२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

सूचना स्रोतमा कमजोर प्रहरी, लुटिएका हतियारको छैन अत्तोपत्तो

shivam cement
जीवन शर्मा
२०८२ असोज ८ गते ०६:४०
सूचना स्रोतमा कमजोर प्रहरी, लुटिएका हतियारको छैन अत्तोपत्तो

काठमाडौं : दक्षिण एसियामै अनुसन्धानमा अब्बल मानिएको नेपाल प्रहरी सूचना र स्रोतका हिसाबले कमजोर देखिएको छ । जेनजी प्रदर्शन क्रममा भदौ २३ र २४ मा देशभरका प्रहरी युनिटबाट लुटिएका झण्डै ११ सय हतियारको खोजी गर्न सकेको छैन । ती हतियार कस्ता व्यक्ति वा समूहले लगेका हुन भन्ने भेउसम्म पाउन सकेको छैन । 

आन्दोलनका क्रममा प्रहरीचौकीमाथि आगजनी, लुटपाट र तोडफोडबाट देशभरका अधिकांश संरचनामा क्षति पुगेको छ । तर क्षति भएका संरचना र प्रहरी युनिटका हतियारको तथ्यांकसम्म प्रहरी प्रधान कार्यालयसँग नरहेको पाइएको हो । 

घटनाको १५ दिन बितिसक्दा समेत आफ्नो मातहत युनिटलाई दिइएका, त्यसमध्ये क्षति भएका, हराएका र बाँकी रहेका हतियार संख्या यकिन गर्न नसक्नु प्रहरीको सूचना, स्रोतमा र व्यवस्थापकीय कमजोरीका रूपमा लिन सकिने एक पूर्वप्रहरी अधिकृत बताउँछन् । सुरक्षाकर्मीबाट लुटिएका हतियारले सर्वसाधारणमा त्रास बढेको पूर्वडिएसपी दीपेन्द्र शाहले बताए । ‘लुटिएका हतियारको प्रयोगकर्ताहरू को–को हुन सक्छन् भन्ने विषय निकै गहिरो छ । यसले नागरिकको सुरक्षामा चुनौती थपेको छ । प्रहरीले मात्रै नभएर आमनागरिकले समेत त्यस्ता गतिविधि नियालेर सुरक्षा निकायलाई सूचना दिनुपर्छ,’ उनले भने ।  

प्रहरी कार्यालय तोडफोड र आगजनीसँगै हतियार लुटेका भिडिओ, तस्बिर प्रदर्शनकारीले नै सार्वजनिक गरेका थिए । उनीहरूमध्ये कतिपयले आफैंले हतियार बुझाएका छन् भने केहीलाई नेपाली सेनाले भेटेर बरामद गरेको छ । लुटिएकामध्ये कम्तीमा ३ सय थान  हतियार नेपाली सेनाले बरामद गरेको जनाएको छ ।  प्रदर्शनमा पेस्तोल, बन्दुक, ग्यास गन, एसएलआर, थ्री नट थ्री राइफल, एसएमजी, हर्नेट र ट्वान्टी टु म्याग्नमलगायत हतियार लुटिएको प्रहरी अधिकृत बताउँछन् । सबै प्रकारका गरेर करिब ११०० थान हतियार लुटिएको हुन सक्ने प्रहरी अधिकृतहरूको अनुमान छ । तर हतियारजस्तो संवेदनशील कुरामा प्रहरी प्रधान कार्यालय असंवेदनशील देखिएको टिप्पणी हुन थालेको छ ।

आफ्नै हतियार खोसिएका मात्रै होइन सुरक्षार्थ खटिएका प्रहरीमाथिको आक्रमण र मुत्युसम्मको अवस्थालाई हेर्दा प्रहरी फार्सकै मनोबल गिरेको देखिन्छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीकै हतियार खोस्नेहरू जेनजी नभएर अरू कुनै आपराधिक व्यक्ति भएको स्वयं प्रहरी अधिकारी बताउँछन् । लुटिएका र आगजनी भएका हतियारको विवरण तयार गर्न प्रहरी प्रधान कार्यालयले डिआइजी दीपक रेग्मीको नेतृत्वमा समिति गठन गरेको छ ।

अन्वेषण योजना तथा विकास निर्देशनालयका डिआइजी रेग्मीको नेतृत्वमा बनाएको सो समितिले कहिले प्रतिवेदन बुझाउँछ यकिन छैन । आन्दोलनका क्रममा हराएका र जलेका हतियार र  अन्य संरचनागत अवस्थाको यकिन विवरण छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्रै भन्न सकिने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए । उनले मध्यान्हसँग भने, ‘हामीले यस विषयमा अध्ययन र छानबिन गर्न समिति बनाएका छौं । कतिपय हतियार जलेका छन, कति हराएका छन्  यसको यकिन विवरण छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्रै भन्न सकिन्छ ।’ सो प्रतिवेदन आउन अझै केही समय लाग्ने प्रवक्ता घिमिरेले बताए ।  

हतियारको तथ्यांक नै नआएको प्रहरीसँग कति गोली, अश्रुग्यास लुटिए, हराए भन्ने विषय अन्योल छ । गत आइतबार काभ्रे प्रहरीले ७ सय ३० राउन्ड गोलीसहित आठ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ  । जेन–जीको प्रदर्शनमा काठमाडौंसहित देशभर १ हजार ९ सय ६३ प्रहरी घाइते भएका थिए । सो आन्दोलनमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन राय, वृत्त महाराजगन्जकै जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरका सहायक हबल्दार अमृत गुरुङको मृत्यु भएको थियो । तीन मानवीय क्षति भएको प्रहरी संगठनमा अधिकांश प्रहरी कार्यालय भग्नावशेष बनेका थिए । ती कार्यालयलाई स्थानीय नागरिकको सहयोगमा मर्मतसम्भार र सरसफाइ गरेर सुरक्षाकर्मीलाई पुनस्र्थापना गरेका छन् । 

प्रदर्शनकारीले प्रहरीका भवनमा तोडफोड र आगजनी गर्नुका साथै गाडी जलाउने, लुट्नेसम्मका काम गरेका थिए । त्यस क्रममा देशभर नेपाल प्रहरीका करिब ५ सय चौकी ध्वस्त भएको प्रारम्भिक तथ्यांक थियो । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार देशभर करिब ५ सय प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएकोमा १ सय ९७ प्रहरी कार्यालय पूर्ण क्षति भएका थिए । प्रहरीका युनिट आगजनी हुँदा केही हतियार जलेको अवस्थामा पनि फेला परेका छन् । केही थान हतियार जलेको अवस्थामा भेटिए पनि यकिन विवरण समितिले तयार गरिरहेको प्रवक्ता घिमिरेले बताए । 

जेनजी पुस्ताले गरेको प्रदर्शनमा भएको दमन र भोलिपल्टको आगजनी तथा तोडफोडको छानबिन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित सो आयोगको सदस्यमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विन्देश्वरी भण्डारी छन् । सो आयोगले घटनाको समग्र स्थितिको अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ । सो आयोगले प्रदर्शनमा प्रहरीले गोली चलाएको देखि हतियार लुटिएको विषय महत्वका साथ लिएको छ । लुटिएका हतियार कसले र कसरी प्रयोग गर्छन् भन्ने विषय नागरिक सुरक्षामाथिको चुनौती रहेको सुरक्षा विज्ञले बताउँदै आएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise