काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ अवार्डबाट बेलायतमा सम्मानित भएको छ । बेलायतस्थित द फाइनान्सियल टाइम्सले एक कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गरेका छन् ।
समारोहमा करिव एक सय भन्दा बढी देशका बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतका अधिकारी गरी करिब ३ सयजना भन्दा बढीको उपस्थिति रहेको थियो ।
सञ्चालक समितिका अध्यक्ष पाण्डेले बैंकिङ क्षेत्रको ओस्कार पुरस्कार मानिने विश्वको प्रतिष्ठित बैंक अफ द ईयर २०२४को अवाड बैंकले प्राप्त गर्न सफल भएकोमा गौरवबोध गरेको र यसबाट आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिङ सेवासुविधा ग्राहकमाझ ल्याउन हौसला मिलेको बताए ।
त्यसैगरी सिइओ पोखरेलले यो अवार्ड सरोकारवाला निकायको सहयोग एवं कर्मचारीको अहोरात्र मिहिनेतबाट सम्भव भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यसहित सुशासन र प्रुुडेन्ट बैंकिङ तथा हरित बैंकिङका सेवा सुविधामा थप बल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
द फाइनान्सियल टाइम्सले वार्षिक रुपमा विभिन्न देशका बैंकहरुले गर्ने कार्यसम्पादन एवं गतिविधिलाई मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्ने गरेको छ । यसै अनुरुप वर्ष २०२४ को अवार्ड सिटिजन्स बैंकले प्राप्त गर्न सफल भएको हो ।