काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) महामारीका बाबजुद गत वर्ष उल्लेख्य काम भएको निष्कर्ष निकालेको छ । शुक्रबार भएको वार्षिक समीक्षा बैठकपछि मन्त्रालयका प्रवक्ता सुमन घिमिरेद्वारा जारी विज्ञप्तिमा मन्त्री रामेश्वर राय यादवले कोभिड–१९ का बाबजुद सन्तोषजनक प्रगति हासिल भएको उल्लेख गर्दै विभिन्न निकायहरुबाट उठान भएका भौतिक पूर्वाधार, जनशक्ति, विधि र प्रविधिमा सुधार गरी रोजगारी व्यवस्थापन, श्रम सम्बन्ध विकास तथा सामाजिक सुरक्षाका दायरा बढाउने गरी समन्वयात्मक रुपमा कार्यतालिकासहित परिणाममुखी कार्यान्वयनमा सक्रिय रहन निर्देशन दिएको उल्लेख गरेका छन् ।
मन्त्री यादवको अध्यक्षतामा भएको उक्त बैठकमा मन्त्रालय अन्तर्गत विभागीय प्रमुखहरुलगायत अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधिकोसमेत सहभागिता रहेको थियो । गत आर्थिक वर्ष उक्त मन्त्रालय अन्तर्गत पहिलो प्राथमिकताप्राप्त आयोजनाका ८ वटा र दोस्रो प्राथमिकता प्राप्त आयोजनाका ३ गरी ११ वटा योजनामार्फत ४९ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ ।
वैदेशिक सहायता तर्फको बजेट प्राप्त नभएकाले सो प्रगति कम देखिएको भन्दै विज्ञप्तिमा मन्त्रालय अन्तर्गत १ सय ४४ वटा मुख्य योजनामध्ये ८८ सम्पन्न तथा ४५ आशिंक सम्पन्न गरी जम्मा संख्याको ७५ प्रतिशत प्रगति हासिल भएको विज्ञप्तिमा उल्लेख्य छ ।
मन्त्रालयको बेरुजु फछ्र्यौट ५५.५० प्रतिशत र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत प्रगति भएको भन्दै मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कामको लागि पारिश्रमिकतर्फ ६० हजार ६० जनाले रोजगारी प्राप्त गरेका र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १ लाख ६८ हजार ८ सय ७० जना योगदानकर्ता आबद्ध भएको जनाएको छ ।
मन्त्रालय र मातहतको प्रस्तुतिमाथि राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले टिप्पणी गर्दै रोजगारी तथा सीप विकासमा केन्द्रित रही दीर्घकालीन लक्ष्य र पन्ध्रौं योजनाका सूचक अनुसारका रणनीति हाँसिल गर्न थप क्रियाशीलता आवश्यक रहेको सुझाव दिएका थिए ।
धन्यवाद मन्तव्य राख्दै सचिव तोयम रायाले विगतको अनुभवको आधारमा चालु आर्थिक वर्षमा थप प्रगति हासिलका लागि दृढतापूर्वक क्रियाशील हुन निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies