काठमाडौं : अर्थतन्त्र चलायमान नहुँदा बैंकहरूको कर्जा प्रवाह नै हुन सकेको छैन । भदौ २३ र २४ गते भएको आन्दोलनपछि लगानीको वातावरण बिग्रिँदा कर्जा प्रवाह हुन सकेको छैन । त्यसअघि लिएको कर्जासमेत ‘डिफल्ट’ हुने अवस्था आइरहेको बैंकहरू बताउँछन् । कोरोनापछि बैंकको कर्जा असुलीमा समस्या देखिँदै आएको छ ।
लिलाम बिक्री नहुँदा बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढ्दो अवस्थामा छ । कोरोना सुरु हुनुअघि गैरबैंकिङ सम्पत्ति ६ अर्बमा सीमित थियो तर त्यसपछिको वर्षमा निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ भदौसम्म बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ४२ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।
तर २०८१ भदौमा बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ३१ अर्ब ३८ करोड रुपैयाँ थियो । एक वर्षमा बैंकहरूको गैरबैंकिङ सम्पत्ति साढे ११ अर्बले बढेको छ । यो अघिल्लो वर्षको तुलनामा ३६ दशमलव ४९ प्रतिशतले धेरै हो ।
बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा बढेसँगै त्यसको असर गैरबैंकिङ सम्पत्तिमा परेको हो । गत वर्ष साउनमा औसत ३ दशमलव ८६ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको खराब कर्जा यो चालु आर्थिक वर्षको साउनमा ४ दशमलव ६२ प्रतिशत पुगेको छ ।
बैंकहरूले धितो लिलाम गर्न नसक्दा गैरबैंकिङ सम्पत्ति प्रत्येक वर्ष बढिरहेको छ । पछिल्लो समय बैंकहरूको गैरबैंकिङ सम्पत्ति बिक्री हुन सक्दा बैंकको लगानी फस्दै गएको पूर्वबैंकर भुवन दाहाल बताउँछन् । आर्थिक मन्दी र पछिल्लो जेनजी आन्दोलनले अर्थिक कारोबार र घरजग्गाको कारोबारमा समेत सुस्तता आउँदा आगामी दिन अझै गैरबैंकिङ सम्पत्ति बढ्ने देखिन्छ ।
ऋणीहरूले ऋण नतिर्दा बैंकहरूले लिलामी निकालिरहेका छन् तर लिलामी किन्ने व्यक्ति नै नुहँदा बैंकको लगानी ठप्प भएको हो ।
गैरबैंकिङ सम्पत्ति कुन बैंकको कति ?
२०८२ भदौसम्म गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकको छ । गत वर्षभन्दा गैरबैंकिङ सम्पत्ति १९ द दशमलव ५४ प्रतिशतले बढेर ६ अर्ब ५ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकको तथ्यांक छ । यस्तै, हिमालय बैंकको गैरबैंकिङ सम्पत्ति गत वर्षभन्दा १ सय १२ दशमलव शून्य ८ प्रतिशतले बढेर ५ अर्ब ८२ करोड पुगेको छ । यस्तै एनआइसी एसियाको ५ दशमलव ३९ प्रतिशतले बढेर ४ अर्ब ५१ करोड छ । यस्तै, प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति ह्वात्तै बढेको छ । प्राइम कमर्सियल बैंकको गत वर्षभन्दा १ सय २७ प्रतिशतले बढेर ४ अर्ब पुगेको हो । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ अर्ब ४२ करोड, नबिल बैंकको ३ अर्ब ४५ करोड, कुमारी बैंकको २ अर्ब ५२ करोड र लक्ष्मी सनराइज बैंकको २ अर्ब २१ करोड रहेको छ ।
यस्तै, एनएमबी बैंकको १ अर्ब ७६ करोड, प्रभुु बैंकको १ अर्ब ६७ करोड, कृषि विकास बैंकको १ अर्ब ३४ करोड, सिटिजन्स बैंकको १ अर्ब २६ करोड, सानिमा बैंकको १ अर्ब गैरबैंकिङ सम्पत्ति छ । नेपाल एसबीआई ९४ करोड, सिद्धार्थ ७७ करोड, माच्छापुच्छ्रेको ६० करोड, एभरेस्ट, नेपाल बैंकको ५६ करोड र राष्ट्रिय वाणिज्य बैंकको २५ करोड छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको गैरबैंकिङ सम्पत्ति नै छैन ।