सन्तोश पौडेल/मध्यान्ह
खोटाङ : खोटाङको रावाबेँसी गाउँपालिकाले कालोबजारी नियन्त्रण गर्न दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ । चाड पर्वको बेलामा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्न सामग्रीको दरभाउ निर्धारण गरेको हो ।
बुधबार बसेको गाउँ कार्यपालिकाले बैठकले खसी तथा स्थानीय जातको लोकल कुखुराको मासु प्रति केजी ७ सय, राँगाको मासु प्रति केजी ३ सय ५०, सुँगुरको मासु प्रति केजी २ सय ४०, जिउँदो ब्रोइलर कुखुराको मासु प्रति केजी ३ सय गिरिराज कुखुराको मासु प्रति केजी ६ सय र स्थानीय खोला तथा पोखरीको माछा प्रति केजी ५ सय तोकिएको छ ।
यस्तै, खाद्यान्न सामग्रीतर्फ स्थानीय जातको लोकल चामल (बास्मती ) प्रति केजी १ सय , स्थानीय जातकै (छोटो) चामल प्रति केजी ७५, वर्षे धानको चामल प्रति केजी ७०, साथै बाहिरी जिल्लाबाट ल्याइएको जिरा मन्सुली चामल प्रति केजी ७५, सोना मन्सुली चालम प्रति केजी ५० , कान्छी मन्सुली चामल प्रति केजी ४५ रुपैयाँ छ भने स्थानीय जातको कालो दाल प्रति केजी १ सय ५०, सेतो मास प्रति केजी १ सय , मुसुरी दाल प्रति केजी १ सय ४०, तोरीको तेल प्रति लिटर १ सय ९०, सुर्यमुखी तेल प्रति लिटर १ सय ८०, आयोडिन नुन प्रति केजी ३० र ढिके नुन प्रति केजी २० रुपैयाँ दरभाउ निर्धारण गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले मध्यान्हलाई जानकारी दिए ।
गाउँ कार्यपालिकाको बैठकले निर्धारण गरेको मूल्यमा व्यापारीहरुले आफ्नो सामान बिक्री गरे नगरेको बारेमा समितिले छड्के अनुगमन गर्ने बताइएको छ । तोकिएभन्दा बढी मूल्य लिएको पाइएमा कानून बमोजिम कारबाही गर्ने निर्णय गरिएको प्रमुख निरौलाले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies