२०८२ असोज ८ गते बुधवार / Sep 24 , 2025 , Wednesday
२०८२ असोज ८ गते बुधवार
Ads

राजस्व उठाउन सन्धिखर्क नगरपालिकाको अनुगमन तीव्र

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असोज ७ गते २२:१६
राजस्व उठाउन सन्धिखर्क नगरपालिकाको अनुगमन तीव्र

अर्घाखाँची : जिल्लास्तरीय अनुगमन समितिले सन्धिखर्क नगरपालिका, अर्घाखाँचीका विभिन्न योजना तथा खोलाखोल्सी अनुगमनमा सक्रियता देखाएको छ ।

जिल्लाभरका योजनाहरू अनुगमन गर्दै आएको जिल्ला स्तरीय अनुगमन समितिका पदाधिकारीहरूले अनुगमन गर्न सक्रियता देखाएपछि अहिले चोरी निकासीको अन्त्य भएको जनाइएको छ ।

अर्घाखाँची जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा जिल्ला स्तरीय अनुगमन समितिले योजनाको अनुगमन गर्ने कानुनी प्रावधान रहेको छ । यसै क्रममा सन्धिखर्क नगरपालिकामा रहेका बागी खोला तथा विकास निर्माणका अन्य कामहरू, साथै अन्य खोलाखोल्सीहरूको अनुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोईराला, सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्य, सन्धिखर्क नगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत मन्जु खनाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवसबहादुर जिसी, वडा नं. १ का अध्यक्ष माधव श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष ऋषभ अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरू, नगरपालिकाको राजस्व शाखा प्रमुख मुक्तिराम खनाल, योजना शाखा प्रमुख दिलकुमार केसी, अनुगमन टोली र कर्मचारीहरू खोलामा पुगेका थिए ।

नगरपालिकाकी उपप्रमुखको नेतृत्वमा अनुगमन भएपनि जिल्ला अनुगमन समितिले पनि बागी खोलाको पुनः अनुगमन गरेको हो । विशेषगरी सन्धिखर्क नगरपालिकाले लगानी गरेका योजनामा आफूहरूले निगरानी बढाउँदै अनुगमनलाई तीव्र पारेको जिल्ला समन्वय प्रमुख जीवनारायण कोइरालाले बताए ।

जिल्ला स्तरीय अनुगमन समितिले समेत खोलाखोल्सीको अनुगमनमा सक्रियता देखाएसँगै निर्माण व्यवसायी तथा उपभोक्ता समिति समेत सचेत हुन थालेको स्थानीयहरूले बताएका छन् । चोरी निकासी नियन्त्रण गर्न नगरपालिका कठोर भएर लागेपछि आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड २० लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा उक्त रकमभन्दा ४३ प्रतिशत बढी अर्थात् ४ करोड ५७ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको नगरपालिकाका राजस्व शाखा प्रमुख मुक्तिराम खनालले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले भौतिक प्रगति ९९.८९ प्रतिशत र वित्तीय प्रगति ९६.९० प्रतिशत गर्न सफल भएको नगरपालिकाका योजना अधिकृत दिलकुमार केसीले बताए ।

सन्धिखर्क नगरपालिकाले आन्तरिक रूपमा सक्षम हुनुपर्छ भन्ने मान्यताका साथ आन्तरिक राजस्व सङ्कलनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकालाई सक्षम बनाउन विभिन्न योजना बनाएर काम भइरहेको बरिष्ठ शाखा अधिकृत मन्जु खनालको भनाइ छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरी काम भए नभएको अनुगमनलाई तीव्र पारेको प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए ।

नगरवासीको जीवनस्तर सुधार र सहज सेवा प्रवाह सुनिश्चित गर्न नागरिकको आवश्यकतालाई केन्द्रमा राखेर कार्यक्रमहरू गुणस्तरीय र पारदर्शी बनाउन अनुगमनलाई निरन्तरता दिइएको उपप्रमुख मिश्रा आचार्यले बताइन् ।

नगरपालिकाले सामाजिक न्याय, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै कार्ययोजना अघि बढाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise