रियाद, साउदी अरेबिया : साउदी अरेबियाको एमएकजी कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूले लिक्विडेसन प्रक्रियामार्फत पाउन बाँकी सेवा सुविधा पाउने प्रक्रिया अघि बढेको छ ।
कम्पनीको संरक्षकले विभिन्न माध्यमबाट सूचना जारी गरेर बाँकी रकम वितरण गरिरहेको साउदी अरवस्थित नेपाली दूतावासले जनाएको छ । रकम प्राप्त गर्ने नेपाली श्रमिकहरूको नामावली संरक्षकमार्फत दूतावासले प्राप्त गरी सार्वजनिक गरेको छ ।
दूतावासले सम्बन्धित श्रमिकहरूलाई आफ्नो नाम र रकम प्राप्त भए/नभएको पुष्टि गर्न आग्रह गरेको छ । दूतावासले रकम पाउन योग्य सूचीमा नाम भए पनि हालसम्म भुक्तानी प्राप्त नगरेका श्रमिकहरूले तुरुन्तै आवश्यक विवरण पठाउनुपर्ने बताएको छ ।
श्रमिकहरूले संरक्षकका वकिल वा नेपाली राजदूतावास, रियादको मोबाइल नम्बरमा सम्पर्क गरी विवरण पठाउनुपर्ने दूतावासले जनाएको छ ।
पठाउनुपर्ने विवरणमा नाम, कम्पनी आइडी नम्बर, अकामा नम्बर, मोबाइल नम्बर तथा रकम ट्रान्सफर हुने बैंकले जारी गरेको आइबान प्रमाणपत्र रहेका छन् । यी सबै जानकारी ह्वाट्सएपमार्फत पठाउन सकिने नेपाली दूतावासले जनाएको छ ।