दोहा कतार : सर्लाही प्रवासी सेवा समाज कतारले आफ्नो स्थापनाको १७औं स्थापना दिवस भव्य रूपमा मनाएको छ । नजिकिँदै गरेका नेपालीहरूका महान् पर्व दसैँ तिहार र छठको शुभकामना आदानप्रदानसहित वार्षिकोत्सव मनाइएको हो ।
वार्षिकोत्सव समाजका अध्यक्ष प्रकाश आले मगरको सभाध्यक्षता तथा गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा शुक्रबार मुन्तजामा रहेको गोरखाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न भएको हो ।
कार्यक्रममार्फत एनसीसी कतारका निवर्तमान अध्यक्ष रमेश भट्ट र कार्यक्रमका प्रमुख अतिथिलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने एनसीसीका पूर्व कार्यसमितिलाई सम्मान गरिएको थियो । सम्मान ग्रहण लगत्तै आफ्ना भनाइ राख्दै एनसीसी कतारका प्रमुख सल्लाहकार रमेश भट्टले एनआरएनए आइसीसी र एनसीसीको राजनीतिप्रति कटाक्ष गर्दै मिलेर बस्न बनाएको डोरीलाई राजनीतिले छिनालेको हुँदा एकताको सूत्रमा बाँधिन राजनीति नै बाधक रहेको बताए ।
भट्टले बद्री केसीले विश्वका धेरै देशमा एनसीसी फुटाउने काम गरेको दाबी गर्दै एमाले आस्थावानहरुलाइ समेटेर नयाँ एनसीसी बनाएको बताउँदै कटाक्ष गरे ।
जेनजी आन्दोलनमा भएको दमन र घुसपैठको जिम्मा तत्कालीन सरकारले लिनुपर्ने बताए । उनले कतारमा रहेको नेपाली दूतावासका केही कर्मचारी श्रमिक तथा नेपाली समाजसँग सहकार्य गर्न नचाहेको बताउँदै सबैभन्दा कमजोर ब्युरोक्रेसी अहिले कतारमा रहेको बताए ।
नेपाली काव्य क्षेत्रका उपल्लाधुरी, अग्नि महाकाव्य (२०७८) का मदन पुरस्कार विजेता श्रद्धेय कवि डा. नवराज लम्सालसहित कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । आफ्ना शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि पन्थीले नेपाली दूतावास कतारले विश्वकर्मा पूजा गर्न र जेनजी आन्दोलनका शहीदहरुको सम्मानमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्न पनि हल नदिएकोप्रति दुःख व्यक्त गर्दै समाजमुखी हुन आग्रह गरे । पन्थीले एनसीसीले श्रमिक लक्षित सीप तथा सचेतना कार्यक्रम लगातार रूपमा सञ्चालन गर्दै जाने बताए ।
प्रथम उपाध्यक्ष बाबुलाल महतो स्वागत मन्तव्य राखेको कार्यक्रममा स्वागत नृत्य विष्णु भुजेलले राखेकी थिइन् भने समीक्षा मगर र जिदान आलेले आकर्षक नृत्य पेस गरेका थिए । महासचिव नयन भुजेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष मगरले वार्षिकोत्सव कार्यक्रमसहित संस्थाका विभिन्न गतिविधिलाई सफलता पूर्वक सञ्चालन गर्न सहयोग गर्नेहरूप्रति आभार व्यक्त गरेका थिए ।