नेपाली हिन्दूहरूको महान् पर्व दशैं घरआँगनमा आइसकेको छ । देशविदेशमा रहेका घर फर्किरहेका छन् । दशैं मनाउन लाखौंले काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । गाउँघर र बस्तीमा दशैंको रौनक आइसकेको छ । दशैं बजारमा भिडभाड छ भने गाउँघरमा लिंगे पिङ मच्चिइरहेका छन् । घरघरमा खुसी र उमंगको माहोल छ ।
यस वर्षको दशैंमा अघिल्ला वर्षजस्तो उल्लास भने छैन । तीन साताअघिको जेनजी विद्रोह (२३ भदौ) र लगत्तैको विध्वंस (२४ भदौ)ले दशैं खल्लो पारेको छ । आन्दोलनमा ज्यान गुमाउने युवाहरूको घरमा आलो पीडा छ भने घाइतेहरूको घाउ अझै निको भइसकेको छैन । कैयौं अझै अस्पतालमै छन् । आन्दोलनको आडमा देशैभर व्यक्तिगत सम्पत्तिमा गरिएको आगजनी, तोडफोड र लुटपाटबाट पीडित हुनेहरूको संख्या पनि ठुलै छ । यसरी हेर्दा यसपटकको दशैंसँग खुसी र उमंगसँगै प्रतिकूल परिस्थिति एवं आर्थिक–सामाजिक असहज स्थिति पनि छ । तर यसलाई आपसी शान्ति, सद्भाव र एकताको एउटा माध्यम बनाउने मौका पनि हामीसँग छ ।
युवा पुस्ताको आक्रोशको विस्फोटले नेपाली राजनीति पुनः एकपटक तरल बनेको छ । यसले मुलुकलाई अनिश्चय, अस्थिरता र असुरक्षाको स्थितिमा पुर्याएको छ । यो असहज स्थितिबाट बाहिर निस्कने सबैभन्दा सहज उपाय भनेकै अन्तरिम सरकारले २१ फागुनका लागि तोकेको आमचुनाव समयमै निष्पक्ष एवं शान्तिपूर्ण ढंगले गर्न सक्नु हो । नयाँ, पुराना र खुल्ने क्रममा रहेका दलहरू, नागरिक अगुवा र आमनागरिकको सहयोगबिना त्यो सम्भव छैन । अतः यसपटकको दसै आमचुनावको माहौल बनाउने माध्यम पनि हुनेछ ।
बडा दशैंको सन्देश भनेकै असत्यमाथि सत्यको जित हो । आपसी सद्भाव र शान्ति हो, सुख एवं समृद्धि हो । पछिल्लो राजनीति परिवर्तनपछि अनिश्चयसँगै नयाँ आशाको सञ्चार पनि भइरहेको छ । दशैंले आमनेपालीजनमा देश निर्माणको नयाँ आशा जगाउन सकोस् । घरपरिवार र समाजिक सम्बन्धको धागो अझ बलियोसँग बाँध्न सकोस् । त्यसले धार्मिक, सांस्कृतिक एवं जातीय विविधतालाई एकताको सूत्रमा बाँध्न सकोस् । सबैभन्दा मुख्य कुरा ‘मास डिप्रेसन’को चरणमा पुगिसकेको नेपाली समाजलाई सुख र समृद्धिको बाटोमा लैजान दिगो, स्पष्ट एवं सकारात्मक दृष्टिकोण प्रदान गरोस् । त्यो ऊर्जा दशैंले प्रदान गरोस् । देशविदेशमा रहेका सम्पूर्ण नेपालीजनमा दशैंको मंगलमय शुभकामना ।