काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाकको महत्व बुझाउन इन्टरनेसनल हुलाक टिकट महोत्सव गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार काठमाडौंमा आयोजित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउने कार्यक्रममा उनले सरकारको लगानी क्षमता कमजोर नभएको भन्दै यस वर्ष इन्टरनेसनल हुलाक टिकट महोत्सव गर्न प्रस्ताव गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘इन्टरनेसनल हुलाक टिकट फेस्टिबल वा एउटा सेमिनार गरौं । यसमा के-के गर्नुपर्छ प्रस्ताव लिएर आउनुहोला । बजेट कति लाग्छ गरौंला । सरकार एक/दुई करोडका लागि गरिब छैन ।’ यसका साथै उनले प्रविधिको विकास भइरहेकाे समयमा हुलाक पछाडि परेको भन्दै हुलाकलाई प्रचार गर्ने काममा मन्त्रालय सधैँ सकरात्मक रहेको बताए ।
उनले भने, ‘आइटी वा धेरै प्रविधिहरुको विकास भयो । त्यसको प्रचारमा पनि हुलाक पछाडि परेको होला तर हुलाकलाई पनि प्रचार गरेर अगाडि लानुपर्छ । यो काममा मन्त्रालय सधैँ सकारात्मक छ । यही बेला केही न केही गर्न सक्नुपर्छ अनि मात्र यसको विकास हुन्छ र यसमा मन्त्रालय सधैँ साथमा छ ।’ हराउँदै गएको परम्परालाई भावी पुस्ताका लागि संरक्षण, प्रवर्द्धन र प्रचार गर्नुपर्ने उनको भनाइ छ ।