–झलक शर्मा
होली पर्वको सन्दर्भमा हिरण्य काश्यपुका पुत्र प्रह्लादलाई आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न खोज्दा स्वयं होलिका नै आगोमा भष्म भएको पौराणिक कथन छ । भगवान् विष्णुका परम्भक्त प्रह्लादलाई केही नभएको खुसियालीमा मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू लगाउने गरेका पाइन्छ । होली पर्व सबै उमेर समूहका मानिसले मनाउने भए तापनि आजभोलि युवा वर्गमा बढी लोकप्रिय छ । बालबालिकामा छुट्टै रौनक र उत्साह पनि देखिन्छ ।
नेपालमा पहाडमा अघिल्लो दिन र तराईमा भोलिपल्ट गरी होली पर्व मनाउने गरिन्छ । तराईमा पूर्णिमाको दिन होलिका दहन गरेपछि भोलिपल्ट प्रतिपदाका दिन होली मनाउने अभ्यास रहेको छ । मिथिला क्षेत्र जनकपुरमा विशेष पूजा–अर्चना र मेला लाग्ने गरेको छ ।
नेपाल सरकारले पनि दुवै क्षेत्रमा होली पर्व अर्थात् फागु पूर्णिमा मनाउनका लागि सार्वजनिक बिदा दिने गरेको छ । होली पर्व मनाउने शैलीमा आजभोलि केही पृथक्ता थपिएको छ भने केही विकृति र विसंगतिहरूले गाँजेर खल्लो बनाएको अनुभूति गर्न सकिन्छ ।
छिमेकी मुलुक भारतका चालचलनमा केही समानता देखिए तापनि अनावश्यक रूपमा भारतीय संस्कृतिको अवलम्बन गर्ने, पश्चिमेली मुलकका भद्दा शैलीहरूको देखासिकी गर्ने प्रवृत्ति बढ्दो छ । विशेषतः हाम्रा चाडपर्वमा खर्चालु संस्कृति भित्रिएको छ ।
आजभोलि आधुनिकताका नाममा चाडबाडमा आएको नकारात्मक पक्षबारे सिंगो समाज चिन्तित छ । सामाजिक संजालको बढ्दो प्रयोगले गर्दा युवायुवुतीले हरेक चाडबाडलाई विशेष महत्त्व दिए तापनि यसमा भित्रिएको खराब पक्षलाई निस्तेज पार्नै पर्छ ।
होली पर्व सामूहिक रूपमा मनाउने भएकाले यसमा शान्ति सुरक्षा कायम राख्न सरकारलाई कठिनाइ उत्पन्न गराउन थालेको छ । होली पर्वमा इच्छाविपरीत रङ दलिदिने, फोहोर पानीले छ्याप्ने, छालालाई प्रत्यक्ष हानि गर्ने विभिन्न केमिकलहरू मिसाएर दल्ने जस्ता उच्छृंखल क्रियाकलापहरूले समाजमा स्थान पाएका पाइन्छ । त्यसमा मद्यपान, धुम्रपान सेवन गरी अमर्यादित घटनाहरू घटाउने, होहल्ला गर्ने, गुण्डागर्दी गर्ने, अनावश्यक विवाद सिर्जना गर्नेजस्ता अनुशासनहिन गतिविधिहरू विगतका होलीमा भएका देखिन्छ ।
केही समूहहरूले बाइक, गाडीहरूमा र्याली जसरी शहर घुमफिर गर्ने गर्दा ट्राफिक जाम हुने, सवारी दुर्घटना हुने गरेको पनि छ । अग्ला भवन, घरका छतहरूबाट रङ छ्याप्ने, पिच्कारी प्रयोग गर्ने परिपाटीले बालबालिकादेखि युवायुुवतीको समेत जीउ–धनको क्षति भएका विगतका घटनाहरू छन् ।
होली पर्वमा शहरका मुख्य चोक र स्थानमा कन्सर्ट आयोजना गर्ने परिपाटी नै चलिआएको छ । कन्सर्टमा प्रयोग हुने स्पिकर, माइक ड्रमसेटले समाजमा ध्वनि प्रदूषण बढ्ने गरेको छ । यस्ता केही कन्सर्टहरूमा अश्लीलता प्रदर्शन, द्विअर्थी शब्दको प्रयोग भएको पाइन्छ ।
युवती एवं किशोरीहरू अर्धनग्न भई उत्तेजित पहिरन लगाई होली पर्व मनाउन शहर निस्किँदा बलात्कारमा पर्ने, यौन दुव्र्यवहारबाट पीडित हुने गरेका समेत तीतो यथार्थ छ । यसले महिलालाई असुरक्षित बनाएको महसुस गराउँछ । महिला, युवतीहरूले पनि आफूमा आइपर्न सक्ने सम्भावित दुव्र्यवहारबारे बुझ्नु आवश्यक छ ।
युवायुवतीले अमर्यादित रूपमा जिस्कने, हाउभाउ देखाउने, टिकटकमा भाइरल हुने खराब मनोवृत्तिले समाजमा नकारात्मक छाप छाड्ने गरेको छ । होलीलाई सही तवरबाट मनाउन नसकेको खण्डमा जनस्वास्थ्यमा समेत जोखिम निम्तिन सक्छ । यसले सांस्कृतिक परम्पराको सौन्दर्यमाथि कालो दाग लगाउने कार्य भएको छ ।
सामाजिक संघसंस्था, विद्यालय, विश्वविद्यालयमा होलीको दिनअघि नै रङ दलेर मनाउने प्रवृत्तिले समेत चाडपर्वलाई भद्दा बनाएको पाइन्छ । झन् समाजलाई नै मार्गदर्शन गराउने संस्थाले नै यस्तो प्रवृत्ति अपनाउँदा सिंगो समाजलाई नै धराशायी बनाउन खोजेको पाइन्छ ।
होली मनोरञ्जनका लागि मनाइने पर्व भए तापनि यसले सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई प्रत्यक्ष असर पारेको हुन्छ । होली पर्वलाई सभ्य तरिकाले मनाउन सकेमा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ, जसले गर्दा मुलुकमा व्यापार व्यवसाय र अर्थतन्त्रलाई उकास्न मदत पुर्याउँछ ।
हाम्रा चाडपर्वहरूलाई अन्तर्राष्ट्रिय भाइचारा कायम राख्न, सद्भाव अभिवृद्धि गराउने माध्यमका रूपमा पनि लिने गरिन्छ । ऐतिहासिक महत्त्व बोकेका सांस्कृतिक गौरवका चाडपर्वहरूलाई न्यायपूर्ण समाज निर्माण गर्ने प्रेरक तत्त्वका रूपमा बुझ्नु आवश्यक छ ।
विगतको तुलनामा हालैका केही वर्षहरू होली पर्व मनाउने नाउँमा केही उच्छृंखल गतिविधि, तडकभडकसहितका खर्चिला/भड्किला कार्यक्रमहरू हुने गरेका पाइन्छ । सबै जनमानसले चाडपर्व, रीतिरिवाज, चालचलन मनाउँदा एवं आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार, दैनिक जीवनयापनमा ठेस नपुग्नेगरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले मनाउनु जरुरी छ ।
कोही कसैले यस्ता अमर्यादित, उच्छृंखल, अबाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनहरू, ऐन, सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र नियमावली, २०३३ बमोजिम कारबाही हुने व्यवस्था छ ।
त्यस्तै, सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार, सुविधा, आर्थिक हित कायम राख्न, विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायबीचको सु–सम्बन्ध तथा शान्ति कायम गर्न मुलुकी अपराध संहिता, २०७४ को समेत व्यवस्था छ । ऐन, कानुनको व्यवस्था गरेर मात्र चाडपर्वहरूको मौलिकता जोगाउन सकिन्छ भन्ने होइन । यसमा नागरिक सचेतना अभिवृद्धि गर्दै चाडपर्वहरूका मूल्य, मान्यतालाई हृदयंगम गर्नु आवश्यक छ ।
नराम्रा पक्षलाई निरूत्साहित गर्दै राम्रा पक्षलाई स्वागत गर्नु बढी बुद्धिमता हुन्छ । हाम्रा चाडपर्व, जात्राहरू सबै वर्ग, लिंग, समुदायले मनाउन सक्ने र समाजलाई स्वीकार्य भएका हुनुपर्छ । त्यसैले, चाडपर्व मनाउने स्वरूप र शैलीहरू अनुशासित, मर्यादित र सामाजिक हुन आवश्यक छ ।
चाडपर्वमा सार्वजनिक मर्यादा कायम राख्न तीनै तहका सरकार, नेपाल प्रहरी, स्थानीय स्तरमा गठित समाजिक संघसंस्था, क्लब, समूह एवं नागरिक समाजमा क्रियाशील सचेतकको भूमिका हुनु अपरिहार्य छ । होली पर्वले सबैको मनमा शान्ति र उमंग छाओस् ।