काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली कामदारको भिसा रोकेको सम्बन्धमा रहेको अन्योल यथावत् छ । युएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा बन्द गरेको थियो । बुधबारदेखि वर्किङ भिसाका लागि पेस भएका निवेदनहरू रद्द हुने प्रतिशत बढेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् ।
करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको उक्त मुलुकमा किन नेपाली कामदारको भिसा प्रक्रियामा अवरोध आएको हो ? भनेर त्यहाँस्थित नेपाली राजदूतावासले युएई सरकारलाई सोध्न सकिरहेको छैन । युएईले आधिकारिक रूपमा वर्किङ भिसा बन्द गरेको जानकारी नदिएसम्म नेपालले त्यस विषयमा चासो राखेर प्रश्न गर्नु कूटनैतिक रूपमा अपरिपक्व व्यवहार हुने ठानेर नेपाली राजदूतावासले युएई सरकारको औपचारिक निर्णय कुरिरहेको बताइएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण नेपालमा सरकार नै परिवर्तन र अकल्पनीय राष्ट्रिय क्षति भएको थियो । त्यस क्रममा जेल तोडेर १३ हजार कैदी र ठुलो संख्यामा थुनुवा भागेको विषय अन्तर्राष्ट्रिय चर्चाको विषय बनेको छ । भागेका कैद र थुनुवा आफ्नो मुलुक छिर्न सक्ने आंकलन गरेर युएईले अस्थायी रूपमा वर्किङ र भिजिट भिसा रोकेको धेरैको आंकलन छ ।
पछिल्ला दिनमा युएईमा नेपाली कामदार नियम उल्लंघन गर्ने समुदायमा चित्रित भएका छन् । अत्यधिक मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, श्रीमान् श्रीमतीको बहाना बनाएर युवायुवती एकै कोठामा बस्ने, त्यहाँको धर्म, संस्कृति नसुहाउने गरी सार्वजनिक स्थलमा व्यवहार गर्ने, छोटा कपडा लगाउने गरेका कारण नेपाली समुदाय नै बदनाम भइरहेको र त्यसले नेपाली राजदूतावासलाई नै रक्षात्मक बनाएको धेरैको टिप्पणी छ ।
युएईमा हाल करिब ७० हजार नेपाली भिजिट भिसामा पुगेका छन् । उनीहरूमध्ये अधिकांश त्यहाँबाटै सेटिङमार्फत युरोपलागतका मुलुक जान र कतिपय ओभरस्टे भएर बसेका छन् । ओभरस्टे, कम्पनी छोडेर भाग्ने, फ्रड केसमा संलग्न हुने क्रम बाक्लिएको छ ।
नेपाली दूतावासका अनुसार दैनिक दर्जनभन्दा बढी नेपाली कामदार विभिन्न कारणले डिपोर्ट भइरहेका छन् । नेपाली दूतावासका अनुसार हाल ३ सय ४० जना नेपाली युएईका विभिन्न जेलमा छन् । आवश्यक सावधानीको अभावमा ज्यान गुमाउने नेपालीको संख्यामा पनि वृद्धि भएको छ । नेपालीको व्यवहार सुधार नभएमा वर्क परमिट रोक्ने मात्रै नभएर अन्य विभिन्न प्रकारका समस्या पनि झेल्नुपर्ने चुनौती थपिने बताइन्छ ।