राजेश्वरी कार्की/मध्यान्ह
काठमाडौं : पशुपति क्षेत्र विकास कोषले शिवरात्रिलगायतका पर्वमा उपलब्ध गराउँदै आएको विशेष पासको व्यवस्था खारेज गरेको छ । मन्दिरमा दर्शनका लागि आउने सबै भक्तजन समान भएकाले विशेष पासको व्यवस्था खारेज गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाका अनुसार, व्यवस्थापनका लागि खटिएका व्यक्तिहरूले समेत यसपटक सहुलियत पाउने छैनन् । परिचयपत्रमार्फत आफ्नो व्यवस्थापन कक्षसम्म पुग्ने सुविधा उनीहरूलाई भए पनि दर्शन गर्ने सुविधा उनीहरूले पाउने छैनन् ।
‘सबै भक्तहरू हाम्रो नजरमा समान हुन् । त्यसैले हामीले यो व्यवस्थालाई यसपटकबाट हटाएका छौं,’ कोषका कार्यकारी निर्देशक डा. खतिवडाले मध्यान्हसँग भने । कोषले शिवरात्रि, तिजलगायतका पर्वहरूको भीड नियन्त्रणका लागि विगत केही वर्षदेखि विशेष पासको व्यवस्था गर्ने गरेको थियो । तर, यसमा व्यापक विकृति देखिएको थियो । विशेष पासको प्रबन्धलाई लिएर आलोचना बढेपछि कोषले यस वर्षबाट खारेज गरिदिएको हो । योसँगै राज्यका प्रमुख पाँच वरीयताबाहेककाले लाइन लागेरै दर्शन गर्नुपर्ने भएको छ ।
सहरवासीलाई निम्तो गर्न शोभायात्रा
कोषले आउँदो फागुन ९ गते परेको यस वर्षको शिवरात्रि पर्वको तयारी पनि तीव्र पारेको छ । यसका लागि कोषले शिवरात्रि पूजा मूल आयोजक समिति गठन गरेको छ । कोषका कार्यकारी निर्देशक डा.खतिवडाका अनुसार, तयारी तीव्र पार्दै ६ गते बिहान ७ बजे शोभायात्राको आयोजना गरिएको छ । सहरवासीलाई शिवरात्रिमा निम्ता गर्न कोषले यस्तो यात्रा गर्न लागेको हो ।
सहरबासीलाई निम्ता गर्न सुरु हुने सभायात्रा पशुपतिनाथ गेटबाट सुरु भई तिलगंगा, एयरपोर्ट, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वरसम्म पुग्नेछ । त्यहाँबाट गौशाला हुँदै भुवनेश्वरी प्राणगणमा आएर यसलाई समापन गरिने कार्यकारी निर्देशक खतिवडाले मध्यान्हलाई जानकारी दिए । खतिवडाका अनुसार, कोषले २० लाख हाराहारीमा भक्तजन भित्राउने लक्ष्य लिएको छ ।
सुरक्षाकर्मी र स्वयंसेवकले दिनेछन् सुरक्षा
पर्वका अवसरमा सुरक्षा व्यवस्था पनि यसपटक कडा पारिएको छ । कोषका अनुसार, हरेक लाइनमा सुरक्षाकर्मी र स्वयसेवक खटाइने छ । दशनार्थीहरूलाई सहजता प्रदान गर्न लाइन व्यवस्थापनलाई विशेष जोड दिइएको कोषले जनाएको छ ।
पशुपति क्षेत्र विकास कोष यसको व्यवस्थापन समिति रहनेछ । कोषले पशुपतिको दर्शनका लागि आउने भक्तजन तथा पर्यटकलाई सुरक्षित किसिमले दर्शन गराउन र पर्व व्यस्थापनको लागि समितिले सुरक्षा, स्वास्थ्य, भोजन, आवास, निःशुल्क जुत्ता चप्पल कक्ष, स्वास्थ्य शिविर लगायतका ११ वटा उपसमिति बनाएको कार्यकारी निर्देशक खतिवडाले जानकारी दिए ।
शिवरात्रिका दिन मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ला रहनेछन् भने भक्तजनहरूले आफूलाई पायक पर्ने ठाउँबाट प्रवेश गर्न सक्नेछन् । चाबहिलबाट मित्रपार्क र गौरीघाट हुँदै प्रवेश गर्ने भक्तजनका लागि उत्तर ढोकाको व्यवस्था गरिएको छ । जयबागेश्वरीबाट प्रवेश गर्नेले पश्चिम ढोका प्रयोग गर्न सक्नेछन् । एयरपोर्ट, गौशाला, पिंगलस्थान हुँदै सुमारी भवन उमाकाण्ड तर्फबाट आउने भक्तजनहरूका लागि दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था कोषले मिलाएको छ ।
यसपटक रातको समयमा पनि भक्तजनहरूले सहजै पशुपति दर्शन गर्न पाउनेछन् । जसका लागि सुरक्षा व्यवस्था कडा गरिएको छ । कोषका अनुसार, नेपाल प्रहरीका ४ हजारभन्दा बढी सुरक्षामा खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागबाट परिचालन हुने सुरक्षाकर्मी सादा पोशाकमा रहनेछन् । यसका अतिरिक्त ५ हजार स्वयंसेवक पनि कोषले परिचालन गर्दैछ ।
भक्तजनलाई खुसी पार्न चन्दन र भोजन
यसपटक कोषले भक्तजनका लागि चन्दनको व्यवस्था पनि गर्ने भएको छ । सबैको निधारमा चन्दन पुग्न सकोस र दर्शनार्थी सबै दिलखुस हुन् भनेर कोषले यस्तो व्यवस्था गर्न लागेको हो ।
दर्शनार्थीहरूको लागि भोजन, स्वास्थ्य, जलपान गराउन इच्छुक संस्थाहरूको लागि उचित व्यवस्थापन गरिदिएको उनले बताए । उनले भने, ‘आउने व्यक्तिहरू कोही पनि भोका नरहुन, उचित प्रकारका प्रबन्ध होस भन्ने तरिका अपनाएका छौं । शौचका लागि ट्वाइलेटको व्यवस्थापन पनि गरिएको छ ।
पशुपति वरिपरि सवारी निषेध
भक्तजनहरूको चापलाई मध्यनजर गरी एयरपोर्ट, गौशाला, बानेश्वर, मित्रपार्कदेखि सवारीसाधनमा निषेध गरिने छ भने पशुपति क्षेत्र परिसरभित्र पूर्ण रूपमा सवारीसाधन रोक लगाइएको छ । सिफल चौर, मित्रपार्क र नयाँ बानेश्वरलगायत स्थानमा सवारीसाधन पार्किङको व्यवस्था गरिएको छ ।
सवारीसाधन पार्किङ व्यवस्था कमजोर भएका कारण काठमाडौँ उपत्यकाका भक्तजनहरूलाई हिँडेर आउन खतिवडाले आग्रह गरेका छन् । शिवरात्रिको दिन ट्राफिक व्यवस्था भव्य, सव्य र उचित तरिकाको बनाइने भन्दै कोषले ढुक्क हुन भक्तजनलाई आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies