शुभ नारायण कामती/मध्यान्ह
सिरहा : आफ्नै घरमा खेल्दै गरेको अवस्थामा बेपत्ता भएका सिरहाका एक बालकको अपहरणमा उनकै काकाको संलग्नता रहेको खुलेको छ । सिरहा सदरमुकाम सिरहा नगरपालिका–१ रामजानकी चोकमा घर रहेका प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसु गत माघ २० गते आफ्नै घरबाट हराएका थिए ।
बालक बेपत्ता भएपछि खोजीमा जुटेको प्रहरीले दुई दिन पछि (माघ २२ गते) भारतीय राज्य बिहारको मधुवनी जिल्लाअन्तर्गत पर्ने खाजेडी भन्ने ठाउँशाट सकुशल उद्धार गरेको थियो । बालकको सकुशल उद्धार गरिएको झन्डै ३ हप्तापछि अपहरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अपहरित बालकका काका कुलदीप यादव र सिराहा नगरपालिका १५ सुखचैनाका २३ वर्षीय भरोसी यादव छन् । बालकको सकशुल उद्धार गरेपछि प्रहरीले अपहरणकारीको खोजी शुरु गरेको थियो । अपहरणकारीको खोजी तथा अनुसन्धानका क्रममा बालककै काका अपहरणमा संलग्न भएको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) एसपी सुदिपराज भण्डारीले मध्यान्हलाई जानकारी दिए ।
एसपी भण्डारीका अनुसार कुलदीपकै योजना बमोजिम भरोसी यादवले बालकको अपहरण गरेर भारत पुर्याएका थिए । प्रहरीका अनुसार अपहरित बालकका बुवा प्रदीप र काका कुलदीपबीच घरायसी विवाद थियो । घरायसी विवादकै रिसीबी साँध्न कुलदीपले आफ्नै भतिजाको अपहरण गरेको अनुसन्धानबाट खुल्न आएको छ । घरायसी विवादको रिसीबी साँध्ने तथा फिरौती वापत केही रकम पनि हत्याउने योजना अनुसार बालकको अपहरण गरेको देखिएको एसपी भण्डारीले जानकारी दिए ।
प्रहरीले बालक प्रियांसुको अपहरणमा कुलदीपको संलग्नता रहेको भनेर पक्राउ गरेपछि अपहरित बालकका हजुरबुवा उत्तिमलालले भने आफ्नो छोरो निर्दोष भएको दाबी गरेका छन् । मध्यान्हसँगको कुराकानीका क्रममा कुलदीपका बाबु उत्तिमलालले भने, ‘छोरो (कुलदीप)ले नै खोजी गर्दा बालक पत्ता लागेको हो । वास्तविक दोषी खोज्नुको सट्टा प्रहरीले छारालाई नै आरोप लगाएको छ ।’ प्रदीप र कुलदीप दुई दाजुभाईमा कुनै समस्या नभएको भन्दै उत्तिमलालले प्रहरीले छोरालाई समातेपछि समस्या थपिएको गुनासो गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies