तेजबहादुर बन/मध्यान्ह
इटहरी : सुनसरीको इटहरीमा सम्पन्न भएको स्व.गिरिजाप्रसाद कोईराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा दमक नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो ।
उपाधिसँगै विराटनगरले नगद २ लाख रुपैया हात पारेको छ । उपबिजेता दमक नगरपालिकाले नगद १ लाख रुपैयामा चित्त बुझाएको छ । विराटनगरले उपाधि जितेको खुसियालीमा कार्यक्रमका बिशिष्ट अतिथि समेत रहेका महानगर प्रमुख भीम पराजुलीले पुरस्कार राशीमा नगद २ लाख थप गरि दिएका छन् ।
विराटनगरको जितमा भुवन बस्नेतले गरेको एकमात्र गोल निर्णयक बन्यो । उनले खेल शुरु भएको तेस्रो मिनेटमै गोल गरेका थिए । प्रतियोगिताको उत्कृट खेलाडी विराटनगरका असिम राई घोषित भए । उनले नगद ५ हजार सहित ट्रफी पाए ।
खेलको म्यान अफ द म्याच दमकका प्रबिण राई घोषित हुँदै नगद ३ हजार पाए । विराटनगरका सनम राई उत्कृष्ट गोलकिपर, रमेश राजबंशी उत्कृष्ट डिफेण्डर, सुशान्त तामांग उत्कृष्ट फरवार्ड, भुवन बस्नेत सर्वाधिक गोलकर्ता र पारस चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । दमकका माल्दिना आंगपुचो उत्कृष्ट मिडफिल्डर भए । उनीहरु सबैले जनही ३–३हजार सहित ट्रफी पाए ।
बिजेता तथा उपबिजेता टिमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल, प्रदेश एकका नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोईराला, प्रमुख सचेतक केदार कार्की, एन्फा बरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ, मानार्थ उपाध्यक्ष किशोर राई, केन्द्रीय सदस्य दीपक राई, प्रतियोगिता संयोजक सूर्य राईलगायतले पुरस्कार बितरण गरेका थिए ।
इटहरीस्थत क्षेत्रिय रंगशालामा सम्पन्न प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी थिए । चैत्र १३ गतेदेखि शुुरु भएको प्रतियोगिताको नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले औपचारिक उद्घाटन गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies