-खिमराज गिरी
विषय प्रारम्भ :
केपी शर्मा ओलीको नेतृत्वमा सरकारी रथको पाङ्ग्रा अगाडि बढ्दै गर्दा सबैभन्दा बढि आफ्नै सहयात्रीहरुद्वारा भाँजो हाल्ने काम भएको छ । आफ्नै सहयात्रीले भाँजो हाल्ने काम गरे पनि सरकारले विकासमा भने धेरै फड्को मारेको देखिन्छ । केही कमीकमजोरीका बाबजुद पनि यो सरकारले धेरै बेतिथीहरुलाई तोड्दै सकारात्मक दिशा तिर देशलाई लगेको छ । व्यक्तिगत कुण्ठा, एक–आपसका तिक्तता, आरोप–प्रत्यारोपलाई छोड्ने हो भने सरकारले धेरै काम गर्न सफल भएको मान्न सकिन्छ ।
प्रधानमन्त्री ओलीले आफ्नै दलभित्रबाट निरन्तर असहयोग भएपछि बाध्य भएर गत पौष ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए । उनले मुलुकलाई निकास दिन नयाँ जनादेशमा जाने निर्णय गरेका थिए । तर, उक्त कदम सर्वोच्च अदालतले बदर गरिदियो । संसद पुनः स्थापना भएपश्चात धेरैको आकंलन थियो कि, प्रधानमन्त्रीले राजीनामा दिनेछन भन्ने । तर, धेरैले नबुझेको देखियो, सर्वोच्चले प्रतिनिधिसभा पुनः स्थापना गरेर संवैधानिक संकट मात्र मोचन गरेको हो । राजनीतिक संकट समाधान गर्नको लागि त सरकारलाई फेरि पनि नेपालको संविधानको धारा ७६ को उपधारा १ मा गई आन्तरिक समस्याको समाधान खोज भनेको थियो ।
यसबीचमा तत्कालिन नेकपाभित्रका केही गुटले मीठो मसिनो खाई हर्षोल्लास मनाईरहँदा ऋषि कट्टेल निवेदक भएको मुद्दाको फैसलासँगै राजनीति फरक ठाउँमा मोडियो । कट्टेलको मुद्दामा गरिएको फैसलासँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत अवस्थामा फर्किने अवस्था बन्यो । त्यसपछिका दिनहरुमा भने एमालेका केही नेताहरु धर्म संकटमा परे । “नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार” भनेजस्तो भयो । पहिला पार्टीमा प्रधानमन्त्रीलाई बहुमतको नाममा जति हुर्मत लिने, पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने कदम चालेका उनीहरु ओलीको नेतृत्वमा चल्नुपर्ने अवस्था बन्यो । आज त्यहि घटनाको बदलामा केपी ओलीले पनि तीनै नेताहरुलाई धम्क्याउनुमा कुनै आश्चर्य मान्नुपर्ने कुरा होइन । किनकी ती नेताले व्यक्तिगत कुण्ठा अनि अतितको रिसिइवी साँधेर देशभरीका आम कार्यकर्ताको भावनालाई लत्याई कुकर्म गरेका थिए ।
तर, एमाले ब्यूँतिएपछि पनि उनीहरुले गरिरहेको अभ्यास भने अनौठो लाग्दो छ । एमाले बनिसके पछि पनि नेता माधवकुमार नेपाल र भीम रावल भने माओवादी केन्द्रसँग नजिक रहेर गतिविधि गरिरहेका छन् । उनीहरुले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा समानान्तर कमिटी निर्माण गर्ने काम गरिरहेका छन् । माधव पक्षले अझै पनि एमालेको विधि र पद्धतिलाई स्वीकार गर्न सकेको छैन् । यो परिस्थितिमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बढो विचार पुर्याएर कदम चाल्नुपर्ने देखिन्छ । किनकि, यदि अहिलेको अवस्थालाई मिलाउने प्रयत्न गरिएन भने नेता नेपाल र रावलको राजनीतिक भविश्य त अन्योलमा पर्छ नै सिंगो एमालेको भविष्य संकटमा आउँदैन् भन्न सकिन्न ।
अहिलेको परिस्थिति निर्माण हुनुमा जिम्मेवार पात्रहरु मध्येका एक माधव नेपाल पनि हुन् । उनले यो कुरा बुझ्न जरुरी छ, केपी ओलीले भन्दा नयाँ काम गरेर देखाउन नसक्दासम्म हालत अझै खराब हुनेवाला छ । ‘रोएर दुलही आउँदिनन्’ भनेजस्तै ओलीलाई गाली गरेर मात्रै राजनीति पार लाग्दैन र लाग्नेवाला पनि छैन । यसमा ओलीले चौका दाउ कति हान्छन् कति । किनकि विगतमा उनलाई सकुनीको पासामा फँसाउन खोजिएकै थियो ।
एमालेमा कारबाहीको श्रृंखला
जनताले यो कुरा पनि बुझेका छन कि, माधव नेपाललाई छैठौं महाधिवेशनमा महासचिव बनाउन वामदेव गौतम र सिपि मैनालीसँग जुधेका थिए ओली । पछि बीचैमा महासचिवबाट माधवलाई हटाउन खोज्दा पनि काँध थाप्ने ओली नै थिए । सातौं महाधिवेशनमा पार्टी लोकतान्त्रिकरणको प्रस्ताव ल्याउँदा तिनै ओलीलाई नेपालले बोल्न प्रतिबन्ध लगाएका थिए । उनले पार्टीका कार्यक्रमहरुमा भाग लिनसमेत बन्देज लगाएका थिए । युवराज ज्ञवाली र अमृत बोहोराले स्वीकृति दिएपछि मात्र ओलीले पार्टीका निकायहरुमा जान पाउँथे । यस्ता अतीतका तथ्यपरक घटनाहरुबाट आज आम कार्यकर्ताहरु अनभिज्ञ पक्कै पनि छैनन् ।
त्यतिमात्र होइन सातौं महाधिवेशन गरेर फर्केपछि ओलीको पक्षमा लागेको भन्दै पृथ्वीसुब्बा गुरुङ, खगराज अधिकारी, सोमनाथ अधिकारी, कृष्णप्रसाद सापकोटा, गोकुल बाँस्कोटा, भानुभक्त ढकाल, राजन भट्टराईलगायत ५४ जनासँग नेपालले स्पष्टीकरण मात्र सोधेनन् तिनलाई जिम्मेवार बिहीन बनाएर कारबाहीसमेत गरेका थिए । उनी कति क्रुर थिए भन्ने कुरा बाजुरामा निर्वाचित जिल्ला सचिव दलबहादुर शाहीलाई अपदस्त नै गरेका थिए । अहिले जस्तो भेला गर्दै हामी अर्को पार्टी खोल्यौ भन्ने हो र, आफ्नै भेलामा पनि बोल्ने र विचार राख्नसमेत बन्देज लगाइएको थियो । उनीबाट विपक्षमा रहने नेता तथा कार्यकर्तालाई निकै सास्ती दिइएको थियो ।
तत्कालिन नेकपा रहँदैको अवस्थामा उनको हर्कत र स्वेच्छाचारीको पराकाष्टा सामान्य थिएन । उनले तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर ओलीलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता, पार्टी सदस्य र साधारण सदस्यबाट एक पटक मात्रै होइन, चार–चार पटक निष्कासन गरेका थिए । महासचिव विष्णुप्रसाद पौडेललाई दुई पटक निष्कासन गराएका थिए । मुख्यमन्त्री शंकर पोखरेल, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ मात्रै होइन् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई समेत हटाउने काम गरेका थिए । नेपालले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकबाट, शान्ता चौधरीलाई संसदीय दलको सचेतकबाट पनि निष्कासन गरेका थिए ।
प्रचण्ड र नेपाल मिलेर प्रभु साह, कर्णबहादुर थापा, गोकुल बाँस्कोटा, सूर्य थापा, महेश बस्नेतलाई पनि केन्द्रीय कमिटी सदस्यबाट ६ महिनाको लागि निलम्बन गरेका थिए । त्यस्तो हर्कत पार्टी कब्जा गर्ने रणनीतिअन्तर्गत नै थियो भन्ने कुरा स्पष्टै नदेखिएको होइन् । यसमा अब नेता माधवकुमार नेपाललगायतका केही नेताहरुले अतीतको गल्तिलाई आत्माआलोचना गरी सच्चिनुको विकल्प छैन् ।
निष्कर्षमा, निचोडमा भन्नुपर्दा भविष्यमा कम्युनिस्ट पार्टीको साख बचाई राख्नको लागि प्रधानमन्त्रीले पनि असल अभिभावक बन्दै एमाले पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्दछ । विगतका अन्य पार्टीहरुको फुटले ल्याएको परिणामतिर पनि एमालेले ध्यान दिन जरुरी छ । बाह्य शक्तिले एमाले फुटोस् भन्ने चाहेर नै यसभित्र सकुनीको खोजि गरिरहेका थिए । जसअनुरुप पद र प्रतिष्ठाको लोभमा फसेर केही नेताहरुले हरपल प्रभूको आज्ञा शिरोपर गर्दै आफ्नै पार्टीको सरकार गिराउनतिर लागे । उता प्रतिपक्षले त झन “के निउँ पाउँ, कनिका केलाउ” भनेजस्तो विरोध गर्न किन बाँकी राख्ने कुरा भएन ।
अर्कोतिर यहि धमिलो पानीमा माछा मार्ने बहानामा केही बोटेहरु सत्ताको ढडिया खोज्दै पनि थिए । यस्तो बिषम परिस्थितिको कारक तत्व भनेको न त विदेशी शक्ति नै हुनसक्थ्यो न त प्रतिपक्ष नै । तसर्थ केही मतियारहरुको मति बिग्रेकोले नेकपा (एमाले)को भविष्यमाथि प्रश्न चिन्ह खडा भएको हो । अब सबै नेताहरुले अतीतको तिक्ततालाई तिलाञ्जली दिएर कार्यकर्ता र आम जनमानसको आकांक्षालाई नबिर्सी अगाडि बढ्ने सोंच ल्याउनु पर्छ । यदि त्यस्तो सोंच आउन सकेन् भने सम्झनुहोस कि, आगामी चुनावमा कार्यकर्ता र आम जनताले कसैको कच्छाड र धोतीको फेरो समाएर बैतर्नी तराउन बाध्य हुने छैनन् ।
इमेल : khemraj8.giri@gmail.com
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies