रुकुमपूर्व : रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा म्याद गुज्रिएका खाद्यान्न, पेयपदार्थ, मसला तथा किराना सामग्री बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मंगलबार गरिएको बजार अनुगमनका क्रममा ५१ हजार १८ रुपैयाँ बराबरको सामान बरामद भएको हो ।
अनुगमन टोलीले वडा नं. ५ भित्रका किराना पसल तथा खाद्यान्न पसलहरूमा पुगेपछि ठुलो मात्रामा म्याद गुज्रिएका चामल, बालबालिकाले खाने चकलेट, सुर्तीजन्य वस्तु, पेयपदार्थ तथा विभिन्न मसला भेट्टाएको थियो ।
अनुगमनका क्रममा कतिपय व्यवसायीहरूले व्यापार दर्ता नगरी पसल सञ्चालन गरेको, अनुगमन टोली देख्नेबित्तिकै पसल बन्द गरेर भाग्ने प्रयास गरेको, बहाना बनाइ पन्छिन खोजेको तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको पाइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समिति संयोजक जीवनकुमार खड्काका अनुसार चाडपर्व नजिकिँदै गर्दा कालोबजारी र गुणस्तरहीन सामानको बिक्री बढ्ने भएकाले बजार अनुगमनलाई कडाइ गरिएको हो ।
अनुगमन टोलीमा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, घरेलु तथा साना उद्योग कार्यालय रुकुमपूर्वका प्रमुख भोला प्रसाद शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालयका सहायक अधिकृत नारायण खड्का, जिल्ला प्रशासन कार्यालयका खरिदार टुकेन्द्र पुन मगर र वीरबहादुर चलाउने, उद्योग वाणिज्य संघका सचिव चेतकुमार बीसी, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका सचिव निराजन सिर्पाली, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक हरि बिष्ट, नगर प्रहरी र अन्य प्रतिनिधिहरू सहभागी थिए ।
अनुगमन टोलीले व्यवसायीलाई गुणस्तरीय तथा म्यादभित्रका सामान मात्र बिक्री गर्न आग्रह गरेको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिँदै, तोकिएको मापदण्डअनुसार व्यवसाय दर्ता, नवीकरण र म्याद व्यवस्थापन नगर्नेहरूमाथि कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।
साथै, सचेतनामूलक ब्रोसरहरू पनि वितरण गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख शर्माले जानकारी दिए ।