहरू पढिरहेको हुन्छ । उनका केही कविता समेत पढेको छु ।
छिमेकी जिल्ला नुवाकोटका रिमाल भएकोले पंक्तिकार नाता सम्बन्धका पहेलीहरू हुने कुरा पनि भए । यी फरक विषय हुन् । आन्दोलनका हिसाबले पंक्तिकार र उनी फरक–फरक आन्दोलनमार्फत आएको हुनाले पनि मान्यताहरू केही फरकपना अवश्य पनि छन् । तथापी आधारभूत मान्यतामा हाम्रो सहमति हुन्छ र हुनुपर्छ । किनकी माक्र्सवादलाई बुझ्ने तरिका सही र वैज्ञानिक भएन भने भने हामी गोलचक्कर फस्न सक्छौं । आजको कम्युनिस्ट आन्दोलन र ट्रेड युनियन आन्दोलन पनि गोलचक्कर फस्दै गएको अनुभुति मजदुरहरूले गरिरहेकै छन् । यो हाम्रो आन्दोलनको लागी गम्भीर विषय हो ।
पंक्तिकारको हातमा विष्णु रिमालको पुस्तक छ ‘गरिखानेको नाममा’ । यहाँ यो पुस्तकको बारेमा केही लेख्ने जमर्को गरिएको छ ।
ट्रेड युनियनसँग सम्बन्धि विभिन्न सामाग्रीहरूको अटाएको यो पुस्तक मोटो आकारको छ । लेखक रिमालले आफ्ना लेख र भनाईको तात्पर्य पुष्टि गर्न थप सन्दर्भ सामाग्रीसमेत समावेश गरेकोले पुस्तकमार्फत ट्रेड युनियनको बहु आयामिकतालाई बुझ्न पाठकलाई सहज हुन्छ । उनले धेरै ठाउँमा रोजगारीका लागि श्रम कानुनको सुधार, श्रमिकको संरक्षणका लागि सामाजिक सुरक्षा, तत्काल न्यायका लागी राष्ट्रिय श्रम आयोगको मागलाई अगाडि सारेका छन् । ट्रेड युनियनसँग जोडिएको ट्रेड युनियन ऐनको संशोधनको मागलाई समेत पुस्तकमा उठाइएको छ । अन्तर्राष्ट्रिय श्रम संगठनको महासभाले उठाएको कामको अधिकार र आधारभुत सिद्धान्तसम्बन्धि घोषणाको सन्दर्भलाई रिमालले नेपाली सन्दर्भमा जोड्न खोजेका छन् ।
विष्णु रिमालको भाषा सरल छ । ट्रेड युनियनसँग सामान्य चासो राख्नेहरूले सहजै बुझ्ने खालको भाषा यस पुस्तकमा रहेको छ । उनी एक ठाउँमा लेख्छन्– ‘फेदमा भने हुने खानेहरूको संसार छ । विश्व परिदृश्यमा समेत उनीहरूको संख्या हुनेखानेहरूको भन्दा कता हो कता ज्यादा छ । उनीहरू अभाव र गरिबी, आवासका लागी झुपडी, रोग र अज्ञानता, राजनीतिकरूपमा अधिकारबिहीनता, निराशा, बेरोजगारी वा रोजगारी भएपनि दुई छाक टार्न धौधौ पर्ने ज्याला र मानवीय विकासका आधारभूत सबै क्षेत्रबाट वञ्चिति जस्ता दुःखको साझा धागोमा उनिएका छन् । र, भनिरहनु पर्दैन – यी दुईमध्य बलियाले नै निर्धामाथि सजिलै शोषण’ – शासन गर्छ ।’ (पृष्ठ २३१ )
श्रमिक महिलाहरूको हालत अहिले विश्वभर कमजोर रहेको छ । गाउँले अर्थतन्त्रदेखि बहुराष्ट्रिय कम्पनीले समेत महिलाको श्रम शोषण गरेका छन् । सामान्य उदाहरण पंक्तिकारकै गाउँघरको दिउ । पंक्तिकारको गाउँमा महिलाले दिनभर धान काटेको ज्याला पाँच सय हुँदा पुरुषको ज्याला सात सय रहेको छ । नेपाली मजदुर आन्दोलनमा श्रमजीवी महिलाहरूको अधिकारको सवाल कर्मकाण्डी रहेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका नाममा पाँचतारे होटेलमा पुरुष नेताहरूलाई मेजमानी दिएर महिलाहरूको श्रम र अधिकारको विषयमा कार्यपत्र प्रस्तुत गर्दै एउटा ‘झुरेस्ट’ कर्मकाण्ड सधैँ मञ्चित हुन्छ । पुस्तकमा विष्णु रिमालले श्रमजीवी महिलाहरूको सवाल पनि उठाएका छन् । यो उनीसम्बद्ध ट्रेड युनियन आधिकारिक धारणासँग पनि सम्बन्धित नै देखिन्छ ।
उनले महिलाहरूलाई समान अधिकारका लागि मुलतः चार सवाललाई अगाडि सारेका छन् । ती हुन्– अर्थतन्त्रमा हामीलाई गणना गर, श्रमशक्तिमा हाम्रो हेक्का राख, नीति निर्णयमा हामीलाई चासो राख, नेतृत्वमा हामीलाई संलग्न गर । यी चार सवाल आधारभूत हुन् । समग्र महिला श्रमिकहरूको सवालमा बृहत छलफल जरुरी हुन्छ । एक ठाउँमा रिमालले वंश र अंशको सवाल पनि उठाएका छन् । अहिलेको महिला आन्दोलनमा यो पनि तातो विषय हो ।
पुँजीपतिहरूलाई सहुलियत दिनुपर्छ भन्ने बहसमा रिमालले पुँजीपति र मजदुरहरूबीच निरन्तर संघर्ष, एकता र संघर्ष हुन्छ भन्नेमा जोड दिएको देखिन्छ । एक ठाउँमा उनी लेख्छन्– “धेरैलाई लागेको हुनसक्छ – समाज पूर्ण पुँजीवादी नहुँदा पुँजीपतिहरूलाई सहुलियत दिइनुपर्छ । यसले उनीहरूलाई लगानीको उत्प्रेरणा जगाउँछ । र सायद यस्तो सोच्नेहरू ठान्छन् त्यो सहुलियत श्रमिकहरूको गाँस काटेर मात्र सम्भव छ । हाम्रो बुझाइमा आर्थिक गतिविधिमा लगानी एक पक्षले मात्र गर्दैन । त्यहाँ दुई पक्ष हुन्छन् । एउटा पक्षले भौतिक तथा मौद्रिक पुँजी लगानी गर्छ अर्को पक्षले जिवित श्रमशक्ती लगानी गर्छ । अघिल्लोले सारा सम्पत्ति लगानी गर्छ, पछिल्लोले सम्पुर्ण जीवन ।” ( पृष्ठ २७१)
यहाँनेर थप बहस जरुरी गर्नपर्छ । अझ ट्रेड युनियनका नेताहरूले झन् बहस गर्नुपर्छ । पुँजीपतिले गरेको लगानी मनग्य नाफा कमाउनका हो । श्रमिकहरूले जीवन नै दिएको पेट पाल्नका लागि । यसैले यहाँनेर पुँजीपतिप्रति विष्णु रिमालहरू जस्ता कम्युनिस्ट नेताहरू किन भावुक हुनु ?
रिमालले यस पुस्तकमा श्रमिक महिलाहरूको सवाललाई अलि गम्भीर ढंगले उठाएका छन् । उनले एउटा ठाउँमा मार्गरेट थ्याचरको भनाइलाई साभार गरेका छन् । उनी भन्छिन्– यदि तपाईंलाई केही भनेमात्रै हुन्छ भने पुरुषलाई अघि सार्नुस्, यदि तपाईंलाई केही गर्नैछ भने महिलामा भर पर्नुस ।’ यो आदर्श वाक्य अमुर्त छ । आज हाम्रो आन्दोलन पनि यस्तै अमुर्तता फस्ने डर भएको छ ।
क्लारा जेटकिनले भने जस्तै समाजवादी आन्दोलनले मात्र श्रमिक महिलाका समस्यालाई हल गर्छ । कम्युनिस्ट पार्टी सम्बद्ध ट्रेड युनियनहरूको साझा गन्तव्य समाजवादी आन्दोलन नै हो । हामीले यहिनेरबाट बहस थाल्नुपर्ने हुन्छ । रिमालले नै उदाहरण दिएको पाउलो फ्रेरीको भनाइ जस्तै जनताले आफूलाई उदयीमान नेताभित्र खोज्नुपर्छ र नेताले आफूलाई जनताभित्र खोज्नुपर्छ । तर आजको उदयीमान नेता को त ? हाम्रो समयले प्रश्न गरिरहेको छ । ट्रेड युनियनको आन्दोलनमा यो समस्या तड्गारो छ ।
नेपाली समाजको अन्तरविरोधलाई हल गर्ने सवालमा वर्गसंघर्षलाई जोड दिनुपर्छ भन्नेमा रिमालको जोड रहेको छ । उनले उल्लेख गरे जस्तैः हाम्रो देशमा जहाँ एक चौथाइ जनसंख्या अति गरीब छन्, त्यही मास (आम जनसमूूह) नै वास्तविक क्लास वर्ग हुन् ।’ (पृष्ठ ३२०) नेपाली समाजको मुल समस्यालाई वर्गीय ढंगले हेर्न सकिएन भने त्यो सैद्धान्तिक दुर्घटनामा फस्छ भन्नेमा पनि देखिन्छ ।
यस किताबमा विष्णु रिमालको एउटा चिठी पनि रहेछ, ‘कमरेड प्रचण्डलाई खुल्लापत्र ।’ उनले प्रचण्डहरूले अगाडि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ र मदन भण्डारीले अगाडि सारेको ‘जनताको बहुदलीय जनवाद’लाई जोडेर प्रचण्डलाई प्रश्न गरेका छन्– फरक छौं भन्ने तपाईंहरूको भनाइ मान्दा जनताको बहुदलीय जनवाद होइन भने निःसन्देह तपाईंहरू एमाले होइन । नौलो जनवादी होइन भने तपाईंहरू माओवादी नै होइन । सामाजीक जनवादी होइन भने तपाईंहरू पुरानो कांग्रेस पनि होइन । त्यसो भए के हो एमाओवाद र कहाँ छ तपाईंको एमाओवादी ?’(पृष्ठ ३६६) हेटौंडा महाधिवेशनपछि रिमालले सोधेको प्रश्न अहिले उतिकै सान्दर्भिक छ । तर, एमाले र माओवादी एकता भइसकेको र प्राबिधिक कारण फुट आएकोले यसमा थप बहस आवश्यक छैन ।
रिमालको ‘गरिखानेको नाममा’ नामक पुस्तक कम्युनिस्ट आन्दोलन र पछिल्लो राजनीति आन्दोलनको सन्दर्भमा समेत महत्वपूर्ण रहेको छ । श्रमिक आन्दोलन, विश्व परिस्थिति, बदलिँदो विश्व र मजदुरहरूको सवाल, बहुराष्ट्रिय कम्पनीका बुटले कुल्चे पनि हिलोमा कमल झैँ फुलिरहेका मजदुरहरूको आवाज पुस्तकमा छ । माक्र्सवादी सौन्दर्य चिन्तक तथा एमालेका वैचारिक नेता प्रदिप ज्ञवालीले यस पुस्तकमा भने जस्तै ‘हिजो प्रत्यक्ष देखिने श्रम शोषण अहिले जटिल, विस्तारित र दिग्भ्रमित पार्ने खालको भएको छ ।’
विष्णु रिमालले जुन ढंगले यो खालको बहस उठान गरेका छन्, यो अहिले कम्युनिस्ट आन्दोलनले उठाउनु पर्ने बहस पनि हो । रिमाललाई यो वैचारिक बहसका निम्ति हार्दिक बधाई । आगामी दिनमा पनि यस्तै खुराकको अपेक्षा छ । जस्तो उनको छोटो कविता छ –
आफ्नै आँटमा उभिएर म
आफ्नै प्रतिभा देखाउँछु
कोही मञ्च दिऊन् वा नदिउन्
म आफैं रंगमञ्च बनाउँछु
जो आफूलाई स्टार ठान्छन्
तिनकै सामु म चम्कन्छु
तिनका चमकलाइ फिका पार्ने
सुर्य आफैलाइ बनाउँछु
कम्युनिस्ट आन्दोलनमा एकले अर्कोलाई निषेध गरिरहेको सन्दर्भमा रिमालले गम्भीर बहसको थालनी गरेका छन् । पुस्तक नेपाल श्रमजीबी मजदुर नेता र आम श्रमप्रति विश्वास गर्नेहरूले पढ्न जरुरी छ । पाँचतारे होटेलका लामा बहसबाट मजदुर झुपडीसम्म श्रमिक आन्दोलन बहस गर्न अब रिमाल जस्ता नेताहरूले प्रेरित गर्ने बेला आएको छ । यस्ता पुस्तक र बहसले मात्र हाम्रा आधारभूत वर्गलाई रक्षा गर्छ र अधिकारको आन्दोलनप्रति प्रेरित गर्छ ।
–अच्युतमान सिंह प्रधान ‘उत्सुक’
भन्छन् कसैले नपाएको दुःख पायो भने ‘कुकुरले नपाएको दुःख’ पायो । हो उनले पनि यस धर्तिमा पाइला टेकेदेखि नै सुख भन्नै थाहा पाएकी छैनन् । जन्मना साथ आमाले छोडेर गइन् । बाबुले अर्को बिहे गरे । त्यसपछि हजुर आमाले उनलाई पालिन् । आमाको दुध मुखमा राख्न पाइनन् । हजुर आमाले छिमेकीसँग दुध पैचो मागी मागी खुवाई तिनलाई हुर्काइन् । आमालाई टोकिन भनेर बाबुले उनलाई कहिल्यै पनि माया गरेन । पाँच वर्षको उमेरमा माया गर्ने एउटी हजुर आमाले पनि यस संसारबाट बिदा लिइन् ।
त्यसपछि त बाबु र सौतेनी आमाले आखाको कसिङ्गर झैं व्यवहार गरे । बाबु र सौतेनी आमाबाट उनले कहिले पनि मिठो बोली सुन्न पाइनन् । अनि हजुर आमालाई सम्झेर कति रुन्थिन तिनि । बिहानै सबैरैदेखि राति नसुतेसम्म उनले कहिल्यै पनि फुर्सद पाइनन् । पानी पँधेरादेखि बाख्रा चढाउने, घास दाउरा गर्ने, लुगा धुने, चुलो चौका गर्ने सबै उसले थाप्लोमा थियो । तर, पनि कहिले एक छाक पेटभरी खान पाइनन् । अझ सौतेनी आमाले छोरा जन्माए पछि त उनको काम अझ बढ्यो । सानो बच्चाको थाङ्ग्ला धुनेदेखि स्याहार सुसार गर्ने काम पनि उसले नै गर्नुपर्ने भयो ।
आफ्नो बाबु र सौतेनी आमाले आफ्नो छोरालाई माया गरेको देखेर उनी आफ्नी आमा भएको भए आफूूलाई पनि यस्तै गरेर माया गर्थिन् भनेर सम्झिरहन्थिन् । आफ्नो भाई स्कुलमा पुर्याउन जाने अनि लिन जाने जिम्मा पनि उनकै थियो । भाईलाई स्कुल पुर्याउन र लिन जाँदा आफ्नै उमेरका अरु पनि पढ्न गएको देखि उसलाई पनि स्कुल जाने, पढ्ने रहर निकै लागेर एक दिन डराई डराई आफ्नो बाबुलाई भन्दा नराम्रोसँग पिटाइ खाएकी थिइन । त्यसपछि उनले कहिले पनि पढ्ने कुरो बाबुसँग भन्नै आँट गरिनन् ।
तर, तिनको दुःख पीडा सुन्नै त्यहाँ कोही थिएन । जङ्गलमा दाउरा लिन जान्दा एक्लै रुन्थिन्, आफ्नो हजुर आमालाई सम्झेर आँखाबाट बलिन्द्र आँसुको धारा बगाउँथिइन् । तर तिनलाई सम्झाउने अनि फकाउने कोही थिएन । केही बेर रोएपछि मन हल्का हुन्थ्यो, अनि दाउरा लिएर घर फर्किन्थिइन् । यस्तै रितले समय बित्दै गयो ।
एक दिन पानी लिन पँधेरा जाँदा आफ्नो आमाको उमेरका महिलाहरुले उसलाई देखेर “कठै बिचरा जन्मन्दै आमाले छोडेर गइन् । बाबुले पनि अर्की बिहे गर्यो, माया गर्ने एउटी हजुरआमाले पनि छोडेर गइन् । विचराले कुकुरले पनि नपाएको दुःख पाइन” भनेको कुरा उनले सुनिन् ।
यस्ता कुरा सुनेर उसको मन चसक्क दुख्यो, आँखाबाट आँसुको थोपा चुहियो । उनले उनीहरुले भनेको सबै कुरो बुझै पनि उनको बाल मस्तिकले पटक्कै पनि बुझ्न सकेन कि “के हो कुकुरले पनि नपाएको दुःख पायो भनेको ?” जीवन भोगिरहेकी थिइन्, तर उनलाई आफैंले भोगेको पीडाको तह थाहा थिएन ।
–राजनारायण राई
ओई साइँली
सुन न अबदेखि
नदुखा तेरो हातको अम्लाहरुलाई
जसले हरेक दिन अरूकै लागि
चिया गाच्छ माथि माथि उडरहनु पर्छ ।
नउठा त्यो पुरानो थाप्ली तेरो तालुमा
तँलाई नै बेस्सरी बेस्सरी थिचेर
कहिले कहिले उठ्नै लाएन
त्यसैले
नपस्नु चियाघारी बिच बिचमा त्यो
घाम र पानीको मात्रता जोड्नु
त्यसले सुसारेको स्पर्श बुझ्दै बुझ्दैन
युगौं युगको पुरानो सम्बन्ध सम्झिदैन ।
बरू तिछोरिरहन्छ तेरो तिघ्राहरु
कहिले निको नहुने घाउ थपिरहन्छ
र मलमको साटो
नुन चुक बनिए पछि
कटकटी दुखाइदिन्छ
तेरो घाउ ।
अनि त्यही चियाघारीको आडमा लुकेर
त्यही घाउको केन्द्रबाट
हिंस्रक जुका, सर्प र मच्छरहरू
तेरो खुन चुस्न लुकिरहँदो रहेछ
चम्किरहँदो रहेछ नि देखिस् के ?
ओइ साइँली सुन न
बरु बनेर सालको पहिलो चिया मुनाले
तँलाई लोभ्याउन अघि
यसपालीदेखि तैँले
हातमा बेभस्टिन चिया औषधीको पिचकारी होइन
तर मला बाँसको लामो भाटा बोकी राख
र उडाई दे चिया पौलाको नयाँ शिर
धित मरिन्जाल हिर्काएर ।
अनि
बुट्टा बुट्टा उखेलेर मिल्काई दे
मधेश तिरै ताक्दै
जो फर्किएर फेरि खुनको
माटोमा उम्रनु त्यो नआओस् ।
र तेरो निको नभएको
युगौं युग पुरानो ति तिघ्राको घाउमा
तोरीको तेल धसीदिनु
एकक्षण पोल्छ दुख्छ नै
जो घाउ हो
घाउ दुखिरहनु भन्दा
दुखेर पोलेर नै पुरिनु पर्छ नि
फेरि फेरि नदुख्नुलाई
फेरि फेरि नदुख्नुलाई ।
–नारायण तिवारी
बाले भन्नुभएको थियो, “तेरो साथी होइन त्यो ? हेर त, त्यसले कत्रो बिल्डिङ्ग बनायो । त्यो खरदार मात्रै होइन ? तैँले अधिकृत भएर के नापिस्, नाथे !”
रमेशले काठमाडौंमा बिल्डिङ्ग बनाएको थियो । बाले देख्नुभएको थिएन, सुन्नुभएको थियो । पत्रिकामा साना कर्मचारीका ठूला महल भनेर छापिएको महलको रङ्गीन फोटो बालाई लगेर देखाइदिएँ ।
अब बाले फोटो हेरेर र रमेशको ‘कमाइ’को समाचार पढेर के भन्नुहुने हो कुन्नि ? पसिनाको कमाइमा सन्तोष मान्ने मलाई नाथे भन्नुहुने हो कि उसलाई ?
मेरी श्रीमतीसित मेरो सधैँ ठाकठुक पथ्र्यो ।
“यसो अलिअलि त खाए नि हुने ! अरूका स्वास्नीका कत्रा फुर्ती छन् । हाम्रा लोग्ने ‘हरिश्चन्द्र’ भएपछि कसको के लाग्छ !” उसका आफन्तसित यही कुरा, छरछिमेकसित यही कुरा अनि मसित यस्तै झगडा— रातोदिन ।
‘फ्ल्यास ब्याक’ आउँदै थियो र म सोच्दै श्रीमती भएतर्फ पाइला अघि सार्दै थिएँ ।
मनमा उत्साह थियो, हातमा थियो उही पत्रिका ।
मैले बिहानै प्रातः भ्रमणमा निस्किँदा भ्रष्टाचारीहरूलाई समातिएको खबर थाहा पाइसकेको थिएँ । हकरहरू जोडजोडले सुतेका मानिसहरूलाई मानौं जगाउँदै पत्रिका बेचिरहेका थिए ।
“अब मुलुकको मुहार फेरिने भो ! खबर आयो, लौ हेर्नुहोस्— अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचारीहरूका महलमा छापा ।”
मैले प्रातः भ्रमणबाट घर फिर्दा दूध किन्ने सधैँको रुटिनलाई तिलाञ्जली दिँदै पत्रिका किनेँ— एउटा होइन दुई–दुईवटा । सबैमा उही खबर थिए । म चाहन्थेँ उही विषयका थुप्रै खबरहरू पढ्न । त्यसै क्रममा मेरा खुट्टा मानौं दौड लगाइरहेथे घर पुग्न, पिताजीलाई भेट्न, पत्रिका देखाउन । उहाँले इसारा गरी लायक ठह¥याउनुभएका मानिसहरूका, उहाँले भन्ने गर्नुभएका ‘कमाइ’ को भन्डाफोर देखाउन । लु त अब कसरी तिनलाई लायक छोरा भन्नुहोला र मलाई र मजस्तालाई नालायक ?
तिनका पिताजीहरूले त्यही भ्रष्ट कमाइबाट खुट्टा हल्लाईहल्लाई खाएकोलाई सुख र आफूले बुढेसकालमा पनि काम गरेर गुजारा गर्नुपरिरहेकोलाई दुःख ?
लौत अब कसरी भन्नुहोला— ती भ्रष्टाचारीहरूका मातापिता भाग्यमानी र म र मजस्ता इमानदार छोराहरू जसले मीठो बोली बचनबाहेक आर्थिकरूपमा कुनै लछारपाटो लाउँदैनन् (बाका शब्दमा) तिनका मातापिता अभागी ?
जसले रेसमी वस्त्रमा मातापितालाई ढाकिदिन्छन् ती सपूतहरू र जसले दसैँमा खाकी वस्त्रको एकसरो लुगाबाहेक केही दिन सक्दैनन् ती कपूतहरू— लौत अब कसरी भन्न सक्नुहोला ?
मलाई पत्रिका हात लाग्नु मानौँ कुनै चिट्ठा हातलाग्नुझैँ भएको थियो । मेरो स्वाभिमानी स्वभावलाई पत्रिकाले लात्ताले किचेको थिएन बरु धेरै माथि उठाइदिएको थियो । म खुसीले ढक्क फुलेको थिएँ, फुल्दै गएको थिएँ ।
चारैतिरबाट— यहाँसम्म कि पत्नीबाट, छोराछोरीबाट अपहेलना सहँदा सहँदै धेरै जीर्ण–शीर्ण भइसकेको थिएँ । नजाने कुन दिन टुट्ने थिएँ— त्यो मै जान्दिनथेँ ।
अचानक निभ्न आँटेको दियोमा कसैले तेल भरिदियो । धन्यवाद ! अख्तियारका आयुक्तज्यू ! धेरै धन्यवाद ! तपाईंंले र तपाईंंका सहयोगीहरूले हाम्रो टुट्न लागेको मनोबललाई उठाइदिनुभएको छ । मसानघाटमा मात्र अन्त्य हुने जस्तो भइसकेको इमान र आचरणलाई बाँचेकै बेला कदर हुने आभास दिलाइदिनुभएको छ ।
नरोकिनुहोस्, अघि बढ्दै जानुहोस् आयुक्तज्यूहरू ! म र मजस्ताको शुभकामना छ ! बधाई छ !
पत्रिका बालाई देखाएँ । बाका प्रत्युत्तर सम्भाषण पनि सुन्ने धैर्य थिएन मलाई । म मानौं, भ्रष्टाचारीमाथि कारबाही भएको कारणले प्रफुल्ल भएको थिइनँ, थिचिएको, किचिएको र मृत्युतुल्य भएको इमान सम्मानित भएको अनुभूतिले हौसिएको थिएँ । बाको जबाफ सुन्ने पनि मलाई फुर्सद थिएन । मलाई त सधैँभरि गनगन गरिरहने आफ्नी पत्नीको यो खबरले उत्पन्न गर्ने अनुहार पढ्ने हतार थियो । सधैँको कचकचले अब विराम पाउने आशा थियो ।
कर्के नजर र सधैँको औँसी समाप्त भई दुःखमा पनि धैर्य गर्ने पूर्णिमाका जून मेरो घरमा अब सधैँ झुल्किनेछन् भन्ने ‘रमरम’ कौतूहल थियो ।
आफ्नो कोठामा पाइला राख्नेबित्तिकै झस्किएँ, श्रीमती त रोइरहेकी पो छिन् ।
मैलेभन्दा अघि नै तिनका कुनै आफन्तले त्यही पत्रिका ल्याइपुर्याइसकेको रहेछ ।
“तिमी पत्रिका हेरेर खुसी हुन्छ्यौ होली भनेको त झन् रुँदै पो छ्यौ ?”
“होइन तपाईंंले चिन्नुभएन त्यो मुख छोपेको फोटो ? मामा क्या मामा ।”
म झस्किएँ ! “को मामा भन्या ?”
“एउटा मामा त छन् मेरा ! मधुवन मामा ! भन्सारमा हुनुहुन्थ्यो नि ।”
“ए साक्खै मामा हगि ! एक चोटि त भेट भाको हो मेरो !” मेरो मुखबाट व्यङ्ग्य निस्कियो ।
एक चोटि यिनै श्रीमतीको जोडले सरुवाका लागि भन्न म पुगेको थिएँ— उनै कंश मामालाई ।
मलाई आफू उनको साक्खै भान्जीको श्रीमान् भएको कारणले ज्वाइँ भएको नाता प्रमाणित गर्न साह्रै कठिन परेको थियो ।
बोल्न पनि पैसा लाग्छ भनेजस्तै गरी भनेका थिए, “म फोन गरिदिउँला !” अनि मेरो खुट्टामा हेरेका थिए । जुत्ता बाहिर खोलेर भित्र पसेको मेरो मोजा गनाएको थियो उनलाई ।
मेरो विपन्नताको जुत्ता खियाइमा मोजा गनाउनु कुनै ठूलो कुरा नभएको आत्मसात् गर्न सक्दैनथे ! धन र कुर्सीको मातले उनी आफू भएर मात्र सोच्ने कोटीमा दर्ता भइसकेका थिए । अरू भएर सोच्न सक्दैनथे ।
छ्या, छ्या, छ्या ! तिनै भ्रष्टाचारी कंश मामाको अपराधमा सहानुभूति देखाउँदै छे कमला !
मलाई दिगमिग लाग्यो । घृणाले मुखभरी थुक भरियो । झ्यालमा पुगेर पिच्च थुकिदिएँ ।
“ए कमला ! म तिम्रो मामाकहाँ जाबो सरुवाका लागि पुग्या होइन ? के सरुवा गरिदिएका थिए तिनले ? चिन्न त गाह्रो मानेका थिए, थाहा छैन तिम्लाई । फेरि म नियमभित्रकै सरुवा भन्दै थिएँ । म दुर्गममा जति बस्नुपर्ने त्यसको दोब्बर बसिसकेको भन्दै थिएँ । तिमीले आफैँ भन्यौ, मामा बद्लिनुभएको रहेछ, पहिले यस्तो हुनुहुन्नथ्यो । केटाकेटीले भनेको होइन, अब आमाको मामाघर कहिल्यै नजाने । पैसाले मात्तिएका त्यस्ता आफन्त कारबाहीमा परे भनेर रुने तिमी ? छ्या, छ्या, छ्या !” मैले लामै भाषण पिलाएँ ।
उनीभित्र पनि मृत रहेको ईख ब्यूँतिएछ । उनको अनुहारमा परिवर्तन आएको मैले महसुस गरेँ ।
मैले फेरि अर्को वाण चलाएँ, “ज्वाइँले के त्यो इँटालाई लिपेर टिनको छाना हाली चर्पीघरजस्तो घर बनाएका लुम्रे–झाम्रे भएर पनि हुन्छ, पैसा कमाउनुपर्छ पैसा भन्नुभयो भनेर तिमीले नै मामाले साह्रै खसालेर त्यसो भनेकामा चित्त दुखाएकी होइन ?”
फेरि भनेँ, “मैले सडकमा साइकल कुदाएको देखेर ‘कस्ता लाछी ज्वाइँ परेछन् अधिकृत भएर पनि सडकमा साइकल कुदाएका, लाज पनि नलाग्ने’ भने भनेर तिमीले नै मलाई सुनाएकी होइनौ ?”
उनलाई मेरो कुरा घत लागेछ । मौन थिइन् तर, छिनभर अघिको रुन्चे मुहार केही न केही बलेछ । आगो नै भएर नबलेकी भए पनि उनीभित्र फिलिङ्गो अवश्य बलेछ । सन्तोषको निःश्वास तानेँ मैले । कमला अब औँसीको अँध्यारो नभएर पूर्णिमाको उज्यालो हुनेछे । मेरो आत्मबललाई डगाउने होइन झन् मजबुत तुल्याउने सहयात्री हुनेछे ।
समय बित्दै गयो । हाम्रो दैनिकी चल्दै रह्यो । कमलाको असन्तोषी स्वर पुनः झाङ्गिन थाल्यो । मैले महसुस गर्न थालेँ ।
“खोइ ! तपाईंंको त्यो अख्तियार ? कता हरायो आजकाल ? बाइस जनालाई कारबाही गर्न बाइस महिना लाग्छ भने अरूलाई कहिले कारबाही गर्ने ?” उनले मानौँ मेरो आशावादितालाई ङ्याक्न खोजिन् ।
“भ्रष्टाचारीलाई कारबाही भएर तपाईंंको इमानले कहिले पाउने पुरस्कार ?”
मलाई लाग्यो उनी भन्दै छिन्, इमानको कमाइले कहिले जिन्दगी सुखी बन्छ ? इमानको कमाइले कहिले ओठमा हाँसो खुल्छ ?
मलाई लाग्यो, सन्तोषी भएर पनि त भएन । हावा खाएर मात्र पनि त बाँच्न सकिँदैन । पैसा त चाहियो–चाहियो !
भ्रष्टाचारलाई समुलमा नष्ट पारे त हो नि— इमानले पनि मोटरमा हुइँकिन पाउने !
तर कहिले ?
के ती बाइस जना मात्रै हुन् त भ्रष्टाचारी ?
यतिका दिन बितिसक्दा पनि किन अरूहरूलाई ठिँगुर्याउन नसकेको ?
के भ्रष्टाचारीमाथिको कारबाही नाटक मात्रै हो त ? राजनीति मात्रै हो ? म चिन्तित हुन्छु ।
टेलिभिजनमा खबर आइरहेछ— अख्तियारले भ्रष्टाचारी भनिएका व्यक्तिलाई धरौटीमा रिहा भएपश्चात् उनका इष्टमित्रहरूले फूलमालाले स्वागत गरे ।
–मधुसुदन अधिकारी
एकदिन आसामको रेलुवे प्लेटफर्ममा मधेशी र पहाडेको भेट भयो । उनीहरू आसाम आएको उद्देश्य के कारण हो एक अर्कालाई सोधखोज गर्न थाले । मधेशीले भन्यो, “साथी ! मेरो जन्मस्थानमा सानोतिनो रोजगार गरिखान लाज लाग्यो र आसाम आएको सानोतिनो रोजगार गरी धन कमाउन ।”
मधेशीले उसको मनका कुरा भनेपछि पहाडेले पनि उसको मनका कुराहरू भन्न थाल्यो, “साथी ! मेरो पनि तिम्रो जस्तै समस्या छ । पहाडमा साह्रै कष्ट, दिनरात भारी बोकेर हिँड्नु, दुःख धेरै गर्नुपर्ने, पैसा थोरै हुने । यहाँ आसाममा त एक अर्कालाई बहुतै उपकार गर्छन् रे, सुनेको थिएँ र म पनि आसाम आएको ।”
यसरी एक अर्काको दुःख सुख कुराकानी गर्दै “फेरि भेटौंला” साथी भन्दै शहरभित्र पसे । मधेशी शहरको ठूलो एउटा पसलमा काम गर्न लाग्यो । चार÷पाँच महिना पसलमा काम गरेपछि मधेशीले एउटा स्टोप किन्यो र शहरको फुटपातमाथि एउटा पानीपुरीको पसल खोल्यो ।
शुरूवातमा पानीपुरीको पसल थोरै नै ग्राहकहरु हुन्थे, पछि गएर पानी पुरीखाने ग्राहक निकै हुन थाल्यो । विस्तारै मधेशीले उसको मधेशी फहराउँदै ति बिरालाका कान जस्तै पानीपुरी एकातिर र अर्कातिर चार्ट मसाला, आमलेटहरु पनि राख्न थाल्यो । यसरी उसको पानीपुरीको पसल निकै चल्ती हुन थाल्यो ।
शहरका केटाकेटीहरु, बेलुकी ट्यूसन पढ्न जाँदा आउँदा त्यही बाटो पथ्र्याे र त्यही नै सबैको भेटघाट हुन्थ्यो । शहरका फुटपाटमाथि सानो उद्योग गरी मधेशीले एउटा ट्रक गाडी किन्यो । आफ्नो बालबच्चा परिवार सबैलाई एकै ठाउँमा भेला पार्यो ।
यता पहाडे शहरको नाला नालीको दुर्गन्ध सहन नसकेर उ घनघोर जङ्गल खोज्दै गाईवस्तु पाल्न हिँड्यो । निकै दिन यताउता बराल्लिएपछि पहाडे एकजना महाजनको गोठमा पुग्यो । आफ्नो वृतान्त सबै बताएपछि महाजनले उसलाई गाई गोठालो राखे । दिनभरी झरी, बादल, जुका, काँढा कष्ट सहेर गाई चराई बेलुकी गोठमा आउँथ्यो । राति दूध र भात खान पाउँदा दिनभरीको थकाई सबै बिर्सिन्थ्यो । यसरी दुई/चार वर्ष अर्काकोमा गोठालो बसेर पहाडेले पनि आफैं नै एउटा गाईगोठ बनायो । आफूँ बसेको ठाउँ विकास हुँदै जान थाल्यो र उसलाई त्यहाँ बस्न मन लाग्न छाड्यो । एक ठाउँमा बसीरहे लेऊ लाग्छ, हिँडेरहे छेऊ लाग्छ । भन्थे हाम्रा बुढापाकाहरुले साँच्चै हो रहेछ । पहाडेको हिँड्ने बानी भएकोले उ अझै जंगल फाँड्न हिँड्यो । पहाडेले आफ्नो गोठ बसाइँ सा¥यो र त्यहीँ बस्न थाल्यो । नयाँ ठाउँमा उसको गाई वस्तुलाई फापेन गाईवस्तु खोरेत रोग लागेर सबै मर्दै गए ।
राज्यमा जाती, वर्ण, धर्म लिएर ठूलो एउटा राजनैतिक आन्दोलनको खुल्दुली मच्चियो । यो देखेर मधेशीले आफ्नो एउटा ट्रक गाडीमा सबै समान, बालबच्चा हाल्यो र भारत–नेपालको समतल क्षेत्रमा सानो उद्योग गर्न थाल्यो । हुलमुलमा ज्यान जोगाउनु अनिकालमा बिऊ जोगाउनु पर्दछ भन्दै पहाडे पनि उसको आफन्त पुर्खाहरुलाई पहिल्याई उसको जम्मस्थान पहाड पुग्यो । धेरै वर्षपछि आफ्नो पुर्खेउली खोज्दै गएको पहाडेलाई जन्म स्थानमा कसैले नचिन्ने भए ।
अंशवण्डा दिनुपर्छ भन्ने डरले उसको दाजुभाइले पनि चिनेनन् । “एकै आमा–बाउका सन्तान पनि धेरै वर्षपछि भेट हुँदा चिन्दा रैनछन् थुक्क !” भन्दै दुई देशका समतल क्षेत्रमा पहाडे आयो । त्यहाँ उसले आसामको रेलुवे प्लेटफर्ममा भेटेको साथी मधेशीलाई भेट्यो र आफ्नो सबै कुरा बतायो ।
मधेशीले भन्यो, “हेर साथी ! अहिल्यै हालैमा म यहाँका मधेशी संगठनको नेता बनेको छु । तिम्रो दुःख दर्द सुन्ने मेरो समय छैन् । तिमी जस्ता पहाडे त यहाँ कति छन् कति ।”
पुरानो साथीको जवाफ सुनेर पहाडे निकै दुःखी भयो । उन निर्विकल्प बनेर फर्कियो ।
– बलराम तिमिल्सिना
उसले भन्यो– जातलाई नउचाल
ऊ पक्कै जातलाई थिचिराख्ने हुनुपर्छ
यसो भन्ने मान्छे पनि
पक्कै कुनै जातकै हुनुपर्छ
यसो भन्ने मान्छेले
कैयन जातलाई दबाएको हुनुपर्छ
र ती जातिहरूलाई उचाल्दा
उसको जातलाई अप्ठेरो हुनसक्छ
त्यसैले आफ्नो सजिलोको लागि
उसले जातलाई नउचाल्न
कडा आदेश गरेको हुनुपर्छ ।
उसले फेरि भन्यो–
धर्मलाई नउचाल
यसो भन्ने मान्छे पनि
कुनै एउटा धर्म मान्ने हुनुपर्छ
सम्भवतः उसले मान्ने धर्म
यो देशको राज्य–धर्म
या सो सरहको हुनुपर्छ
उसको धर्मले युगौँदेखि
अरु धर्मलाई ङ्याकेको हुनुपर्छ
त्यसरी अरुलाई ङ्याक्न पाउँदा
यसो भन्ने मान्छेलाई मजा आएको हुनुपर्छ
अरु धर्मलाई उचाल्दा
उसले ङ्याकिरहेका धर्म माथि पर्ने
या उसको धर्म बराबर हुने खतरा देखेको हुनुपर्छ
त्यसैले उसले धर्मलाई नउचाल्न
कडा आदेश गरेको हुनुपर्छ ।
उसले अन्तिममा भन्यो–
अरु कुरा छोड वर्गका कुरा गर
यसो भन्ने त्यो मान्छे पनि
एउटा वर्गको अनिवार्य हुनैपर्छ
उसको आदेश निर्देशको छाँटकाँट हेर्दा
ठाँटबाँठ सबै हेर्दा
पुख्र्याैली हिसाबले नभए पनि
ऊ कुनै पुँजीपतिको छाउरो हुनुपर्छ
या त तस्कर, या त घूसखोर
या त दलाल, व्यापारी
या त नोकरशाह हुनुपर्छ
उसले अरु वर्गका कुरा नगर
केवल पुँजीपतिका गर भन्न खोजेको हुनुपर्छ
केवल पुँजीपतिको सेवा गर भनेको हुनुपर्छ
सबै सबै कोणबाट हेर्दा
उ मजदुर र किसान चुस्ने जुकै हुनुपर्छ
तर बेकारमा लफडामा परिएला भनेर
वर्गका कुरा मात्र गर भनेको हुनुपर्छ
सायद जात र धर्मका कुरा
मानिसहरूले झट्टै बुझ्ने
र वर्गका कुरामा अलमलिने भएकोले
उसले वर्गका कुरा गरेको हुनुपर्छ ।
म सोचिरहेको छु
पुँजीपति वर्गको सत्ता ढालौँ
र सर्वहारा अधिनायकत्व कायम गरौँ
केही गरी हामीले यसो भन्यौ भने
यसरी वर्गका झर्रा कुरा ग¥यौं भने
भर्खरसम्म वर्गका कुरा मात्र गर भनिरहेको मान्छे
हामीले वर्गकै कुरा गर्दा
अझ बढी रिसाउने छ र हुन सक्छ
पक्कै बन्दुक लिएर आउने छ ।
काठमाडौंः प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’लाई सम्मान गरेको छ । प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘सञ्चार माध्यममा कार्टुन र आचारसंहिता अन्तरक्रिया कार्यक्रम’मा उनलाई सम्मान गरिएको हो ।
सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणमणि हार्तम्छालीले प्रेस काउन्सिल नेपालले सिर्जनात्मक सन्देश दिने कार्टुन विधालाई स्थान दिँदै यस विधालाई थप उजागर गर्न आवश्यक रहेको बताए । उनले भने, ‘काउन्सिलले सिर्जनात्मक कार्टुनिस्टलाई जीवित बनाउन जरुरी छ ।’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक व्यक्तिले कार्टुनको मर्म बुझिदिन जरुरी रहेको बताए । उनले भने, ‘कार्टुनिस्टले बनाएको कार्टुनको व्यङ्ग्यलाई राजनीतिज्ञलाई अन्यथा नलिन र रचनात्मकरुपमा मात्रै लिन अनुरोध छ ।’
कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले कार्टुनिस्ट जहिले पनि राज्यको प्रतिपक्ष भूमिकामा रहने हुँदा कतिपय अवस्थामा दुःख पाउने गरेको बताए । उनले भने, ‘सरकारबाटै कार्टुनिस्ट सधैँभरी त्रासमा रहेर काम गर्नुपर्ने अवस्थालाई काउन्सिलले सुरक्षा प्रदान गर्नुपर्छ । कार्टुनले राज्यको विकृति÷विसङ्गतीलाई उजागर गर्दछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’
कार्टुनिस्ट अविन श्रेष्ठले कार्टुन र पत्रकारिता गाँसिएको विषय भए पनि काउन्सिलले कार्टुन विधालाई स्थान नदिएको भनि दुखेसो व्यक्त गरे । उनले भने, ‘कार्टुनिस्ट पेसा लोपन्मुख हुन थालिसक्यो यसको अस्तित्व कायम राख्न काउन्सिलले भूमिका खेल्नुपर्छ । नवप्रवेशी कार्टुनिस्टलाई प्रोत्साहन गर्न त्रासको वातावरण अन्त्य हुनुपर्छ ।’
बाह्रखरी डट कम अनलाइनका कार्टुनिस्ट राजेश केसीले कार्टुनिस्टहरुले आफ्नो परिचय नपाएको बताए । उनले भने, ‘प्रेस प्रतिनिधि पास कार्टुनिस्ट भनेर पाइदैन । कार्टुन विधालाई परिचय दिनुपर्छ । काउन्सिलले स्पष्टिकरणका लागि पत्र काट्दा विज्ञसँग छलफल गरेर मात्रै पत्र काट्नुपर्छ नभए काउन्सिलकै विज्ञतामाथि प्रश्न उठ्न सक्छ ।’
–शुक्रराज कुँवर
रेशम चौबीस वर्षीय युवा, आधुनिक रहनसहनमा अभ्यस्त । उ पनि २०÷२२ दिनदेखि घरमै बन्धक थियो । दुई/चार दिन त अटेरी गरेर बाहिर नगएको पनि होइन तर, पुलिसको भाटा बचाएर भाग्न सफल भएको मान्छे पनि हो, त्यसैले उ घरमा बस्न बाध्य थियो । खासमा त उ मान्छे अटेरी नै हो ।
घरमा बस्दा–बस्दा उ आफूले बिताएका रमाइला क्षणहरू सम्झन पुग्छ । एक÷एक गरेर ‘गलफ्रेण्ड’ सँग बिताएका रमाइला क्षणहरू एकपछि अर्को गर्दै उसको आँखा अगाडि झलझली नाच्न थाल्छन् । उ आफै पनि सलक्क मिलेको जीउडाल परेको कम्ता ‘हेन्डसम’ थिएन । त्यसैले केटीहरू उप्रति हुरुक्क हुन्थे । डेटिङ जाने नाइट क्लब धाउने, नाच्ने, गाउने डिस्को पार्टी आदि नियमित क्रियाकलाप नै थिए उसका लागि । तर, पनि यो एउटा स्वास्थ्य मनोरञ्जन मात्र थियो, त्यस्तो कुनै उच्छृङ्खल व्यभिचार केही थिएन ।
अनिश्चितकालीन लकडाउन र निषेधाज्ञाले उसको दैनिकी नराम्रो गरी बिगारेको थियो । आफ्ना सबै केटी साथीहरूसँग भिडियो च्याटमा गफिनु बाहेक अन्य कुनै उपाय थिएन । दिनहुँजसो एउटै दैनिकी एकदमै अत्यास लाग्दो थियो उसका लागि । कोही राम्रा केटी मान्छेको रूप नदेखेको पनि धेरै भइसकेको थियो । एकदिन साँझपख उ टहल्दै घरको छतमा पुग्यो, चिसो हावा सरर चलिरहेको थियो, हल्का रोमान्चित पनि भयो । यसो टहल्दै गर्दा उसको नजर पल्लो घरकी रेश्मा माथि पर्न गयो ।
रेश्मा उसको बाल्यकालदेखिकै साथी, सँगै खाँदै खेल्दै हुर्केको भन्दा पनि हुने । एकआपसमा तँ–तँ र म–म चल्थ्यो उनीहरूको बिचमा । आज केटीको खडेरी परेको बेला रेश्मामाथि उसको नजर अडियो । “आहा कति राम्री रेश्मा” उसको अनुहारमा चमक छायो र निकैबेर रेश्मालाई हेरिरह्यो मात्र तर, बोलाएन । राती सुत्ने बेलामा पनि रेश्मालाई सम्झ्यो, कल पनि ग¥यो छिमेकी हो, सामान्य गफगाफ भयो । कति अरु केटी साथीहरुसँग मात्र गफिनु यो उसको लागि नयांँ सिलसिलाको शुरुवात थियो ।
दिनभरी घरैमा बसिरहनु पर्ने बाध्यता । उसँग समय व्यतीत गर्ने माध्यम बन्दै थिइ रेश्मा । बेला–बेला रेश्मासँग गफ गर्नु, जिस्किनु उसको दैनिकी बन्दै गइरहेको थियो र यसमा उसलाई मजा पनि आइरहेको थियो । जानेर वा नजानेर उसलाई रेश्मा मन पर्न थालेको थियो र रेश्माको आँखा छलेर पटक–पटक रेश्मालाई हेर्नु उ अभ्यस्त भइसकेको थियो । रेश्मालाई हेरिरहुँ, देखिरहँ जस्तो लाग्थ्यो उसलाई । कता–कता माया बसे जस्तो । के यो माया हो ? आफैले आफैलाई प्रश्न गथ्यो । “हैट... छिमेकी पो हो त” पुनः सम्हालिन्थ्यो उ ।
उता रेश्मा पनि हेर्दा सोझी तर, मनकी बाठी थिई । रेशमले कति चोटि, उसको आँखा छलेर उसलाई हेरेको उसले ‘नोटिस’ नगरेकी पनि होइन । यसरी हेर्दा उसले कति पटक रेशमलाई ‘ओई के हेरेको’ भनेर भनेकी पनि हो । तर पनि उसलाई रेशमले त्यसरी हेरेको भित्र भित्रै मन परिरहेको थियो । यसरी रेशमले उसलाई बारम्बार हेरिरहँदा अरु बेलाभन्दा अलि बढी राम्री बन्न मन लाग्थ्यो र ऐना अगाडि बसेर अलिबढी सझधझ पनि गर्थी । यस्तो बेला रेशमले ‘ओई कति राम्री भाकी’भन्दा भित्रभित्र फुरुङ्ग पर्थी ।
बेला–बेला ऐना अगाडि उभिएर एकछिन र अगाडि पछाडि ओल्टिकल्टि पर्दै आफ्नो शरीर नियाल्न थाल्थी । यस्तो त उसले कहिले गरेकी थिइन । ‘साँच्चै शरीर त कसिलो सुडौल पो रहेछ’ मनमनै भनी र अलिअलि आफैसँग शर्माए जस्तो पनि गरी ।
“उफ ! यो लकडाउनले ... वल्लो घर पल्लो घर ‘लभ’ पर्ला जस्तो पो भो त । यो के भएको, देख्न हेर्न पाउनु केही छैन, त्यहीँ एउटी रेश्मा, नजिकको देउता हेला भन्छन्, आज उहीँ प्यारी लाग्दै छ, साँच्चै रेश्मासँगै बिहे भयो भने ? छि ! पल्लो घर नै ससुराली, हा हा हा... ।” यस्तै कुरा मनमा खेलाउंदै रेशम हल्का हाँसिरहेको थियो ।
“होइन किन एक्लै हाँस्छ यो ?” आमा बोलेको सुनेर झसङ्ग भयो उ ।
“होइन, होइन केही होइन, त्यतिकै”, आमालाई जवाफ फर्कायो उसले । रेश्माको पनि यस्तै हाल थियो उता । रेशमलाई सम्झिनु मुस्कुराउनु, उसकै नाममा श्रृङ्गार पटार गर्नु एउटा दैनिक ‘रुटिन’ जस्तै भएको थियो उसको लगि । “के यो प्यार हो ?” आफैले आफैलाई प्रश्न गर्थी ।
“छि छि छि,,, रेशमसँग बिहे भयो भने त,,, त्यहीँ तल्लो घर ससुराली”, सम्झेर पनि उसलाई लाज लाग्थ्यो र भन्थी “हैट यस्तो हुँदैन ।”
तैपनि वल्लो घर पल्लो घर माया बसेको कुरामा रेशम रेश्मा दुबै अनुभूत थिए । एकअर्कालाई मन पराउन थालेका थिए तर, व्यक्त गर्न सकेका थिएनन् । दुबैको आ–आफ्नो दिनचर्या चलिरहेको थियो । एक दिन रेश्मा घरको छतमा राखिएका गमलाका फूलहरू गोडमेल गर्दै थिई । उ आफ्नो काममा आफ्नै धुनमा मस्त थिई । रेशम पनि टहल्दै आफ्नो घरको छतमा पुग्यो र उसको नजर रेश्मामा प¥यो । कसिलो लुगा लगाएर आफ्नो काममा मस्त रेश्मा बिछट्टै राम्री देखिएकी थिई । काममा व्यस्त हुँदाको असावधानीले होला उसको सल सर्केर पुष्ट छाती स्पष्ट देखिरहेको थियो । रेशमले एकटक लाएर आँखा झिमिक्क नगरी रेश्मालाई हेरिरह्यो । यसो गर्नु उसको आदत जस्तै भइसकेको थियो । उसले यसरी हेरिरहेको रेश्माले थाहा पाई र लजाएर सम्हालिदै भनी “ओई के हेरेको ?”
“हैन हैन तँ राम्री देखिएकी छस् अनि त्यहीँ भएर तँलाई हेरेर ‘आँखाको विष’ मारेको नि” ठट्यौलो पारामा जिस्किदै रेशमले भन्यो ।
प्रेमको मामलामा पुरूषको तुलनामा नारीहरु अलि बढी गम्भीर हुन्छन् । रेशमसँग प्रेमको आँकुरा झाङ्गिन खोज्दै थियो । उसको अकस्मातको यस्तो हरकतले रेश्मा लज्जित भई र धारे हात लाउँदै आक्रोश व्यक्त गरी “थुक्क.. तँलाई बजिया ।”
रेशम हाँस्दै खितखिताउँदै तल बैठक कोठा तिर गयो ।
तर, त्यहाँ अर्को अचम्म देख्नु प¥यो । ‘कोभिड–१९’ले निम्त्याएको लकडाउनको प्रभाव सबै तप्काका व्यक्तिहरूलाई उस्तै गरी परेको रहेछ । उसको पूजनीय पिताजी समेत झ्यालबाट चियाएर तल्ला घरे आन्टीलाई हेर्दै आँखाको विष मारिरहेका थिए ।
–अच्युतमान सिंह प्रधान ‘उत्सुक’
हिन्दु नेपालीहरूको महान चाड हो, दशैं ।
खुसी, हर्ष र उमङ्गको पर्व हो, दशैं ।
शरद ऋतुको आगमन लिएर आउँछ, दशैं ।
सबै नेपालीहरूको घर दैलोमा आउँछ, दशैं ।
भएका छन् खुशी सबै, महान चाड दशैंको आगमनले ।
छाएका छन् मधुर मुस्कान, सबै नेपालीको मुहारमा ।
भएका छन् चहलपहल दशैंको, गाउँ होस् या शहरमा ।
सबै व्यस्त छन्, घरआँगन सफाइ गर्न र सजाउनमा ।
भीड भाड छन्, पसल, सपिङ्ग मल आदि जहाँ तहीँ ।
सजिएका छन् शहर बजार सबै, दुलही सरी ।
भरिएका छन् बजार सबै, नयाँ–नयाँ लुगा लत्ता कपडा आदिले ।
देखिन्छन रङ्गी चङ्गी चङ्गाहरू निलो आकाशमा ।
उड्छन् चङ्गा माथि–माथि आकाशमा ।
लामो छुट्टी हुन्छ दशैंको स्कुल, कलेज सबै तिर ।
त्यस्तै बन्द रहन्छन् अफिस र कार्यालय सबै तिर ।
फर्कन्छन् आफ्नो गाउँ ठाउँ परिवारसँग मनाउन, दशैं ।
विदेशिएकाहरू पनि फर्कन्छन् खुसी बोकेर ।
दुर्गा भवानीको मन्दिर जहाँ तहीँ भिडभाड हुन्छ, दशैं भरि ।
बाँधेका हुन्छन् खसी बोका, हाँस, कुखुरा घर आँगन जताततै ।
पाक्छन् मिठो र मसिनो परिकार गक्षअनुसार भान्छामा ।
मासुका अनेक परिकार पाक्छन् घर घरमा ।
रमाइलो गरी पिङ खेल्छन् पक्षीको तालमा ।
नयाँ लुगाफाटो र कपडाले सजिन्छन् सबै ।
दशैंभरि हुन्छ पुजा, भवानी दुर्गाको ।
घर–घरमा रोपिन्छ जमरा घटस्थापनाको
दिइन्छ बलि, दुर्गा भवानीलाई अष्टमी र नवमीमा ।
मान्यजनको हातबाट थाप्छौ टिका, विजया दशमीमा ।
भगवान रामले विजय प्राप्त गरेको हो यो दिन ।
दिन्छन् आशीर्वाद रातो टिका लगाई शिरमा ।
यस्तै गरी मनाउँछौ ‘दस’ दस दिनमा ।
मनाऔँ सबैले रिस द्वेष हटाई ।
मेल मिलाप र मातृत्वको भावना जगाई ।
महान् बनाऔँ दशैँलाई खुसी साटौँ टिका र जमरा लगाई ।।
काठमाडौं : बूढानीलकण्ठ साहित्य समाजले आफ्नो नियमित कार्यक्रम अन्तर्गत विजया दशमीको पूर्वसन्ध्यामा जुम प्रविधिमार्फत विशेष कवि गोष्ठी सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको सभाध्यक्षतामा भएको उक्त गोष्ठीको प्रमुख अतिथिमा वरिष्ठ आख्यानकार एवम् समाजका सल्लाहकार भागीरथी श्रेष्ठ रहेका थिए ।
गोष्ठीमा कविता वाचन गर्ने कविहरुमा प्राज्ञ चेतनाथ धमला, सुशीला प्रधानाङ्ग, राधा दुलाल कार्की, देवकी खतिवडा, अनु खड्का, गंगा अभिलाषी (अमेरिका), सीता अधिकारी, सरिता तुलाधर(बिराटनगर), सीता विष्ट कार्की, श्रीराम क्षेत्री, उमिककला पन्त पाण्डे, गंगा पौडेल(अमेरिका) लगायत थिए ।
वाचित कविताहरुमाथि समीक्षक डा. शैलजा पोखरेलले सटिक टिप्पणी गरेकी थिइन् । वाचित कविताहरुको मूल मर्म र उद्देश्यको तहसम्मै पुगेर गरिएको समीक्षात्मक टिप्पणी अत्यन्त सान्दर्भिक पनि थियो ।
समाजका उपाध्यक्ष श्रीराम क्षेत्रीले स्वागत मन्तब्य राखेको कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले कार्यक्रम सफलताको कामना गर्दै बूढानीलकण्ठ साहित्य समाजको उत्तरोत्तर प्रगतिको कामना गरेकी थिइन् ।
कार्यक्रममा साहित्यकार ललिता दोषीले पनि शुभकामना मन्तव्य प्रकट गरेकी थिइन भने डा. अपर्णा पोखरेलको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन साहित्यकार सुधा मैनालीले गरेकी थिइन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies