२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

निर्दोषमाथि प्रहरीले मुद्दा दायर गरेको पीडित परिवारको आरोप

shivam cement
कृष्ण तिवारी
२०८२ असोज ४ गते २१:४५
निर्दोषमाथि प्रहरीले मुद्दा दायर गरेको पीडित परिवारको आरोप

रौतहट : रौतहटको कटहरिया नगरपालिका–५ का ५२ वर्षीय रामचन्द्र दास सरभंग र उनकी श्रीमती पुकारी देवी सरभंगले आफ्ना तीन निर्दोष छोरामाथि कर्तव्य ज्यान मुद्दा दायर भएको भन्दै प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् । उनीहरूले इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले अनुसन्धान नगरी राजनीतिक चलखेलका आधारमा मुद्दा दायर गरेको  दाबी गरेका हुन् ।

शनिबार सदरमुकाम गौरमा सञ्चारकर्मीलाई गुहार्दै पुकारी देवीले आफ्ना पाँच छोरामध्ये गर्भु दास सरभंग, प्रभु दास सरभंग र शम्भु दास सरभंगलाई प्रहरीले अन्यायपूर्वक फसाएको बताइन् । 

उनले गर्भुलाई २५ दिनअघि नै नियन्त्रणमा लिएर मुद्दा दायर गरिएको र घटनामा संलग्न अन्य व्यक्तिहरूलाई आर्थिक तथा राजनीतिक चलखेलका आधारमा उम्काइएको आरोप समेत लगाइन् । 

घटनाक्रम अनुसार साउन १ गते संजय यादव र विजय यादवले नसिब बैठामाथि मोबाइल चोरीको आरोपमा निर्घात कुटपिट गरेका थिए । स्थानीय दिपलाल यादवको नाम समेत विवादमा जोडिएको भएपनि पछि प्रहरी चौकीमा भएको छलफलले चोरीको आरोप सिद्ध नभएपछि आरोपीहरूलाई छाडिएको थियो । चोरी भएको मोबाइल संजय–विजयकै घरमा फेला परेको थियो ।  यसबीचमा बैठाको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा उपचारका क्रममा भदौ ११ गते मृत्यु भयो । 

पीडित पक्षले बैठाको मृत्यु उसको स्वास्थ्य समस्या र लागुपदार्थ सेवनको कारण भएको प्रष्ट रहेको दाबी गर्दै इलाका प्रहरी कार्यालय गरुडाले वास्तविक दोषीलाई उम्काएर गर्भुलाई नियन्त्रणमा लिएको र त्यसपछि मृतकका आमा सुनैना देवीमार्फत कर्तव्य ज्यान मुद्दा दायर गराएको आरोप लगाएका छन् । 

कटहरिया नगरपालिका–५ की निर्वाचित सदस्य समेत रहेकी पुकारी देवीले भनिन्, ‘आर्थिक चलखेलका कारण कुटपिट गर्नेहरूको नाम हटाइयो र मेरो तीन छोरामाथि जबरजस्ती किटानी जाहेरी दर्ता गराइयो । प्रहरीको यस्तो कदम दलित परिवारलाई उठिवास गराउने नियतबाहेक अरु केही होइन ।’

पत्रकार सम्मेलनमा स्थानीय शंकर साह, राजकुमार यादव, छोटेलाल साह लगायतका व्यक्तिहरूले समेत गरुडा प्रहरीले निर्दोषलाई फसाएको र महादलित परिवारमाथि ज्यादती गरेको आरोप लगाउँदै न्याय दिलाउन आग्रह गरेका थिए ।

यस विषयमा डिएसपी राजन कार्कीले मोबाइल चोरीको घटनापछि कुटपिट भएकै समयमा नसिब बैठाको मृत्यु भएको भन्दै मृतककी आमाले भदौ १५ गते तीन जनाविरुद्ध जाहेरी दर्ता गरेपछि मुद्दा अघि बढाइएको बताए । उनले अनुसन्धान जारी रहेको उल्लेख गर्दै भने, ‘यदि निर्दोष भए अदालतबाट साधारण तारेखमा छुटिहाल्छन् ।’

ADV

सम्बन्धित खबर

Advertise