२०८१ चैत १ गते शुक्रवार / Mar 14 , 2025 , Friday
२०८१ चैत १ गते शुक्रवार
Ads

असल र लगनशील मोहनाथ काका !

hardik ivf
२०८१ चैत १ गते ०६:०५
असल र लगनशील मोहनाथ काका !

–बी. बी. रोका

केही मानिसहरू जीवनमा अविष्मरणीय हुन्छन् । सामाजिक हिसाबले, आत्मीय हिसाबले वा मार्गदर्शकका हिसाबले अभिभावकीय भूमिकामा रहेका हुन्छन् ।

मेरो जीवनमा यस्तै एक व्यक्ति आउनुभयो अचानाक । म एउटा तन्नेरी वयको युवा, १९–२० वर्षको । उहाँ परिपक्व मेरो बुबा समानको उमेरको हुनुहुन्थ्यो । सम्भवतः २०४९–०५० सालतिर हुनुपर्छ, बागबजारमा एक जना यस्तै व्यक्तिसँग मेरो भेट भयो । उहाँ हुनुहुन्थ्यो– मोहनाथ शर्मा, जसलाई मैले ‘मोहनाथ काका’को रूपमा सम्बोधन गरें ।

बागबजारको एउटा होटल, जुन होटल म्याग्दीकै एक जना दाइले संचालन गर्नुहुन्थ्यो । काका त्यही होटलको पहिलो तल्लाका २ वटा कोठा लिएर बस्ने गर्नुहुन्थ्यो र गाउँघरतिरबाट आएका युवाहरूलाई विदेश जान सहयोग गर्ने गर्नु हुन्थ्यो । त्यसबेला बस छुट्ने बसपार्क त्यही बागबजार भएकाले काठमाडौंबाहिरबाट बसाइ, भेटघाट गर्ने ठाउँ त्यही थियो ।

म लगनखेल दिदीको घरमा बस्थें । मसँग मोटरसाइकल थियो, त्यही लिएर दिउँसो घुमी हिँड्थे । म फुर्सदिलो थिएँ । मेरो घुमन्ते समयकै क्रममा उहाँसँग भेटघाट भयो । मलाई फुर्सदमा बसेको देखेर उहाँले भन्नुभयो, ‘बाबू, मलाई त्यो ठाउँ पुर्‍याइदिनुहुन्थ्यो कि !’

म पनि फुर्सदमै भएकाले यताउता उहाँसँग हिँड्न थालें । कहिलेकाहीँ मोटरसाइकलमा पेट्रोल पनि हालिदिएर सहयोग गर्नुहुन्थ्यो । युवा अवस्थामा त्यसले मलाई धेरै राहत पनि मिल्थ्यो ।

उहाँसँग हिँड्न थालेको पनि २–३ महिना नै भएछ । कहिलेकाहीँ मेरो स्कुलका ‘हेड सर’ शिव सरसँग पनि त्यहीँ भेट हुन्थ्यो । होटलवाला दाइ शर्मा काका र शिव सर गाउँले हुनुहुन्थ्यो । म घुमी हिँडेको देखेर शिव सरले उहाँहरूका अगाडि ‘भीम त हाम्रो स्कुलको राम्रो विद्यार्थी हो । एस. एल. सी.मा प्रथम श्रोणीमा उच्च अंक लिएर म्याग्दी जिल्ला टप गरेको, इन्जिनियरिङ कलेज पढ्न गएको केटो’ भन्नुहुन्थ्यो । मलाई जागिर भन्दा पनि स्वतन्त्र व्यापारले आकर्षित गरिरहेको थियो । त्यसै बीच मैले विवाह पनि गरें । विवाहपछि शर्मा काका र मेरो भेटघाट पातलिँदै गयो ।

त्यही क्रममा मेरो एक जना साथी, जो तनहुँका हुनुहुन्छ, हाल जर्मनी बस्नुहुन्छ, राजन अधिकारी, मलाई म्यानपावर व्यवसायमा भित्र्याउने श्रेय उहाँलाई नै जान्छ । उहाँ ठमेलमा ट्राभल एजेन्सी चलाउनुहुन्थ्यो । एकदिन उहाँले ‘भीमजी, म्यानपावर कम्पनी किन्ने हो ?’ भनेर सोध्नुभयो ।

शर्मा काकासँग २–३ महिनाको संगतले तत्कालीन म्यानपावर कम्पनी र संचालकलाई अलिअलि भए भनि चिन्ने र बुझ्ने मौका पाएको थिएँ । त्यस बेलाका लोटस म्यानपावरका संचालक पूर्ण राई (हाल राज ओभरसिसका संचालक), राजेन्द्रवीर राय (रारा म्यानपावर), स्वर्गीय बाबा कृष्ण गुरुङ (सांग्रिला म्यानपावर), अब्दुल सतार (तत्कालीन एसियन म्यानपावर, हाल मिडलइस्ट म्यानपावरका संचालक)को संगतले मलाई म्यानपावरप्रति अलिकति रुचि त लागेको थियो तर के कसरी संचालन हुन्छ, कानुनी प्रक्रिया के कसो हो भन्नेबारे केही थाहा थिएन ।

मैले उहाँलाई भनें,  ‘मलाई त केही आउँदैन ।’ उहाँले केही चिन्ता नलिन र १ जना अनुभवी तत्कालीन फाहद म्यानपावरमै काम गरिरहनुभएका उहाँका गाउँले आफन्त भएको बताउनुभयो । मैले आफ्नो भागको पैसा हाले मात्र हुने, बिस्तारै काम सिक्दै गइने भन्नुभयो ।

त्यसपछि हुनेवाला पार्टनर कृष्णहरि अधिकारीजी, तत्कालीन म्यानपावर दि गोर्खा रिइम्प्लोइमेन्ट प्रा.लि.का संस्थापक बलबहादुर गुरुङसँग भेट भयो । अधिकारीजी म्यानपावरको अनुभवी लाग्यो, गुरुङजी पूर्व निवृत्त आर्मीको हुनुहुँदो रहेछ । 

कृष्णहरिजीकै गाउँका वकिल नारायण गौलीको सहयोगमा सबै कागजपत्र मिलाउने काम भयो । पैसा पनि आफ्नो भागको दिएर कम्पनी रजिस्ट्रारको कार्यालयबाट काम सम्पन्न गरियो । 

तत्कालीन अवस्थामा साउदीको भिसा लगाउन बंगलादेशको ढाकास्थित साउदी दूतावास जानुपथ्र्यो । साउदीको भिसासम्बन्धी काम गर्नका लागि म कम्पनी संचालकको हैसियतले बंगलादेशस्थित नेपाली राजदूतावासको सिफारिस बनाएर भिसा स्ट्याम्पिङको काम हेर्न थालें ।

यसरी २ वर्षजति बितेको थाहा नै भएन । तर, अचानक कृष्णहरि अधिकारीजीले कम्पनी एक्लै संचालन गर्ने इच्छा गर्नुभयो । त्यसपछि मैले त्यो कम्पनी छाडेर अर्को कम्पनी खोल्ने निर्णय गरें ।

सायद, सन् १९९५–९६ तिर हो, म भर्खर २२–२३ वर्षको केटो । एक्लै काम गर्ने आँट पनि आएन । त्यहाँ लगभग २ वर्षको अनुभवले कम्पनी दर्ता र संचालन गर्ने तरिका बुझिसकेको थिएँ । मलाई अफिस हेर्न १ जना पाको मान्छेको जरुरत थियो । फेरि मैले शर्मा काकालाई नै सम्झिएँ ।

उहाँ त्यतिबेलासम्म यस्तै काममा सक्रिय हुनुहुन्थ्यो । मैले उहाँलाई पार्टनरसिपका लागि प्रस्ताव गरें । उहाँले स्वीकार गर्नुभयो । हामी एउटै जिल्लावासी पनि थियौं । उमेरले पाको शर्मा काका मेरा लागि एकदम सही छनोटको ब्यक्ति हुनुहुन्थ्यो । 

हामीले म्यानपावर खोल्न लागेको थाहा पाएपछि विष्णु राणा दिदी, जो वरदान ट्राभल्सको संचालक हुनुहुन्थ्यो, हामीले टिकटहरू उहाँबाट नै प्रायः काट्ने गथ्र्यौं । उहाँले पनि इच्छा देखाउनुभयो र आफ्नो छोरा राजीव लक्की भएको भन्दै उनका नाममा अलिकति शेयर लिने बताउनुभयो ।

त्यसरी मोहनाथ शर्मा, भीम रोका र राजीवविक्रम राणा ३ जना शेयर होल्डर हुनेगरी कम्पनी स्थापना गर्ने निर्णय गरियो । दर्ता प्रक्रियाका लागि मित्र शम्भु निरौलाजीलाई जिम्मा दिइयो । बरिष्ठ अधिवक्ताकोरुपमा शम्भुजी आजका दिनमा पनि हाम्रो छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कानुनी सल्लाहकार हुनुहुन्छ ।

अब नाम के राख्ने ? दुविधा भयो । नामबारे अन्तिममा हाम्रो नै नाम झल्किनेगरी मोहनाथबाट ‘मो’, भीमबाट ‘भी’ र राजीवबाट ‘रा’ गरी ‘मोभिरा’ नामकरण गर्ने प्रस्ताव गरें मैले । उहाँहरूले पनि स्वीकार गर्नुभयो ।

यसरी विधिवत रूपमा म उहाँसँग मिलेर काम गर्न थालें । उहाँ अनुभवी हुनुहुन्थ्यो । मार्गदर्शन गर्न सक्ने राजीवजी स्थापना मात्रको पार्टनर हुनुहुन्थ्यो । विष्णु दिदीलाई खासै समय हुँदैनथ्यो । त्यसैले, संचालकको जिम्मेवारी हामी २ बीच थियो ।

यसरी लगभग २ वर्षजति राम्रो काम गरियो तर यसबीचमा अकल्पनीय, अप्रिय र गर्दै नगरेको घटना भयो । त्यसपछि उहाँले एक्लै कम्पनी संचालन गर्ने इच्छा गरेपछि सन् २००० तिर मोभिरा उहाँलाई जिम्मा दिएर नयाँ कम्पनी याक्का ओभरसिज स्थापना गरी हामी छुट्टियौं ।

उहाँहरूको संगतले मलाई धेरै सिक्ने मौका मिल्यो । मोहनाथ काका र म हामी २ जति सुख–दुःखमा नजिक सायदै अरू कोही होला । उहाँ वास्तवमै दुःख, धैर्य र काममा इमान्दार, सहनशील र सिधा हुनुहुन्थ्यो । मैले देखे बुझेअनुसार उहाँमा स्कुल, कलेजको शिक्षा नभए पनि व्यावहारिक शिक्षामा साह्रै पोख्त हुनुहुन्थ्यो । 

उहाँ एक्लो योद्धा हो, एक्लै लडेर अघि बढ्नुभयो । उहाँलाई भित्रदेखि सहयोग गर्ने कोही मान्छे नहुँदा पनि उहाँ कसरी सफल हुनुभयो ? यसमा उहाँको इमान्दारी, लगनशीलता र सोझोपन महत्त्वपूर्ण छ । यसका बाबजुत पनि उहाँले जे गर्नुभयो, धेरै गर्नुभयो ।

असल र राम्रा मान्छे भगवान्का चाँडै प्यारा हुन्छन् भनेजस्तै भयो । एक जना भद्र, असल, इमान्दार र लगनशील मोहनाथ काकाको गत माघ ११ गते भएको असामयिक निधनले म साँच्चै नै मर्माहत भएँ ।

उहाँको आत्माले चिर शान्ति पाओस् । भगवान्ले परिवारलाई यस दुःखद घडीमा धैर्य धारण गर्ने क्षमता प्रदान गरून् । मेरा प्रिय शर्मा काकालाई सतत श्रद्धाञ्जलि !

(लेखक रोका याक्का ग्रुपका अध्यक्ष हुन् ।)

ADV

सम्बन्धित खबर

Advertise