असंवैधानिक प्रतिनिधिसभा विघटन विरुद्ध देशभर पेशाकर्मी, राजनीतिक दल, नागरिक अगुवा, न्यायलयका पूर्वप्रमुखहरु, पूर्वसभामुख लगायत आन्दोलित छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि एउटा खेमा चरणबद्ध आन्दोलनमा छ । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले जनसंगठन, भूगोल कमिटी देखि पेशाकर्मीहरु समेतलाई प्रदर्शनमा उतारेको छ । संसद् विघटनकै दिन विभाजित नेकपाका प्रचण्ड र माधव समूहले सर्वोच्चले संसद् पुनस्र्थापना नगरे सडकबाटै संसद् सुचारु गर्ने चेतावनी दिएको छ । तर, सर्वोच्च अदालतमा यो मुद्दा विचाराधीन रहेकाले तत्काल पर्खेर बसेको छ ।
प्रतिनिधिसभामा रहेको जनता समाजवादी पार्टी (जसपा) पूरा बल लगाएर संसद् विघटन विरुद्ध उभिएको छ । अन्य साना दलहरू नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय जनमोर्चा, साझा विवेकशील पार्टी, संघीय समाजवादी पार्टी नेपाल लगायत आन्दोलनमै छ । यसको विपक्षमा भने कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओली समूह खुलेर लागेको छ । संसद् विघटन राजनीतिक स्थीरताका लागि गरिएको भनेर खुलेर प्रचार गर्ने यो एउटा मात्रै समूह हो । प्रधानमन्त्री ओलीलाई पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहयोग गरिरहेको छ । राप्रपा पनि संसद् विघटनकै पक्षमा छ । विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेपाली काँग्रेसले पनि संसद् विघटन विरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।
पुस १३ मा देशभर प्रतिनिधिसभा निर्वाचन क्षेत्र स्तरीय प्रदर्शन गरेको काँग्रेसले शनिबार प्रदेशसभा स्तरीय सभा गरेको छ । माघ ३ मा पालिका स्तरीय र माघ ८ गते वडा तहको प्रदर्शन हुँदैछ । तर, काँग्रेस भने संसद् पुनस्र्थापनाको मुद्दामा विभाजित बनेको छ । आन्दोलन त गरिरहेको छ । तर, काँग्रेसका सभापति भने संसद् पुनस्र्थापना नभए पनि चुनावमा जानुपर्ने अभिव्यक्ति दिइरहेका छन् । आफ्नै पार्टी निर्णय विरुद्ध सभापतिले नै बोलेपछि काँग्रेसभित्र चर्को असन्तुष्टि देखिएको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्ष भने संसद् पनुस्र्थापनलाई प्राथमिकतामा राख्नुपर्ने अडानमा छन् । देउवा इतर नेताहरु भने मध्यावधि निर्वाचन भन्दा पनि संविधानको रक्षा काँग्रेसको दायित्व भएको बताइरहेका छन् । देउवालाई मध्यावधि निर्वाचन भइहालेमा नेकपा विभाजित भएकाले फेरि प्रधानमन्त्रीको अवसर रहेको बुझाइ भएको हुनसक्छ । तर, उनी इतर समूहका नेताहरुको तर्क देउवाको भन्दा धेरै बलशाली देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies