नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा कृषि क्षेत्रलाई मानिदै आएको छ । कृषि क्षेत्र अन्र्तगत दुध उत्पादनले नेपालको अर्थतन्त्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको छ । दुध उत्पादक किसान र उपभोक्ताबीचमा रहेर लामो समयदेखि नेपाल दुग्ध सँस्थानले व्यवसायीक तथा नेतृत्वदायी भुमिका खेल्दै आएको छ । प्रस्तुत छ, नेपालको सरकारी स्वामित्वमा रहेको एक मात्र दुग्ध पदार्थ प्रशोधन तथा बिक्री गर्ने सँस्था दुग्ध विकास सँस्थानका महाप्रवन्धक रुद्र प्रसाद पौडेलसँग मध्यान्ह राष्ट्रिय दैनिकका सम्वाददाता नारायण अर्यालले गरेको कुराकानीको सम्पादित अंश :
कहिलेकाहीँ नेपाल दुग्ध विकास सँस्थानको उत्पादनको गुणस्तरमा प्रश्न उठने गरेको पाइन्छ । सँस्थानको उत्पादनको गुणस्तरको विषयमा उपभोक्ताहरुलाई के भन्नुहुन्छ ?
डिडिसीको उत्पादनको गुणस्तरमा कुनै समस्या छैन् । खाद्य पदार्थहरुको गुणस्तरको सम्बन्धमा खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले मापदण्ड निर्धारण गरेको हुन्छ । त्यसमाथि पनि डिडिसी सरकारी स्वामित्वको निकाय हो । यसले आफ्नो उत्पादनको गुणस्तरमा तल माथि गर्ने भन्ने त हामीले सोंच्न पनि सकिंदैन् ।
आव ०७५/०७६ मा नाफामा रहेको सँस्थान ०७६/०७७ मा घाटामा देखिएको थियो, पछिल्लो अवस्था कस्तो रहेको छ ? गत आर्थिक वर्षसम्म ठुलो मात्रामा स्टोरको अवस्थामा रहेको धुलो दुध र नौनीको सँस्थानले कसरी व्यवस्थापन गर्यो ?
आर्थिक अवस्थालाई हेर्दा सँस्थान अहिलेपनि ०७५/०७६ कै अवस्थामा छ । सँस्थान मात्रै नभएर अन्य डेरी क्षेत्रको अवस्था पनि उस्तै रहेको छ । अझैपनि सँस्थागत बिक्रीको वातावरण बनेको छैन् । हामीकहाँबाट ठुलो मात्रामा बिक्री हुने होटल रेष्टुरेन्टहरु अझैपनि बिगतको हिसाबले सुचारु नभएको देखिन्छ । तर पनि अवस्थामा केही सुधार हुँदै गएको छ । अब विस्तारै सकरात्मक संकेत देखिन सुरु भएको भन्नुपर्दछ ।
यतिबेला बिक्री नभएर स्टक रहेको मात्रामा हामीसँग नौनी घिउ छैन् । चाडबाड लक्षित बिक्रीका कारण अहिले स्टक नरहेको अवस्था हो । नियमित रहनुनपर्ने झण्डै ३ सय ५० मेट्रिकटन धुलो दुध भने आजको दिनमा पनि स्टकको अवस्थामा रहेको छ । यो प्रयोगकै क्रममा छ । यो मात्रामा सामान्यतया स्टक रहनैपर्छ । धुलो दुधलाई तरल बनाउँदा बटरको प्रयोग गर्नुपर्ने हुन्छ । त्यसैले यतिबेला सँस्थानमा बिक्री नभएर समस्याको रुपमा स्टक नरहेको अवस्था हो । बजारमा माग पनि क्रमशः बढ्दै गएको छ ।
अहिले सँस्थानको बजार नेपाली मात्रै हो की ? विदेश पनि निर्यात गर्ने गर्दछ ?
हालको अवस्थालाई भन्नुपर्दा हाम्रो उत्पादनको बजार देशभित्र मात्रै हो । तर अघिल्लो आर्थिक वर्षमा हामीले झण्डै ६५÷६६ मेट्रिकटन घ्यु जापानमा निर्यात गरेका थियौं । चालु वर्षको हिउँदमा पनि माग आउने सम्भावना रहेको छ । हामीले स्वदेशी तथा विदेशी बजार बिस्तारलाई ध्यान दिएर काम गर्ने कोशिष गरेका छौं ।
दुध उत्पादक किसानहरुले सँस्थानलाई आफ्नो उत्पादन बिक्री गर्दा सँधै उचित मुल्य नपाएको गुनासो छ । सँस्थान र सरोकारवाला सबै मिलेर दुधको मुल्य वृद्धि गर्ने विषयमा छलफल भइरहेको भन्ने छ । के सँस्थानले दुधको मुल्य वृद्धि गर्न खोजेको हो ?
हामीले किसानलाई दुधको गुणस्तरको आधारमा मुल्य दिइरहेका छौं । दुधमा भएको ल्याक्टोजन र फ्याटका आधारमा किसानले दुधको मुल्य प्राप्त गर्न सक्छन् । वर्षेनी रुपमा दुधको उत्पादन लागतमा वृद्धि हुँदै गएको छ । घाँस, दाना, पराल, चोकर, ज्याला आदिको मुल्य बढिरहेको अवस्था छ । जसका कारण किसानको दुध उत्पादन लागत बढेको अवस्था छ । त्यसैले दुग्ध विकास बोर्डबाट समयानुकुल दुधको मुल्य बढाउने विषयमा पहलकदमी भएको छ । यो विषय अहिले छलफलको क्रममा नै रहेको अवस्था छ ।
संघीयता सँगै दुध उत्पादन र किसानसँग जोडिएर काम गर्ने राज्यको तह पनि वृद्धि भएको छ । सँस्थानले कसरी सहकार्य गरिरहेको छ ?
हो । वर्तमान व्यवस्था अनुकुल हामीले स्थानिय, प्रदेश र केन्द्रिय सरकार सँग सहकार्य गरेर काम गर्ने प्रयत्न गरिरहेका छौं । जहाँ हाम्रा किसान केन्द्रहरु र आयोजना हुन्छन्, त्यहाँ केन्द्रले समन्वय गर्दिएको हुन्छ र सम्बन्धित आयोजना वा केन्द्रले पनि आफ्नो माग र आवश्यकताको आधारमा समन्वय गरेको हुन्छ । मेशिनरी सामाग्री, दुध बोक्ने ट्यांकर, कोल्डस्टोर, आदि लगाएतका विषय तथा कार्यक्रमहरुमा हामीले सहकार्य गर्दै आएका छौं । आयोजना तथा केन्द्रको स्तरोन्नतीको लागि प्रदेश र केन्द्र सरकारमा सँस्थानको आवश्यकतालाई पेश गर्ने गरेका छौं ।
राष्ट्रिय दुग्ध उत्पादन नीति २०७८ आइसकेको छ । सो नीतिको आधारमा राज्यले लिएको लक्ष्य पुरा गर्न सँस्थानले के कस्ता कार्यक्रमलाई अगाडि बढाएको छ ? दुग्ध पदार्ध प्रशोधन गर्ने निकायहरुले सो नीतिका आधारमा के कस्ता सहयोग वा सहजिकरण प्राप्त गर्न सक्छन् ?
सँस्थानले आफ्नो क्षमता बढाउने, उत्पादित दुधलाई खरिद गरी त्यसको उचित बजार व्यवस्थापन गर्ने, सरकारी स्तरको रेफरेन्स डेरीको तर्फबाट गुणस्तर र मुल्य कायम गर्ने, दुधको बजार बिस्तार गर्ने, आफ्नो नेटवर्क बिस्तार गर्ने, आदि जस्ता कार्यक्रमहरुलाई सँस्थानले वर्षेनी आफ्नो कार्यक्रमको रुपमा अगाडि सार्ने गरेको छ ।
राज्यले अगाडि सारेको नीतिलाई कार्यान्वयन गर्न किसानसँग सहकार्य गर्दै उत्पादन वृद्धिमा प्रोत्साहन, त्यसको प्रशोधन र बजार व्यवस्थापनका लागि सँस्थानले महत्वपुर्ण भुमिका निर्वाह गर्छ । साथै सँस्थानले किसान र उपभोक्ता बीचको उपयुक्त पुलको काम सँस्थानले गर्छ । दुध उत्पादन पकेट क्षेत्र, करिडोर तथा केन्द्रहरुलाई थप व्यवस्थित, सुधार र बिस्तारको निमिक्त सहि योजना बनाएर सँस्थान अगाडि बढ्ने प्रयत्न गरिरहेको छ ।
राष्ट्रिय नीतिले देशमा प्रतिव्यक्ति दुध उत्पादन बढाउने लक्ष्य लिएको छ । त्यसको आधारमा विभिन्न तहका सरकारले दुध उत्पादन, प्रशोधन र बिक्रीको प्रवन्धमा सहयोग पुग्ने नीति तथा कार्यक्रम निर्माण गर्न सक्छन् । त्यसमा आधारित रहेर प्रसोधन तथा बिक्री वितरण गर्ने क्षेत्रलाई व्यवसायको वृद्धि गर्न सहज हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies