भोजपुरको मर्याङडाँडा प्याउलीमा जन्मिएकी ब्युटीशियन छबु कार्की सौन्दर्यको क्षेत्रमा स्थापीत नाम हो । लामो समयदेखि ब्युटीशियन व्यवसाय अंगाल्दै आइरहेकी छबु कार्की ‘बस्नेत’ कोरोना कहरका कारण ५, ६ महिना व्यवसाय बन्द हुँदा आर्थिकरुपले नोक्सान सहन परेपनि अब विस्तारै ब्यवसायलाई निरन्तरता दिने सोचमा छिन् । हाल व्यवसाय सञ्चालन भएपनि नजिकिदै गरेको दशैं र लामो समय बेरोजगार बस्नु परेका कारण मान्छेसँग खासै सौन्दर्यमा चासो नभएको बताउँछिन् छबु । बिग सिरियल ‘आधा खुशी’ लगायतमा मेकअप आर्टिष्टकोरुपमा काम गरिसकेकी र नेपालमा विभिन्न संघ, संस्थाले आयोजना गर्ने सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका निभाउनुका साथै नेपाली समाजमा यो व्यवसायमार्फत पु¥याएको योगदानलाई लिएर विभिन्न संघ, संस्थाबाट सम्मानित भइसकेकी छिन् उनी । आफ्नो व्यवसायमा ब्यस्त बरिष्ठ सौन्दर्यविद् उनै छबु कार्कीसँग मध्यान्हका लागि मोहन पन्तले गरेको कुराकानीको सारसंक्षेप :
कसरी प्रवेश गर्नुभयो यस क्षेत्रमा ?
ब्युटिसियन पेशामा मैले प्रशस्त सम्भावना, कलात्मक प्रस्तुति र रोजगारको अवसरहरु देखेकी थिएँ । साथै मेहेन्दी आर्ट, मेकअप आर्ट, र नेल आर्ट जस्ता कलाकारिता झल्कने विषयबस्तुहरु यसैमा समेटिने हुँदा आफनो रुची र कला नमर्ने देखेर म यसै क्षेत्रतर्फ आकर्षित भएँ । सानै देखि नै सृजनशील कलात्मक र क्रियाशील हुन रुचाउने मेरो बानी रहेको कारण र जीवनमा आफ्नै क्षमता, योग्यताका साथ एउटा उच्च र अग्रस्थानमा आफुलाई पुगेको हेर्न चाहने लक्ष्य र सपनाका कारण म यस्तो कामको खोजिमा थिएँ , जसले मलाई नाम, ईज्जत, स्वाभिमान दिनुको साथसाथै मेरो कलाकारिता समेत त्यसमा छल्कियोस् भन्ने अभिप्रायका कारण म हिंडिरहेकी थिएँ । बाल्यकाल देखि नै मलाई नृत्य, चित्रकलामा विषेश रुचि रहेका कारण यस विषयमा पनि धेरथोर काम गरेकी छु । मैले ब्युटिसियन क्षेत्रतर्फ बेसिक, एड्भान्स र विविध स्पेशल कोर्षहरु जस्तै हेयरकेमिकल, मेकअप आर्ट, नेल आर्ट, मेहेन्दी कोर्ष लगायत थुप्रै विषयहरुमा ट्रेनिङ ईन्सटिच्यूटबाट ट्रेनिङ लिई आफ्नो पेशामा दक्षता हासिल गर्दै गएँ ।
आफ्नै पार्लर थियो कि अरुकोमा काम गर्नु भयो ?
सुरुसुरुमा आफुमा थप आत्मविश्वास जागृत गराउने अभिप्रायले बिभिन्न पार्लरहरुमा कार्यरत रहें । त्यही समयमा बेरोजगार महिला दिदी, बहिनीहरुलाई आत्मनिर्भर बनाउँनको लागि उहाँहरुलाई विभिन्न चरणमा ब्युटिसियन कोर्षको तालिम दिएँ र विस्तारै विस्तारै यस क्षेत्रमा आबध्द रही काम गर्न थालेँ । अहिले यही व्यवसायमा संलग्न रहेर काम गरेको पनि धेरै भैसक्यो ।
यो क्षेत्रमा आफुलाई कहाँ पाउनु हुन्छ ?
त्यतिबेला मैले आफुलाई गरेको लगानीको प्रतिफल लिँदैछु अहिले । जुन मेरो लक्ष्य थियो एउटा उचाईमा पुग्ने, त्यो केही हदसम्म साकार भएको छ । बिबिध ब्युटी प्याजेन्टहरुमा आफ्नो सहभागिता जनाई उत्कृष्टता हासिल भएँ । साथै विविध कार्यक्रमहरुमा मेकअप आर्टिष्टको रुपमा रही पुरस्कृत समेत भएकी छु । अहिलेको युगमा हरेक मानिसलाई पढाईंका साथसाथै उनीहरु भित्र रहेको कलाको क्षमताको पहिचान गरि सोही अनुसार सीपमुलक तालिम दिनु पर्छ ।
प्रशिक्षणको अवस्था कस्तो छ ?
नेपालमा पार्लर कोषको राम्रो ब्यवस्था छ । जहाँ पनि प्रशिक्षणको ब्यवस्था गरेको हुन्छ । सौन्दर्य सम्बन्धि ज्ञान लिएर विदेश वा स्वदेशमा केही गर्न चाहने दिदी बहिनीहरुलाई यही सल्लाह दिन चाहन्छु कि सीप सिकिन्छ भने दक्षता हासिल हुने गरी सिक्नु पर्छ । हातमा सीप भएपछि कामको दुःख हुँदैन ।
यो पेशा प्रति यहाँकोे धारणा के छ ?
यो पेशा संवेदनशील छ । आफ्नो उत्तमकरियर निर्धारण गर्ने थलो पनि हो । ब्युटिसियन पेशा एक यस्तो माध्यम हो जसमा बिबिध बिषय वस्तुहरु मिश्रित रुपमा रहेका हुन्छन् । यस अन्तर्गत स्क्रीन, हेयर, मेकअप, नेलदेखि लिएर सौन्दर्यसँग सम्बन्धि अनेकन विषयहरु पर्दछन् । जहाँ सौन्दर्यका कुरा उठ्छन् त्यहाँ ब्युटिसियनको आवश्यकता पर्छ नै वा श्रृंगार कलाको । सिनेमाका कलाकार हुन् वा आम मानिस मेकअप बिनाको सौन्दर्य सोच्न पनि मुश्किल हुन्छ ।
सौन्दर्यविद्को नाताले अहिलेका पुस्तालाई के सल्लाह दिनु हुन्छ ?
कुनै पनि काम सजिलो हुँदैन र नसिकी जानिदैन पनि । ब्यवसाय संचालन गर्नु अगाडी अनुभवी र यस काममा निपूर्ण प्रोफेसनल ब्युटिसियनको साथमा रही उहाँहरुबाट क्लाईन्टसँग डिल गर्ने टेक्निक, प्राक्टिस नलेज आदि कुरामा जानकारी हासिल गरेरमात्र आफ्नै ब्यवसाय संचालन गर्ने अवस्थामा पुग्नुहोस् । युवा पुस्ता यो पेशा, ब्यवसायमा आउँन र अंगाल चाहनुहुन्छ भने यस विषयवस्तुसँग सम्बन्धित हरेक विषयमा सर्वप्रथमतः पूर्ण जानकारी हासिल गर्नुहोस् । आफुलाई हर तरहले क्षमतावान बनाउनु होस् । कमाईको हिसावले पनि यो व्यवसाय राम्रो छ ।
अन्त्यमा..........?
अरु व्यवसायलाई सरकारले महत्वका साथ खोल्न अनुमति प्रदान गरेपनि सौन्दर्य व्यवसायलाई त्यति महत्व दिएको छैन । हामीले पनि काम गरेर खाने वातावरण हुनुपर्छ भनेर जोड दिँदै आइरहेका छौं । लकडाउन पछि अन्य व्यवसाय खुलेरै सञ्चालनमा आएपनि हाम्रो व्यवसाय राम्रोसँग चल्न सकिरहेको छैन । पूर्णरुपले सञ्चालन हुनुपर्छ भन्ने पक्षमा हामी छौं । पूर्ण र व्यवस्थित तरिकाबाट सञ्चालनमा ल्याउन सके र कार्यस्थलको वातावरणलाई सुरक्षित तवरले सहज गराउँन सके आयआर्जनमा राम्रो हुने कुरामा म विश्वस्त छु । लामो समय बन्द गर्नु परेकोले बिबिध कठाईहरु भएपनि विस्तारै सहज हुँदै जानेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies